कृष्णमुरारी भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीको जापान भ्रमणले नेपाल–जापान सम्बन्धमा नयाँ आयाम थपेको छ । यो राजकीय भ्रमण यस्तो उपयुक्त समयमा भयो, जतिखेर नेपालले नयाँ युगको सुरुआत सँगसँगै विदेश नीतिमा नयाँ आयामको प्रारम्भ गरेको छ । जापानमा नयाँ राजाको राज्यारोहण सँगसँगै बाँकी विश्व सँगसँगै नेपालसँग पनि सम्बन्धको नयाँ आयामको सुरुआत हुँदैछ ।
जापानमा नयाँ राष्ट्राध्यक्षको राज्यारोहणसँगै नेपालका राष्ट्रपतिबाट जापानको भ्रमण हुनु आफैँमा ऐतिहासिक छ । योे संयोग मात्र होइन, दुवै देशका लागि उपयुक्त समय पनि हो । त्यसैले कूटनीतिका मर्मज्ञहरू यसलाई नेपालको विदेश नीतिमा आएको ‘प्याराडमसिफ्ट’को निरन्तरता भनेर चित्रित गर्न थालेका छन् । इतिहासमै नेपालको विदेश नीति दुई ढुङ्गाबीचको तरुलको कूटनीतिबाट दुई तरुलबीचको नयाँ सिर्जनात्मक अवस्थामा पुगेको छ । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश नीतिको पहिलो आयामका रूपमा समानता, सहअस्तित्व, सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डता र असल छिमेकीपनको कडीका रूपमा अभ्यास गरिरहेका छन् । जुन विदेश नीतिलाई विदेश मामिलाका अध्येताहरूले ओली डक्ट्रिनका रूपमा व्याख्या, विश्लेषण, अध्ययन र अनुसन्धान गरिरहेका छन् ।
केही महिनाअघि भएको नेपालको परराष्ट्र नीतिसम्बन्धी पहिलो संवादमा विदेश मामिलाविज्ञ तथा परराष्ट्रविद्हरूबीच प्रधानमन्त्री ओलीले भन्नुभएको थियो– नेपालको सबै देशसँग मित्रता, कसैसँग छैन शत्रुता ! यो नयाँ आयामको अभ्यास राष्ट्रपति भण्डारीको असोज २९–कात्तिक ६ गतेसम्मको म्यानमार र जापानको औपचारिक भ्रमणका क्रममा प्रस्ट देखियो ।
जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो । सन् १९६० को दशकदेखि विश्वकै आर्थिक केन्द्रका रूपमा रहेको जापानको ६० वर्षको आर्थिक उन्नतिको चमत्कार उनीहरूको शालीनता र विनम्रतामा अहिले पनि झल्किरहेको छ । कविशिरोमणि लेखनाथ पौड्यालको शब्दमा भन्ने हो भने, सुदूरपूर्वी एसियाको यो पुरानो मुलुक जताततै ‘फलेको वृक्षको हाँगोझैँ नझुकेको कहाँ छ र !’ झैँ पाइयो ।
तपार्इंले अरूको सम्मान गर्नुभयो भने तपाईं स्वयं सम्मानित हुनुहुनेछ भन्ने दर्शनमा जापान आधारित रहेछ जापानी जीवनशैली । आफू चर्को स्वरमा बोल्दा अर्कोलाई झर्को लाग्ला भनेर जताततै सचेत बनेर फुसफुसाउँदा रहेछन् जापानीहरू । यो तरिका जापानका नयाँ राजादेखि प्रधानमन्त्रीसम्ममा पनि रहेको देखियो । आमजापानी नागरिक राजा र प्रधानमन्त्रीका कार्बन कपीझैँ रहेछन् । यो नै उनीहरूको संस्कृति बनेको रहेछ ।
जापानको अर्को विशेषता के भने, न्यायिक कजका लागि आफ्नो अडान मरिगए नछाड्ने ! आफ्ना जायज कारणमा जापानी कहिल्यै गल्दा पनि नगल्ने रहेनछन् । समयको पालनामा त
अङ्ग्रेजलाई विर्साउने रहेछन् । जापानमा दैनिक २१ घण्टा चलिरहने रेल चार बजेर १५ मिनेटमा आउने समय निश्चित छ भने त्यो न १४ न त १६ मिनेटमा स्टेसनमा आउने रहेछ । सबै यात्रु विश्वस्त रहेको पाइयो कि त्यो रेल ४ बजेर १५ मिनेट मै आउँछ ।
जापानमा निर्माणाधीन योजना तथा परियोजनाहरू समयअगाडि नै सम्पन्न हुने रहेछन् । गुणस्तर ? यसको त कुरै नगरौँ, हरेक काम पक्का ! जापानमा भएको विकास हेर्दा जो कसैलाई लाग्ने रहेछ, भौतिक विकासको चरम् सीमामा रहेछ जापान । झट्ट हेर्दा लाग्छ, जापानमा बनाउनुपर्ने अब केही बाँकी छैन ।
राष्ट्रपति भण्डारीको जापान भ्रमण धेरै अर्थमा ऐतिहासिक रह्यो । एक सय पचासभन्दा बढी राष्ट्र तथा सरकारप्रमुखहरूको सहभागिता रहेको जापानी सम्राट्को राज्यारोहण कार्यक्रममा राष्ट्रपति भण्डारी त्यस्तो राष्ट्राध्यक्षका रूपमा प्रस्तुत हुनुभयो, जो संसारका आधा हिस्सा रहेका महिलाको प्रतिनिधित्व गर्ने राष्ट्राध्यक्ष हुनुहुन्थ्यो ।
राज्यारोहण समारोहमा महामहिम राष्ट्रपतिको उपस्थिति शालीनता, भद्रता र सौम्यताको विदेशी प्रतिनिधिहरूले उत्सुकता र श्रद्धाका साथ अवलोकन गरेको पाइयो । ओहो, नेपाल महिला नेतृत्वको क्षेत्रमा यति अग्रणी छ ? नेपाललाई पछौटे, अविकसित र अल्पविकसित भन्ठानिरहेकाहरूका निम्ति जापानी समारोहमा संसारका प्रसिद्ध सञ्चारमाध्यमबाट रिपोर्टिङ्गका निम्ति भेला भएका पत्रकारहरूसँगको कुराकानीमा नेपालमा केही समयअघि न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पनि महिला प्रतिनिधि नै थिए भन्दा उनीहरू तीनछक्क पर्दै भन्थे, ओहो साँच्चै हो र ?!
