गोरखापत्र समाचारदाता
काठमाडौं, मङ्सिर ९ गते । निर्वाचन आयोगले मङ्सिर १४ गते शनिबार उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा बिहान ५ देखि साँझ ७ बजेसम्म सवारी पास अनुमतिपत्र प्राप्त गरेकाबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा राष्ट्रिय मानव अधिकार आयोग, संवैधानिक निकाय, कूटनीतिक नियोगका अवलोकनकर्ता, संयुक्त राष्ट्र सङ्घीय नियोग र नेपालका विकास साझेदार संस्थालाई मतदानको दिन तोकिएको मापदण्डभित्र रही सवारी अनुमतिपत्र निर्वाचन आयोगबाटै उपलब्ध हुने छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, मानवीय उद्धार एवम् सहायतामा प्रयोग गरिने सवारी साधनको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई प्रयोग गर्न सकिने छ ।
कामको प्रकृति हेरी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट एउटा जिल्लाभन्दा बढी जिल्लाका लागि पनि सवारी पास जारी गर्न सकिने आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने क्षेत्र भएर एउटा वडाबाट अर्को वडामा वा एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा वा एउटा जिल्लाबाट अर्को जिल्लामा आवत जावत गर्नका लागि बीचमा रोक्न नपाइने गरी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्ने छ ।
आयोगको निर्णयमा भनिएको छ, ‘‘सरकारी, निजी तथा भाडाका सवारी साधनले उपनिर्वाचन हुने क्षेत्रमा पर्ने कुनै पनि स्थानमा सवारी साधन रोक्न, यात्रु चढाउन वा ओराल्न नपाउने गरी आवत जावत गर्न दिने व्यवस्था सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले मिलाउने ।’’
स्वीकृत सवारी आवागमन व्यवस्थापन योजनामा विवाह, व्रतबन्धजस्ता सामाजिक कार्यमा सवारी साधनको प्रयोग गर्नपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले जाँचबुझ गरी सवारी सञ्चालन पास दिने आवश्यक व्यवस्था मिलाउन सक्ने जानकारी पनि आयोगले दिएको छ ।
सवारी पासका लागि मंसिर १२ गतेसम्ममा निर्वाचन आयोग वा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिई सक्नुपर्नेछ । अत्यावश्यक सेवा (एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवाको हकमा सवारी अनुमति पत्र लिइरहनु नपर्ने जानकारी आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिनुभयो ।
सो दिन समाचार सङ्कलन तथा छायाङ्कनका लागि निर्वाचन हुने क्षेत्रमा जान चाहने सञ्चारकर्मीले पनि सूचना तथा प्रसारण विभागबाट पास लिनुपर्ने छ ।