logo
२०८१ मंसिर ११ मंगलवार



भक्तपुर–नगरकोट सडक : काम सक्नभन्दा समय थप्न हतार

मुख्य समाचार |


भक्तपुर–नगरकोट सडक : काम सक्नभन्दा समय थप्न हतार


भउचप्रसाद यादव

भक्तपुर, कात्तिक ३० गते । पर्यटकीय महìवको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा राज्यका निकायहरू ठेकेदारलाई समय थप्न बढी लालायित भएको पाइएको छ । उपत्यकाको सुगम स्थानमा निर्माण थालिएको यो सडक निर्माण गर्ने ठेकेदारलाई चौथोपटक समय थप गरिएको छ ।
राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य यो सडकको अवस्था भने झनै नाजुक छ । हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले पाँच वर्ष पूरा हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन । फेरि त्यस सडकको निर्माणका लागि २०७७ वैशाख ७ गतेसम्म अवधि थप भएको छ ।
भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिले भन्नुभयो, “समयमा सडक सम्पन्न नभएपछि आगामी वैशाख ७ गतेसम्मको म्याद थपिएको छ ।” गोरखापत्र दैनिकमा गएको साउन १८ गते छापिएको समाचारमा आगामी मङ्सिर १५ भित्र निर्माण सम्पन्न गर्ने दाबी प्रमुख प्रजापतिले नै गर्नुभएको थियो । उहाँले त्यतिबेला गौरवका साथ भन्नुभएको थियो, “यस वर्षको नोभेम्बरसम्म जसरी पनि यो सडकको निर्माणकार्य सम्पन्न भइसक्नुपर्छ, सन् २०२० छुन दिइने छैन ।”
सरकारले २०२० वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा पर्यटन वर्षलाई सफल बनाउन प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको नगरकोट पुग्ने सो सडकको निर्माणमा अब ढिलाइ हुन नसक्ने भनाइ उहाँको थियो तर पनि पर्यटन वर्षलाई नै प्रतिकूल प्रभाव पार्ने गरी सडक निर्माणमा ढिलाइ हुँदै गएको छ ।
तर आयोजना प्रमुख प्रजापतिको प्रतिबद्धता सार्थक हुनसकेन । काम सुरु भएदेखि हालसम्म १५ किलोमिटर सडकमध्ये साढे तीन किलोमिटर मात्रै कालोपत्रे भएको छ । काम सक्नेभन्दा लागत बढाउने र समय थप्ने काम मात्रै भएको स्पष्ट देखिएको छ । सडक निर्माणको काममा ढिलाइ भएपछि स्थानीयवासीले ठेकेदारको तस्बिर नै सार्वजनिक गरेर ढिलाइको विरोध गर्न थालेका छन् ।

चर्को दबाबपछि काम सुरु
यसैबीच काम नै भएन र जनआक्रोश बढ्दै गएपछि बल्ल कात्तिक २७ गतेबाट मात्रै काम सुरु भएको जानकारी चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले दिनुभयो । सो सडक निर्माणका लागि स्थानीयवासी र जनप्रतिनिधिको पूरा सहयोग रहेको बताउँदै उहाँले सडक निर्माणको क्रममा आउने कुनै समस्या १२ घन्टाभित्रमा नै समाधान गर्ने प्रतिबद्धता आफूहरूले डेढ वर्षअघि नै ठेकेदारसामु गरे पनि ठेकेदारले कामै अगाडि बढाउन नसकेको बताउनुभयो ।
सोही नगरपालिका–८ का वडाध्यक्ष परासर सापकोटाले ठेकेदारको चरम् लापरबाही र हेलचेक्र्याइँका कारण लामो समयसम्म यो सडक निर्माण हुन नसक्दा यस क्षेत्रको प्रमुख आयस्रोतका रूपमा रहेको पर्यटन व्यवसाय नै धराशयी बनेको गुनासो पोख्नुभयो । त्यसैगरी लामो समयदेखि वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका यस क्षेत्रका आम नागरिकमा धुलोका कारण विभिन्न स्वास्थ्य समस्यासमेत देख्न थालिएको उहाँले बताउनुभयो । कामको सुस्त गति र ठेकेदारको लापरबाहीका कारण थप गरिएको समयावधिमा सडकको निर्माण सम्पन्न हुुने विश्वास नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
नगरकोट–कमल विनायक सडक निर्माण दबाब समूहका संयोजक राजकुमार लामिछानेले संसदीय समिति, नेकपा र नेपाली काँग्रेसका नेताहरूको चर्को दबाबपछि मात्रै काम सुरु भएको बताउनुभयो ।
भक्तपुरमा हुँदै गरेको उपनिर्वाचनले पनि ठेकेदारलाई सडक निर्माणका लागि चौतर्र्फी दबाब परेपछि चार–पाँच दिनबाट काम सुरु भएको छ, यसले निरन्तरता पाउनेमा अझै पनि शङ्का छ भन्दै संयोजक लामिछानेले भन्नुभयो, “काम पनि ज्यादै लापरबाही किसिमले भएको छ, बेस हाल्ने अनि लामो समयसम्म छाड्ने, मेसिन थोत्रो ल्याउने अनि काम नै नहुने देखिएको छ, रुख काट्न अवरोध भयो भनेर बहाना बनाइएको छ, रुख काट्नुपर्ने एक ठाउँमा हो अन्यत्र किन सडक बनेन त ?”

निर्माण लागतमा वृद्धि
समय थप्ने क्रमसँगै सडक निर्माणको लागत निरन्तर वृद्धि हुँदै गएको छ । सो सडकको लागत चार करोड ३५ लाख रुपियाँले वृद्धि भएको छ । विसं २०७१ असार २ गते निर्माण सम्झौता हुँदा कुल निर्माण लागत ३१ करोड ५२ लाख रुपियाँमा सम्झौता भए पनि लागत चार करोड ३५ लाख रुपियाँ थपिएको छ ।
कम्पनीले २०७३ असार ४ गते नै सडक निर्माण सम्पन्न गर्नुपर्ने थियो तर अहिलेसम्म सडक नबन्दा यात्रुले हैरानी भोग्नु परेको छ । अहिले कुल निर्माण लागत ३५ करोड ८७ लाख रुपियाँ पुगेको छ । भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माण कार्यको जिम्मा पाएको नेपाली निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र भारतीय निर्माण कम्पनी आरावली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) जेभी हुन् ।
योजना प्रमुख प्रजापतिले सडकमा टेवा पर्खाल, नाली र कल्भर्ट निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको र कालोपत्रे बाहेकका आवश्यक सबै काम सम्पन्न भइसकेको दाबी प्रजापतिको छ । सडक क्षेत्रमा परेका रुखहरूको कटान तथा जग्गाको मुआब्जा वितरणको कार्यसमेत सम्पन्न भइसकेको छ ।
तर दबाब समूहका संयोजक लामिछानेका अनुसार अझै कतिपय ठाउँमा पर्खाल लगाउन, मोडहरू कटान गर्न बाँकी नै छ भने नाली बनाउने काम भने अन्तिम चरणमा पुगेको छ । पहिला ‘सिङ्गल लेन’ रहेको यो सडक अहिले ‘डबल लेन’ मा विस्तार भइरहेको छ भने सडकको चौडाइ आठ मिटर र सात मिटर कालोपत्रे गरिनेछ । ठेकेदारले अहिलेसम्म करिब १४ करोड रुपियाँ भुक्तानी लिइसकेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?