logo
२०८१ मंसिर ११ मंगलवार

...गोरखापत्र स्थलगत अनुगमन...



प्रजिअ बाहिरिएसँगै पारिलो घाम

मुख्य समाचार |


प्रजिअ बाहिरिएसँगै पारिलो घाम


देवबहादुर कुँवर

काठमाडौँ, मङ्सिर ६ गते । “केहीबेर घामछायाँ कक्षमा जाऊ न त,” बिहान १० बजे प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल कार्यालयबाट बाहिरिनेबित्तिकै कार्यकक्षमा भर्खरै पसेका केही कर्मचारी घाम ताप्न बाहिर निस्कन्छन् ।
राजधानीको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँको परिसर वरपर बाक्लै सेवाग्राही हातहातमा कागजपत्र बोकेर कोठाहरू चहार्दैछन् तर केही कर्मचारी भने पारिलो घाममा आनन्द लिँदै बाहिरिएका र नवनियुक्त मन्त्रीहरूबारे समीक्षा गर्दैथिए । सेवाग्राहीको बाक्लो भीड लाग्न थालेपछि करिब आधा घन्टापछि कर्मचारी कार्यकक्ष प्रवेश भने गरे ।
कार्यालयका प्रायः सबै कोठा ९ः३० बजे नै खुलिसकेका थिए तर कार्यकक्षमा कर्मचारी नहुँदा सेवाग्राही १०ः२० बजेसम्म झ्यालबाहिर पालो कुरेर बसेका देखिन्थे । प्रशासन कार्यालयको ढोकामा भेटिनुभएका प्रजिअ दाहाल नवनियुक्त मन्त्रीको शपथ ग्रहणमा जान भन्दै ठीक १० बजे बाहिरिनुभयो । उहाँ निस्कनेबित्तिकै कार्यालयभित्र पस्दै गरेका कर्मचारीलाई पनि घाम ताप्ने बाटो खुल्यो । सेवाग्राहीले सेवा भने १०ः३० बजेपछि मात्र पाउन थालेका हुन् ।
१०० नम्बर कोठाको नागरिक सहायता कक्ष, १०१ नम्बरको नागरिकता शाखा, १०७ नम्बरको राहदानी शाखा र ११० नम्बरको संस्था दर्ता तथा नवीकरण शाखामा सेवाग्राहीको भीड १० बजे नै लाग्न थालिसकेको थियो । बिहान ९ बजेबाट साँझ ८ बजेसम्म कार्यालय बस्नु प्रजिअ दाहालको भने नियमित कार्य रहेछ तर बिहीबार बिहान १० बजे बाहिर निस्केपछि ४ बजेसम्म कार्यालय नआइपुगेको सो कार्यालयले जनाएको छ ।
अन्य दिन ९ बजे आइपुग्ने गरेका तीन जना सहायक प्रमुख जिल्ला अधिकारी बिहीबार भने ११ बजेपछि मात्र कार्यालयमा देखिनुभयो । सहायक प्रजिअ एवं प्रशासन कार्यालयका प्रवक्ता जीवनप्रसाद आचार्य र अर्का सहायक प्रजिअ गौलोचन सैँजू तालिमका कारण ११ः१५ मा आइपुगेको जानकारी दिनुभयो ।
अर्का सहायक प्रजिअ कृष्णबहादुर कटुवाल उहाँहरूभन्दा १५ मिनेट ढिलो आइपुग्नुभयो । उहाँको कार्यकक्षबाहिर भीड बढेपछि सेवाग्राहीलाई गौलोचनको कक्षमा पठाइएको थियो । कटुवालको कार्यकक्षबाहिर टाँसिएको नेम प्लेटमा भने भित्र नै देखाइएको थियो । “उहाँ किन ढिलो हुनुभयो, खबर भएन, हामी दुई जना तालिममा भएकाले ढिलो भयौँ,” प्रवक्ता आच(ार्यले भन्नुभयो ।
कटुवाल प्रजिअ दाहाल तथा सहायक प्रजिअद्वय सँैजू र आचार्यसँंग सम्पर्क नै नगरी कार्यालयमा ढिलो गरी आइपुग्नुभएको जानकारी पाइयो तर पनि सेवाग्राहीहरूले प्रशासन कार्यालयको कामकारबाही छिटो हुने गरेको बताएका छन् । कीर्तिपुरका सज्जन महर्जन बिहीबार डेढ घन्टामै नागरिकता बनेको भन्दै दङ्ग पर्नुभयो । उहाँ अघिलो दिन काम नभएर फर्कनुभएको थियो । “हिजो कागजपत्र पुगेन भनेर फर्काइदियो, आज सबै कागजपत्र देखाएपछि चाँडै काम बन्यो,” उहाँले खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै राहदानी बनाउन बिहान ९ बजे प्रशासन कार्यालय पुगेका जोरपाटीका धरमबहादुर सार्कीले पनि एक घन्टामै काम बनेको प्रतिक्रिया दिनुभयो । “आवश्यक कागजपत्र अपुग भएमा ढिलो हो, नभए त छिट्टै हुने रहेछ,” उहाँले थप्नुभयो ।

