देवबहादुर कुँवर
काठमाडौँ, मंसिर १ गते । नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ । भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ । नेपाली सुरक्षा अधिकारीका अनुसार, गुगोल सर्च वेभभन्दा नापी विभागले गरेको सर्भे तथा नक्सा आधिकारिक हो ।
सीमाङ्कनका विषयमा नेपाल र भारतबीचको विवाद हटाउन दुई देशको संयुक्त सर्भे टोलीले झापाबाट सीमाको दूरी सर्वे गर्नथालेको छ । तर सीमा रेखाङ्कन र अतिक्रमणका विषयमा भने उक्त टोलीलाई कुनै जिम्मेवारी दिएको छैन ।
नेपाल–भारतबीच करिब एक हजार आठ सय स्थानबाट खुला रूपमा आवतजावत हुने गरेको छ । आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमणदेखि सीमास्तम्भ हराउने समस्या बढेको भनाइ सुरक्षा अधिकारीको छ ।
सशस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठ तराई क्षेत्रमा सीमाका बस्तीहरूमा वारि घर पारि खेत, पारि घर वारि खेत भएकाले समस्या देखिएको बताउनुहुन्छ । त्यस्तै खोलाले धार परिवर्तन गरी किसानको घर–खेतबारी वारिपारि हुने भएकाले पनि विवाद हुने गरेको छ ।
उपस्थिति कमजोर
सीमा सुरक्षामा खटाइएको सशस्त्र प्रहरी बल एकसय सात नाकामा मात्र सीमित छ । भारतले भने प्रत्येक पाँच किलोमिटर दूरीमा तीन सयभन्दा बढी बीओपी (बोर्डर अब्जर पोस्ट) राखेको छ । नेपाल र भुटानसँंगको सीमा सुरक्षामा भारतले सीमा सुरक्षा बल (एसएसबी) डेढ लाख जनशक्ति खटाएको छ । सशस्त्र प्रहरीले नेपाल–भारत मात्र नभई नेपाल– चीनसँंगको सीमा सुरक्षा नाकाको सुरक्षा जिम्मेवारीसमेत लिएको छ । भारतले चीनसँंगको सीमा सुरक्षाका लागि आईटीबीटी (इन्डिया–तिब्बत बोर्डर टुप्स) परिचालन गरेको छ ।
त्यस्तै पाकिस्तान र बङ्गलादेशसँगको सीमा सुरक्षामा बीएसएफ (बोर्डर सेक्युरिटी फोर्स) परिचालन गरेको छ । गृह मन्त्रालयका एक उच्च अधिकारी भन्नुहुन्छ, ‘‘सीमा सुरक्षामा भारत कति संवेदनशील छ, हामीले सिक्नुपर्छ । ’’ ‘‘नेपाल–भारत सीमा विवाद निकै पुरानो हो’’ नाम उल्लेख नगर्ने सर्तमा उहाँले थप्नुभयो,
“सीमा २०÷२५ जना सशस्त्र प्रहरी खटाएर सीमा अतिक्रमण रोकिँदैन । न त सडक आन्दोलन गरेर अतिक्रमित भूमि फिर्ता नै आउँछ । ”
सीमा अतिक्रण जस्तो गम्भीर मुद्दा कूटनीतिक तहबाट महìवका साथ उठाउनुपर्ने आवश्यकता आँैल्याएको छ । ताप्लेजुङदेखि दार्चुलासम्म भारतसँंग सीमा जोडिएका २६५ नाकामा तत्कालै बीओपी (बोर्डर अब्जर पोस्ट) स्थापना गर्नुपर्ने देखिएको छ ।
त्यस्तै चीनसँंग सीमा जोडिएका दार्चुलाको थाङ्ग्रा (टिक्कर नजिक), हुम्लाको हिल्सा, मुस्ताङको लोमाङथाङ र सङ्खुवासभाको किमाथाङ्कामा नयाँ बीओपी राख्ने तयारी हँुदैछ । सीमा नजिक बीओपी स्थापनाले सीमा अतिक्रमण नियन्त्रण, सीमा सुरक्षा र पिलरको संरक्षण गर्न सहयोग पुग्ने भनाइ सशस्त्र प्रहरीको छ ।
सीमा सुरक्षा बैठक बस्दै
मङ्सिर ४ गते पोखरामा हुने नेपाल–भारत सीमा सुरक्षा बैठकमा सीमा अतिक्रमणको विषयले स्थान पाउने छैन । भारतले नेपाली सीमा अतिक्रमण गरेको विषयमा चर्को विरोध भइरहेको छ । सशस्त्र प्रहरी बलद्वारा आयोजना गरिने उक्त बैठकमा भारतीय सीमा सुरक्षा बल एसएसबीका महानिर्देशक कुमार राजेश सहभागी हुने कार्यक्रम छ । यस किसिमको सीमा सुरक्षा बैठक प्रत्येक वर्षमा नेपाल–भारतमा आलोपालो गरी आयोजना हुने गर्छ । बैठकको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गर्नुहुने कार्यक्रम छ । तर बैठकले नेपालको सीमा अतिक्रमणसम्बन्धी मुद्दालाई नभई सीमा सुरक्षालाई विशेष प्राथमिकता दिने बताइएको छ । दसगजा नजिकका बस्ती, पैदल र सवारी आवागमनका लागि स्पष्ट नाका तोक्ने विषयमा छलफल हुने जनाइएको छ ।
सीमा अनुगमनका लागि सेनाको निर्देशनालय
नेपाली सेनाले नेपाल–भारत र नेपाल चीनबीचको सीमाक्षेत्र अनुगमन, संरक्षण, विभिन्न सन्धि सम्झौताको अध्ययन र सर्भे गर्न निर्देशनालय स्थापना गरेको छ । सेनाको सर्भे तथा सीमा अनुगमन निर्देशनालयका थप जनशक्तिको माग भइरहेको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो, ‘‘सहायक रथीको कमाण्डमा निर्देशनालय गठन आठ महिना अघि नै भएको हो । यसलाई सीमाका विषयमा अध्ययन गर्ने जिम्मेवारी तोकिएको छ । निर्देशनालयले पनि सन् १८१६ को सुगौली सन्धिदेखि हालसम्म भएका सीमा सम्झौताको अध्ययन गर्नेछ । ’’
त्यस्तै सीमाको सर्भे, अनुगमन, रेखाङ्कनलगायत बन्दोवस्तीको कार्य गर्ने जनाइएको छ । सीमा सुरक्षामा सेना परिचालन हुने सम्भावना भने निकै कम छ । सशस्त्र प्रहरीलाई नै सीमा सुरक्षामा केन्द्रित गर्न र जनशक्ति थप गरी प्रविधियुक्त बनाउनुपर्ने सुझाव अधिकारीको छ ।