शान्ति लामा
काठमाडौँ, मङ्सिर १० गते । केही दिनदेखि उदयपुरका २७ वर्षीय नेत्र मगर रानीपाखेरीमा इँटा विछ्याइरहेको भेटिनुुहुन्छ । विगत १० वर्षदेखि डकर्मीको रूपमा निर्माण क्षेत्रमा काम गर्नुभएका उहाँको सम्पदा निर्माण अनुभव भने फरक छ । ‘‘अरूमा नक्सा हेरेर खुरुखुरु काम गर्नसकिन्थ्यो । यहाँ धेरै कुरा सोधेर, ध्यान पु¥याएर मात्र गर्नुपर्ने रहेछ ।’’ रानी पोखरी निर्माणको अनुभव सुनाउँदै मगरले भन्नुभयो ।
मगरजस्तै १० जना कामदारले बिहान ७ बजेदेखि बेलुका ५ः३० बजेसम्म काम गरिरहेका छन् । निकै सावधानीका साथ परम्परागत प्रविधिबाट काम भइरहेको रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरले बताउनुभयो ।
पोखरीमा माअप्पा विछ्याइँदै
केही दिनयता रानीपोखरीमा कालो माटो र माअप्पा अर्थात् ठूलो आकारको इँटा ओछ्याउने काम धमाधम भइरहेको छ । पोखरीको सबैभन्दा भित्री घेराको पाँच फिट चार इन्च पर्खाल यसअघि नै भक्तपुरका कामदारले पानी नचुहिने बनाइसकेका छन् । अहिले भने पोखरीको सतहमा कालो माटो र माअप्पा बिछ्याउने काम भइरहेको छ । ‘‘पहिले प्राकृतिक रूपमा नै पोखरीमा पानी जम्मा हुन्थ्यो । अहिले प्राकृतिक रूपमा पानी रिचार्ज नहुने भएकाले बाहिरबाट हालिएको पानी अड्याउन कालो माटोको सतह बनाउनुपरहेको हो,’’ सचिव
तुलाधरले भन्नुभयो ।
भक्तपुरको जनशक्तिले परम्परागत तरिकाबाट हातले माटो बिछ्याएर काम गरिरहेका थिए । हातले माटो ओछ्याउँदै काम गर्दा रानीपोखरीको निर्माण अवधि र लागत बढ्ने भन्दै उनीहरूलाई बिदाइ गरियो । त्यसपछि अहिले डोजरले माटो बोकेर राख्ने प्रविधि अपनाइएको छ । डोजरले मुछेर सतहमा राखेको माटो सम्याउने र मिलाउने काम भने कामदारले हातले नै गर्दै आइरहेको छ ।
पोखरीको सतहमा १५ देखि १८ इन्च बाक्लो कालो माटो विछ्याइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान महर्जनले बताउनुभयो । कालो माटोमाथि इँटाको सतह बनाइएको छ । पोखरीमा पानी अड्याउनका लागि यो विधि अपनाइएको इन्जिनियर महर्जनले जानकारी दिनुभयो । दुई लाख २० हजार वर्ग फिटको रानीपोखरीमा पानी अड्याउने जिम्मा उपभोक्ता समितिलाई दिइएको छ ।
सचिव तुलाधरका अनुसार खोकना, भक्तपुरलगायत ठाउँबाट कालो माटो ल्याएर विछ्याइरहेको हो । विछ्याउनका लागि छ लाख इँटा चाहिने अनुमान छ । उहाँका अनुसार माघसम्म पोखरी तयार हुनेछ । उपभोक्ता समितिलाई नौ करोड ५० लाख रुपियाँमा पोखरी बनाउने जिम्मा दिइएको हो ।
पुलको काम दुई तिहाइ सकियो
रानीपोखरीको पुनर्निर्माण दुई प्याकेजमा हुँदैछ । पोखरीको भित्री सतह र गाह्रो उपभोक्ता समितिले बनाउँदैछ । पोखरीभित्रको बालगोपाल मन्दिर, पुल र बाहिरी घेराको निर्माण १५ करोड रुपियाँको ठेक्कामा निर्माण व्यवसायीमार्फत भइरहेको छ ।
सीएम–तुलसी जेभीले अहिले बालगोपाल मन्दिरको जग उठाउने काम भइसकेको जनाएको छ । सुर्की, चुना, ढुङ्गा, काठ, विभिन्न प्रकारका इँटाको प्रयोग गरी मन्दिरको निर्माण हुँदैछ । मन्दिरको जगको काम सकिएको छ । कतल्लो पेटीमा ढुङ्गाको गारो लगाउने काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।
पोखरी किनारदेखि बालगोपाल मन्दिरसम्म जाने पुलको दुई तिहाइ काम सकिएको निर्माण व्यवसायीका प्रतिनिधि देवरत्न महर्जनले बताउनुभयो । पुलको २० वटा आर्कमध्ये छवटा आर्क तयार भइसकेका छन् । चाहिए जति इँटा लगायतका सामग्री नपाइएका कारण पुल निर्माण सुस्त भइरहेको उहाँले बताउनुभयो ।
पुल र मन्दिरको आधारको काम सकेकाले अबको चार महिनामा पुल र बालगोपाल मन्दिर निर्माण सम्पन्न हुने अनुमान रहेको महर्जनले बताउनुभयो । विज्ञहरूको टोलीले दिएको सुझावअनुसार मल्लकालीन ग्रन्थकुट शैलीमा बालगोपाल मन्दिरको पुनर्निर्माण हुँदैछ ।
पोखरीको बाहिरी घेराको सौन्दर्यीकरण पनि निर्माण व्यवसायीले नै गर्नेछन् । बाहिरी घेराका पर्खालहरूमा फिसबोन स्टाइलमा इँटा विछ्याएर ट्र्याक बनाइनेछ । शौचालय, बस्नका लागि पानी पर्ने बेलामा समेत बस्न ओतसहितको आठवटा विश्रामस्थल पनि डिजाइन गरिएका छन् । पहिलेजस्तो बन्द नभई खुला रानीपोखरी हुनेछ । तर पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटीकाको बेला मात्र खुल्नेछ । बत्तीहरू, विभिन्न किसिममा बिरुवा लगाएर
हरियाली बनाइनेछ ।
आउँदो चैतसम्ममा सम्पन्न गरिसक्नुपर्ने भए पनि कामको गति हेर्दा निर्धारित अवधिमा रानीपोखरीको सम्पूर्ण पुनर्निर्माणको काम सक्न मुस्किल देखिन्छ ।
वर्षात्को पानीबाट रिचार्ज
पोखरीको सहत मात्र नभई भित्री तहको पर्खालमा पानी १८ इन्च कालोमाटो छापेर त्यसमाथि इँटाको गारो लगाइएको छ । पानी थेग्नका लागि त्यो गारोको कालोमाटोमा चिस्यान आवश्यक पर्छ । माटो सुकेको खण्डमा चर्किएर पोखरीको माटो चुहिने सम्भावना हुन्छ । त्यसकारण बाहिरबाट पनि माटो भिजाइराख्न ‘रेन वाटर हार्भेस्टिङ’ प्रविधि जडान गरिने प्राधिकरणका इन्जिनियर मानन्धरले बताउनुभयो । वर्षातको पानीले अन्यबेला पनि पोखरीको बाहिरी तहलाई भिजाइराखेर पानी अड्याउन
सहयोग गर्नेछ ।