बिचौलिया छैनन्
सेवाग्राही धेरै नै भएको राजधानीको जिल्ला प्रशासन कार्यालयले बिचौलियाको समस्या भने पूर्णरूपमा अन्त्य भएको दाबी गरेको छ । प्रवक्ता आचार्य भन्नुहुन्छ, “विगतमा बिचौलियाका कारण सर्वसाधारणले बारम्बार दःुख पाउँथे र कर्मचारी आर्थिक प्रलोभनमा फस्थे ।” हुन पनि त्यहाँ बिचौलिया देखिएन । आवेदन फारामको व्यवस्था कार्यालयले नै गर्ने गरेको देखियो ।
अब त्यस्तो अवस्था छैन, बिचौलियाबाट हुने सम्पूर्ण कामकारबाही छिटोछरितो र प्रभावकारी ढङ्गले प्रशासन कार्यालयले नै गर्न थालेपछि सो समस्याको अन्त्य भएको दाबी गरिएको छ । व्यक्तिगत शान्तिसुरक्षादेखि नागरिकता प्रमाणपत्रका लागि निवेदन पत्रसमेत प्रशासन कार्यालयको नागरिक सहायता कक्षले प्रदान गर्दै आएको छ ।
कागज नपुग्दा काम ढिला
नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, विवाह दर्ता, संस्था नवीकरण र संस्था दर्तालगायत प्रशासन कार्यालयबाट प्रदान हुने सेवा लिनका लागि आवश्यक पर्ने कागजपत्रको विवरण वेबसाइटमा राखिएको छ तर सेवाग्राही र स्थानीय निकायका प्रतिनिधि यस विषयमा
जानकार नहुँदा बारम्बार दुःख पाउने गर्छन् । प्रवक्ता आचार्य भन्नुहुन्छ, “सबै विवरण वेबसाइटमा राखेका छाँैं, स्थानीय निकायलाई समेत परिपत्र गरेका छौँ, सामान्य कुराको हेक्का नराख्दा सेवाग्राहीले दःुख पाउँछन् ।”
नयाँ नागरिकता लिन आउनेहरूले सनाखतका लागि आफन्त र अभिभावक, बिहे गर्न आउनेहरूले साक्षी उपस्थित नगराउँदा दुःख पाउने गरेका हुन् । संस्था दर्ता र नवीकरणका लागि आवश्यक प्रक्रिया कागजपत्र उपलब्ध नगराउँदा सेवामा ढिलो हुने गरेको छ ।

सुधार हुँदै सेवा
प्रत्येक दिन यहाँ कम्तीमा पनि तीन सय सेवाग्राही आउने गर्छन् । सेवाग्राहीको तुलनामा कर्मचारीको सङ्ख्या कम रहेको भनाइ प्रवक्ता आचार्यको छ । ६०÷६५ जना कर्मचारी छन्, तीमध्ये १०÷१२ जना कर्मचारी कार्यालयको काममा बाहिर खटिन्छन् । कतिपय दिनमा त साँझ ८ बजेसम्म काम गर्नुपर्छ ।
धेरै सेवाग्राही थोरै जनशक्ति भएका कारण कहिलेकाहीँ सेवामा केही ढिलाइ हुनसक्ने आचार्यको भनाइ छ । आवश्यक कागजपत्र उपलब्ध छ भने पनि नागरिकता प्रमाणपत्र उपलब्ध गराउन कम्तीमा ३० मिनेट लाग्ने गरेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?