logo
२०८१ मंसिर १० सोमवार



सातै प्रदेश प्रमुखमा नयाँ अनुहार

मुख्य समाचार |


सातै प्रदेश प्रमुखमा नयाँ अनुहार


दीपक श्रेष्ठ

काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णुप्रसाद प्रसाई, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्तलाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सातै प्रदेश प्रमुखका लागि नाम टुङ्गो लगाएको थियो; जसमा पूर्वएमालेबाट सोमनाथ अधिकारी ‘प्यासी’, विष्णुप्रसाद प्रसाई, धर्मनाथ यादव र गोविन्दप्रसाद कलौनी गरी चार जनाको नाम सिफारिसमा परेका थिए भने पूर्वमाओवादीबाट तिलक परियार, अमिक शेरचन र शर्मिला कुमारी पन्त गरी तीन जनाको नाम सिफारिस गरिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनको नतिजापछि २०७४ माघ ३ गते नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार पदमुक्त गरिएको थियो ।
सचिवालय बैठकपछि नेकपाका महासचिव विष्णु पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै प्रदेश प्रमुखहरूको नियुक्ति सिफारिस भएको बताउनुभयो । उहाँले सरकारको प्रतिनिधिका रूपमा काम गर्न उपयुक्त पात्रको छनोट संवैधानिक व्यवस्थाअनुसार नै गरिएको बताउनुभयो ।
उहाँले प्रदेश प्रमुखहरूको पदमुक्तिको विषयलाई लिएर प्रतिपक्षी दलबाट आएको प्रतिक्रियालाई लोकतान्त्रिक अधिकार भएको टिप्पणी गर्नुभयो । सहकार्यको संस्कृतिको अन्त्य भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “सरकारले संवैधानिक प्रक्रियाअनुसार काम गर्दा सहकार्य नै बन्द हुन्छ भन्ने लाग्दैन । ”

सोमनाथ अधिकारी ‘प्यासी’
कास्कीका प्यासी २०४३ सालमा जनपक्षीय उम्मेदवारका रूपमा राष्ट्रिय पञ्चायत सदस्यसमेत हुनुभएको थियो । राष्ट्रिय पञ्चायतमा बहुदलको माग गर्दै जनताको पक्षमा आवाज उठाउने नेता प्यासीलाई इमानदार नेताका रूपमा लिइन्छ । २०४८ सालमा नेकपा (एमाले)बाट सांसद बन्नुभएका प्यासी नेकपाको स्थायी समितिमा आमन्त्रित सदस्य हुनुहन्छ ।

तिलक परियार
रोल्पाको लिवाङमा जन्मनुभएका परियार दलित मुक्ति र अधिकारको आन्दोलनमा समेत स्थापित नाम हो । माओवादी जनयुद्धमा सुरुदेखि नै सक्रिय परियार बाँके जिल्ला क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्य हुनुभएको थियो । उहाँ २०२८ सालदेखि राजनीतिमा लाग्नुभएको हो ।

विष्णुप्रसाद प्रसाई
तेह्रथुमको हाङ्पाङमा २०१० सालमा जन्मनुभएका प्रसाई पाका वामपन्थी नेताका रूपमा चिनिनुहुन्छ । झापाको मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई पराजित प्रसाईले २०२७ सालबाट राजनीतिक यात्रा थाल्नुभएको हो । धुलाबारीका स्थानीय प्रसाई जनपक्षीय जनप्रतिनिधिका रूपमा २०३० सालमै वडा सदस्य हुनुभएको थियो । २०४४ सालमा धाइजन गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभएका प्रसाई जिल्ला विकासको उपसभापति र २०५१ सालमा चिया विकास निगमको कार्यकारी अध्यक्षसमेत हुनुभएको थियो ।

अमिक शेरचन
जनआन्दोलन २०६२/६३ पछि गठित अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका शेरचन पाका कम्युनिस्ट नेताका रूपमा चिनिनुहुन्छ । शेरचन २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा रामेछापबाट निर्वाचन लड्नुभएको थियो ।

धर्मनाथ यादव
सिरहाको सुखीपुर नगरपालिका–६, खरही टोलमा २००० सालमा जन्मिनुभएका धर्मनाथ यादव मधेस क्षेत्रमा इमानदार नेताका रूपमा परिचित हुनुहुन्छ । नेकपाका केन्द्रीय सदस्य यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो ।
शिक्षण पेसाबाट राजीनामा दिएर २०४८ सालको निर्वाचनमा उम्मेदवार बन्नुभएका यादव ०५१ सालको मध्यावधि निर्वाचनमा भाग लिए पनि पराजित हुनुभएको थियो ।

गोविन्दप्रसाद कलौनी
सुदूरपश्चिमका पाका वामपन्थी नेताका रूपमा चिनिनुहुने कलौनी प्राध्यापकको जागिर छाडेर सक्रिय राजनीतिमा आउनुभएको हो । उहाँले ०४८ साल, ०५१ सालमा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग डडेलधुरामा चुनाव लड्नुभएको थियो । २०५६ सालमा बैतडी र २०६४ सालमा कञ्चनपुरबाट चुनाव लडे पनि विजय प्राप्त गर्न सक्नुभएको थिएन ।

शर्मिलाकुमारी पन्त
चितवन जिल्ला रत्ननगर–१३, जयमङ्गलाकी शर्मिला त्रिपाठी बेपत्ता परिवारको सदस्य हुनुहुन्छ । राज्यद्वारा बेपत्ता पारिएका ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती शर्मिला लामो समयदेखि बेपत्ता परिवारको हक र अधिकारका लागि लड्दै आउनुभएको छ । बेपत्ता परिवार समाजका पूर्वअध्यक्ष त्रिपाठीले माओवादी जनयुद्धका क्रममा विभिन्न जिम्मेवारीमा रहेर पार्टीमा योगदान गर्नुभएको थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?