जापानका नयाँ राजाले विदेशी राष्ट्राध्यक्ष र सरकारप्रमुखहरूको सम्मानमा आयोजित राजकीय भोजमा सरिक हुनुभएको राष्ट्रपति भण्डारीको अन्य मित्रराष्ट्रका प्रमुखहरूसँगको संवादलाई पनि विदेशी पाहुनाहरूले उत्सुकताका साथ हेरेको पाइयो । राष्ट्रपति भण्डारीले नेपालको युगान्तकारी परिवर्तन र त्यसपछि जनताका प्रतिनिधिहरूबाट जारी भएको संविधानले गरेको व्यवस्थाअनुरूप नेपालमा राजनीतिक स्थिरता, शान्ति सुव्यवस्था र आमनागरिकको विकास र समृद्धिको आकाङ्क्षा तथा लगनशीलताप्रति संसारका मित्रराष्ट्रहरूबाट साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सबै मित्रराष्ट्रहरूको हातेमालो र सहकार्य हुने भरोशा रहेको अभिव्यक्ति गर्नुभयो । राष्ट्रपतिले नेपालमा स्थिर, लोकप्रिय सरकार देशको विकास र नागरिकको समृद्धिका लागि दत्तचित्त रहेको उपस्थित पाहुनाहरूलाई जानकारी दिँदै राज्यारोहण कार्यक्रममा उपस्थित पाहुनाहरूसँगको महामहिमको सौहार्दताले जापानको ऐतिहासिक समारोहमा नेपालको उपस्थिति गर्बिलो देखिएको थियो ।
राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग स्टेट हाउसमा भएको औपचारिक भेटमा दुई देशका उच्च अधिकारीहरूका साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सम्मिलित हुनुहुन्थ्यो ।
जापानी प्रधानमन्त्रीसँगको भेटघाटपछि होटल इम्पेरियलमा नेपाली पत्रकारहरूसँगको विशेष कुराकानीमा परराष्ट्र सचिव शङ्करदास वैरागीले नेपाल–जापान सम्बन्धका बहुआयामिक विषयमा भएको छलफल ऐतिहासिक एवं महìवपूर्ण रहेको र विकासका एजेन्डाहरूमा वार्ता केन्द्रित रहेकाले लुम्बिनीको विकासको गुरुयोजनालाई पूर्णता दिने । नेपालको समृद्धिमा दिगो विकास, लगानी वृद्धि, नेपाल–जापानबीचको व्यापार घाटालाई कसरी घटाउनेलगायत राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको विकासमा यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र उच्चस्तरको ऐतिहासिक भ्रमणले सम्बन्धका नयाँ आयामहरू खुलेको बताउनुभयो ।
जापानको व्यस्त औपचारिक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले दक्षिणी छिमेक भारतका राष्ट्रपति कोबिदसँग शिष्टाचार भेट पनि गर्नुभयो । उहाँले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिनुभयो । भारतीय राष्ट्राध्यक्षले निमन्त्रणा स्वीकार गर्दै नेपाल–भारत सम्बन्ध सुमधुर रहेकोमा सन्तुष्टि व्यक्त गर्दै अझ बढी व्यापक, बहुआयामिक रूपमा सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
जापानस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा टोकियोमा रहेका नेपालीको बाक्लो उपस्थितिमा महामहिम राष्ट्रपतिले संसारभर उच्च शिर राखेको नेपालीले जापानसँगको शताब्दीदेखिको सम्बन्धमा बहुआयामिक पक्षहरूको चर्चा गर्नुभयो ।