नगेन्द्र सापकोटा
भक्तपुर, मङ्सिर २ गते । भक्तपुर निर्वाचन क्षेत्र नंं १ प्रदेश सभा ‘क’ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मुख्य रूपमा दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएको देखिएको हो ।
यसअघि २०७४ सालको प्रदेशसभाको निर्वाचनको मत परिणामलाई हेर्दा पनि प्रमुख दुई दलबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ यसअघि प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का उम्मेदवार हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएर दोस्रो हुनुभएको थियो भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरज लबजुले सात हजार १९ मत पाएर तेस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरको तथ्याङ्कमा छ ।
तत्कालीन नेकपा (एमाले) का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको हृदयाघातका कारण मृत्यु भएपछि आगामी मङ्सिर १४ गते भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’मा उपनिर्वाचन हुन लागेको हो । नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल (डीपी) ले अघिल्लो पटक पार्टीको उम्मेदवारले निर्वाचन जितेकाले यस पटक पनि आफूले नै निर्वाचन जित्ने दाबी गर्नुभयो । उहाँले दिवङ्गत प्रदेशसभा सदस्य लामिछानेले उठाएका मुख्य कार्यसूची विकास निर्माण र प्रदेशसभामा पुगेर उपयुक्त कानुन निर्माण गर्नुलाई नै आफ्नो कार्यसूची भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन नजित्ने कुनै कारण छैन, निर्वाचन जितेपछि यहाँका विकास निर्माणका समस्या प्रदेशसभामा पु¥याउनेछु ।” प्रदेशसभामा आफू निर्वाचित भएपछि यहाँका स्थानीयको बेरोजगारी समस्याको समाधान र विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिने ढकालले बताउनुभयो । नेपाली काँग्रेसका प्रदेशसभाका उम्मेदवार कृष्णलाल भडेलले यस क्षेत्रमा निरन्तर सक्रिय भएर स्थानीय जनताको सेवा गरेकाले विजयी हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “म सधैँ यस क्षेत्रमा स्थानीय सर्वसाधारणको सुखदुःखको साथी भएकाले पनि निर्वाचनमा मलाई मत दिन्छन् र विजयको माला पहिराउँछन् भन्नेमा विश्वस्त छु ।”
निर्वाचित भएपछि प्रदेशसभाका लागि आवश्यक कानुन निर्माण गर्ने र चाँगुनारायण क्षेत्रको विकास निर्माण प्रदेशभासम्म पु¥याउने उहाँले बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरज लबजुले प्रदेश सभाको काम विकास निर्माणभन्दा पनि उपयुक्त कानुन निर्माण गर्ने भएकाले आफू निर्वाचित भएपछि दुई वर्षसम्म पनि टुङ्गोमा पुग्न नसकेको प्रदेश राजधानी र नाम टुङ्गोमा पु¥याउनका लागि भूमिका खेल्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्याम नेपालले दुई तिहाइको सरकारको दम्भ अन्त्य गर्नका लागि पनि आफ्नो पार्टीले निर्वाचन जित्नुपर्नेमा बताउनुभयो । मुख्य निर्वाचनको कार्यालय भक्तपुरका अनुसार आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा ११ वटा राजनीतिक दल र १० जना स्वतन्त्र उम्मेदवार गरी २१ जनाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ‘क’ अन्तर्गत चाँगुनारायण नगरपालिका पूरै क्षेत्र र भक्तपुर नगरपालिकाको वडा नं. १० को क्षेत्र रहेका छन् । उक्त क्षेत्रमा अहिले ४५ हजार २५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले भक्तपुरले जनाएको छ । यसअघिको निर्वाचनमा भने उक्त क्षेत्रमा ४३ हजार ५४१ मतदाता रहेका थिए ।