logo
२०८१ मंसिर ११ मंगलवार



सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’

मुख्य समाचार |


सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’


राजन रावत

सिमकोट, मङ्सिर ७ गते । सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका लागि खच्चडले भारी नबोक्ने भए कति महँगो पथ्र्यो होला ? वास्तवमा हिमाल र पहाडको यो जिल्लाका ‘ट्रक’ वा ‘ट्र्याक्टर’ हुन् खच्चड । तिनैले बिहान सबेरैदेखि रातिसम्म भारी बोक्दा हिमाली जीवन केही सहज भएको छ ।
नेपालगन्ज र सुर्खेतबाट हवाई ढुवानीको भाडा महँगो परिरहेकै अवस्थामा मुगुको गमगढी र बाजुराको कोल्टीबाट दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामग्रीसम्म यिनै खच्चडले बोक्छन् । भारी बोक्ने खच्चडले सर्वसाधारणलाई राहत महसुस भएको छ भने रोजगारी पनि सिर्जना भएको छ ।
चङ्खेली गाउँपालिका–२, दार्मका लोकेन्द्र शाहीले यी ट्र्याक्टरको प्रयोग गर्न थालेको चार वर्ष भयो । आम्दानीको बलियो माध्यम भएकाले उहाँका लागि यी खच्चड सबै थोक हुन् । महिनामा डेढ लाख रुपियाँसम्म आम्दानी यसै माध्यमबाट हुने उहाँ बताउनुहुन्छ ।
मुगुको गमगढीबाट हुम्लाको चङ्खेली, सर्केगार्ड, खार्पुनाथदेखि सिमकोटसम्म दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामान, इन्धन, लिटोलगायत सामग्री ढुवानी गर्ने काम पाउँदा उहाँको कमाइ राम्रो भएकोे हो । दुःख पनि बढी हुने र कमाइ पनि राम्रो हुने देखिएपछि शाहीले यो व्यवसाय अँगाल्दै आउनुभएको हो ।
तीन जना श्रमिकलाई परिचालन गरेर ३५ वटा खच्चड एकसाथ ढुवानीका लागि प्रयोग हुँदै आएको शाहीले बताउनुभयो । सडक सञ्जाल जोडिएका ठाउँमा यातायातका साधनहरू सञ्चालनमा आए पनि नेपालको एक मात्र सडक यातायात नजोडिएको हुम्ला जिल्लामा यिनै खच्चडलाई ट्र्याक्टरको संज्ञा दिनुहुन्छ उहाँ । यही ट्र्याक्टरले गर्दा चर्को हवाई ढुवानीको मारमा परेका जनतालाई केही मात्रामा भए पनि राहत मिलेको छ ।
यता जाजरकोट जिल्लाको लिम्सा गाउँपालिका–४ का अर्का खच्चड व्यवसायी नेत्र सिंह पनि यिनै हुम्लाका ट्र्याक्टरका मालिक हुनुहुन्छ । यी २४ वटा ट्र्याक्टरबाट एक पटकमा एक हजार ४४० केजी सामान ढुवानी हुने गरेको छ । सामान ढुवानी गरेबापत उहाँले ९२ हजार १६० रुपियाँ पाउनुहुन्छ । यो क्रम महिनामा तीन पटक चल्ने गर्छ । अहिले त उहाँलाई देख्नेबित्तिकै हुम्लाको ट्र्याक्टर मालिक भनिहाल्छन् सेवाग्राहीले । उहाँलाई पनि ग्राहकले यसो भनेकोमा गर्व लाग्छ । “आफूलाई पनि फाइदा, जनतालाई राहत । यसलाई कसरी नराम्रो भन्नु ?”, उहाँले प्रश्न गर्नुभयो ।
मुगुबाट हुम्लाको चङ्खेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोटसम्म तीनदेखि आठ दिनसम्म समय लाग्ने ती व्यवसायीले बताउने गरेका छन् । मुस्किलले महिनाको एकदेखि दुई दिन आराम गर्न समय मिल्ने व्यवसायीहरू बताउँछन् । मुगुबाट हुम्लाका लागि सामान खरिद गरेर ढुवानी गर्नेदेखि ढुवानीको मात्र काम गर्ने खच्चड व्यवसायीको सङ्ख्या ५० भन्दा बढी देखिएको छ । यसका लागि चार सयभन्दा बढी खच्चड प्रयोग हुँदै आएका छन् ।
हुम्लादेखि मुगु, जुम्ला, बाजुरा र जाजरकोट जिल्लासम्मका मानिसले यो व्यवसाय अँगाल्दै आएका छन् । हाल उक्त क्षेत्रमा बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म खच्चडहरू हिँडाउने गरिन्छ । मौसम पनि सफा भएका कारण पछि हिमपात होला भन्ने डरले ती व्यवसायीले रातदिन नभनी सामान ढुवानी गर्ने गरेका हुन् ।
मुगुदेखि सिमकोटसम्म प्रतिकेजी सामानको ढुवानी मूल्य ६४ रुपियाँ रहेको छ । एक खच्चडले ६० केजीसम्म एक पटकमा भारी बोक्ने गर्छ । सडक सञ्जाल नजोडिएको हुम्लाका ट्र्याक्टरहरूका कारण दैनिक उपभोग्य सामानदेखि सबै प्रकारका सामानको मूल्य घटेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रामबहादुर भण्डारीले बत(ाउनुभयो । त्यही सामान नेपालगन्ज वा सुर्खेतबाट हवाई ढुवानी गर्दा प्रतिकेजी १०५ देखि १५० रुपियाँ पर्न जान्छ । केही वर्षयता सस्तो ढुवानीमा खच्चडमा सामान आउँदा महँगी घटेको उहाँले बताउनुभयो । यसले सर्वसाधारण जनतालाई राहत पुगेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?