logo
२०८१ मंसिर ८ शनिवार



सौराहाको पर्यटन लोथरसम्म

मुख्य समाचार |
पर्यटन |


सौराहाको पर्यटन लोथरसम्म



वसन्त पराजुली

भरतपुर, मङ्सिर ९ गते । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई लोथरसम्म विस्तार गर्ने योजना सार्वजनिक भएको छ । सौराहा क्षेत्रसमेत पर्ने चितवन क्षेत्र नं. १ का सासंदसमेत रहनु भएका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर सौराहा विस्तार योजना सार्वजनिक गर्नुभएको हो ।
“सौराहादेखि लोथरसम्म राप्ती किनारमा ड्याम र रिङ्रोड बनाउँदै नदी किनारमा पर्यटकीय होटलहरू स्थापना गर्दै जाने हाम्रो योजना हो”, नेपाल पत्रकार महासङ्घ चितवनले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो, “देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहालाई विस्तार गर्ने योजना अघि सारेका हौँ ।”उहाँले ड्याम निर्माणका लागि सरकारले यही वर्षदेखि बजेट विनियोजन गरिसकेको र रिङरोडका हकमा योजना बनेर अघि बढी सकेको जानकारी पनि दिनुभयो ।
लोथरदेखि सौराहा जोड्नका लागि थोरै भाग लोथर खोला र त्यसपछि अधिकांश राप्ती नदीको किनार पर्छ । उहाँका अनुसार नदी किनारमा आरसीसी कङ्क्रिट बाँध बाँध्न युरोपेली सङ्घ १० अर्ब रुपियाँ सहयोग गर्न प्रतिबद्ध छ । बाँध छोडेर मानव बस्ती हुँदै रिङ्रोड बनाउने योजना पनि उहाँले सुनाउनुभयो । “विशेष त पूर्वी चितवनलाई केन्द्रित गरेर हामीले लोथर सौराहा हुँदै केरुङे खोलाको किनारै किनार कृष्णमन्दिर निस्किएर उत्तराखण्ड हुँदै पूर्वी चितवनमा ५० किलोमिटर रिङरोडको अवधारणा सार्वजनिक गरेका हौँ”, उहाँले थप्नुभयो । यसले पूर्वी चितवनको आर्थिक विकासमा टेवा पुग्ने उहाँले विश्वास गर्नुभयो ।
सौराहामा अहिले ११० पर्यटकीय होटलमा पाँच हजार पाँच सय कोठा छन् । वन र वन्यजन्तुमा आधारित पर्यटनका लागि विश्वमा नै ख्याती कमाएको चितवनमा अहिले वार्षिक डेढ लाखको हाराहारीमा पर्यटक भित्रिइरहेका छन् । यसरी आउने पर्यटकमध्ये ९० प्रतिशत सौराहा आउने गर्छन् । हाल चितवनमा आउने पर्यटकको बसाइ २.४ दिन रहेको छ । सौराहा आउने पर्यटकले प्याकेजमा अठार हजारदेखि चौबीस हजार रुपियाँसम्म खर्च गरिरहेको व्यवसायीहरू बताउँछन् ।
पूर्व मन्त्री पाण्डेले आफू सांसद भएपछि पूर्वी चितवनले फड्को मार्ने गरी विकास गरेको दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा उहाँले झण्डै १० अर्ब लागत लाग्ने लोथरदेखि सौराहासम्मको ड्याम निर्माणमा बजेट विनियोजित, एक अर्ब लागत लाग्ने पूर्वी चितवनमा रिङ्रोड निर्माणका लागि योजना तय, दुई अर्ब ३६ करोडको लागतमा कयर खोलामा शक्तिखोरदेखि सौराहासम्म तटबन्ध गर्ने काम सुरु, रत्ननगरको वकुलरदेखि फिस्लिङसम्म एसियाली विकास बैङ्कको सहयोगमा सडक निर्माणको काम सुरु जस्ता काम थालिएको जानकारी दिनुभयो । यस्तै, भण्डारा मुग्लिन सडक निर्माणका क्रममा साढे चार किलो मिटर सुरुङ बनाई बाटो छोटो बनाउने योजनासमेत आफूले सुरु गरिसकेको, सौराहामा एक हजार पाँच सय मानिस अट्ने सभागृह निर्माणको काम सुरु भएको पनि उहाँले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?