चाँदनी हमाल
काठमाडौँ, मङ्सिर १४ गते ।
घटना – १
तीन वर्षअघि काली (नाम परिवर्तन) काठमाडौँ आइपुग्दा भर्भराउँदी हुनुहुन्थ्यो । बालाजु माछापोखरीको एक होटलमा काम थालेपछि सकसको यात्रा सुरु भयो । सानैमा बिहे भई दुई बच्चा सन्तान भए । श्रीमानको मृत्युपछि कामको खोजीमा हिँड्नुभयोे । “भाँडा माझ्ने, सरसफाइ गर्ने अनि खाना पकाउन सघाउँथे” उहाँ विगत सम्झनुहुन्छ, “पैसा कमाएर जग्गा घर जोड्ने र छोराछोरीसँगै बस्ने सपना थियो ।”
साहुजीले आफै यौन शोषणसँगै यौनधन्दामा लगाएपछि उहाँका सपना तुहिए । नमानेमा तलब दिन्न, मारेर फाल्दिन्छु भनी धम्क्याउँथे । कहिलेकाहीँ बढी पैसा पाउँछेस् भनेर फकाउँथे । नशालु पदार्थ र मदिराको लत बसाउँदै अन्य होटल, दोहोरी साँझमा यौन धन्दामा पठाउँथे । सडकका रिक्सा चालकदेखि विदेशी ग्राहकसम्मले आफूलाई जथाभावी असुरक्षित यौन सम्पर्क राखेकोे बयान उहाँले प्रहरीलाई दिनुभएको छ ।
उहाँ यतिबेला जीवन मरणको दोसाँधमा वीर अस्पतालको आईसीयू कक्षमा उपचाररत हुनुहुन्छ । अत्यधिक मदिरा र यौन धन्दाको सकसले शरीर क्षतविक्षत छ । यौनाङ्ग र अन्य संवेदनशील अङ्गसहित शरीरभरि चुरोट र तातोपानीले पोलेका घाउ छन् । कलेजोले काम गर्दैन ।
कात्तिक ५ गते माछापोखरीबाट सामाखुसीस्थित मानव सेवा आश्रमले उहाँको उद्धार गरेको थियो । “सडकमा छट्पटाइरहेको अवस्थामा भेटेका थियौँ”, आश्रमका सेवक सुमन बर्तौलाले भन्नुभयो, “ठूलो पेट, रगत बगिरहेको थियो, सोझै अस्पताल लगेका थियौँ ।” गर्भवती रहेको अनुमान थियो । चिकित्सकले कलेजो ड्यामेज भएकाले पेटमा पानी जमेर फुलेको र स्वास्थ्य नाजुक रहेको जानकारी दिए । ग्रिनसिटी अस्पतालम सुरुवाती उपचारपछि केही समय आश्रममै उपचार भयो । सम्भव नभएपछि वीर अस्पताल लगियो ।
“कलेजोले काम गरेको छैन, उहाँलाई गाह्रो भयो भने पेटको पानी अलिकति निकालिदिने मात्र हो”, आईसीयूकी नर्सिङ अधिकृतले भन्नुभयो, “उहाँलाई बचाउने हो भने कलेजो ‘ट्रान्सप्लान्ट’ गर्नुपर्छ ।” नेपालको उपचार पद्धतिमा त्यो छैन । शरीरमा शक्ति बढाउन उच्च प्रोटिन दिएर उहाँको जीवन रक्षा गरिँदैछ ।
काठमाडौँ प्रहरी परिसरले घटनाका बारेमा आरोपीको खोजीसहित अनुसन्धान गर्दैछ । “हामीले उपचारमा जोड दिएर ज्यान जोगाउने कोसिस गरिरहेका छौँ”, परिसरका प्रवक्ता होविन्द्र बोगटीले थप्नुभयो, “त्यसपश्चात उहाँले नाम दिएकाको थप खोजी भइरहेको छ ।” अहिलेसम्म चारजना आरोपित पक्राउ परिसकेका छन् । तर मुख्य आरोपीको पहिचान भइनसकेको उहाँले
जानकारी दिनुभयो ।
घटना – २
कैलालीको एक होटलमा काम गर्ने बालिकालाई जबरजस्ती यौन धन्दामा लगाइयो । आर्थिक अवस्था कमजोर भएकी बालिकालाई होटलको भाँडा माझ्ने र अन्य काम लगाउने सर्तमा राखिएको थियो । तर होटल सञ्चालकले जबरजस्ती यौन व्यापारमा लगाएको पाइएको हो । यस घटनाको हाल कैलाली जिल्ला अदालतमा मानव बेचविखन मुद्दा चलिरहेको छ ।
आन्तरिक बेचबिखन विकराल
घरेलु काम गर्ने बहानामा महिला र बालबालिकालाई यौन धन्दामा प्रयोग गरिएका यी दुई प्रतिनिधि घटना हुन् । जब पीडितले पीडा सहन नसकी सडकमा पुग्छन् वा कसैले सार्वजनिक गरिदिन्छन्, त्यसपछि मात्र घटना बाहिर आउँछ । धेरै महिला र किशोरी घरेलु कामबाटै यौन व्यवसायमा प्रवेश गरेका कैयौँ उदाहरण छन् ।
सङ्गठित भएका यौनकर्मी महिला आफ्ना बाध्यताका फेहरिस्त प्रस्तुत गर्छन् । राजधानीमा झण्डै पचास हजार हाराहारीका यौनकर्मी महिलामध्ये अत्यधिक आर्थिक कमजोरी र घरेलु हिंसापछि कामको खोजी गर्दैगर्दा यौन धन्दाको दलदलमा फस्न पुगेका अनुभव सुनाउँछन् ।
सहरमा एक होटलबाट अर्को होटलमा र एक सहरबाट अर्को सहरमा महिला बिक्री हुने कार्यले विकराल रूप लिँदै गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल स्वीकार गर्नुहुन्छ । “कतिपयलाई त यो अपराध हो भन्ने नै थाहा छैन”, उहाँले भन्नुभयो, “विवाहित पुरुष वा महिलाले एकबाहेक अन्यसँग यौन सम्पर्क राखेमा पनि त्यो मानव बेचबिखन ठहर्ने कानुन छ ।”
आन्तरिक रूपमा भइरहेका यस्ता बेचबिखनमा सबैभन्दा बेइमान पुरुष नै देखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विभिन्न प्रलोभनमा पारेर यौन धन्दामा लगाउने अनि आफू पनि गमन गर्ने काममा पुरुष अग्रसर छन् ।
“महिलालाई प्रयोगको वस्तुका हिसाबले हेर्दा यसको बजार विस्तार भइरहेको छ”, उहाँ थप्नुहुन्छ, “मेरी छोरी त्यस्तो
घटनामा परे अपराध हुने, अर्काका छोरीचेलीलाई आक्रमण गर्न तम्सने, शोषण गर्ने प्रवृत्ति पुरुषमा मौलाउँदैछ । ”
महिलाका महìवाकाङ्क्षाको फेर समाउँदै प्रयोग हुन तयार बनाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । बेचिनेको महìवाकाङ्क्षा र किन्नेको चाहना मिलाउने ठूलै सञ्जाल सक्रिय रहेको पोखरेलको भनाइ छ । प्रहरीसँग आन्तरिक बेचबिखनकोे छुट्टै तथ्याङ्क भने छैन ।
महिला अत्यधिक जोखिममा
राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा १५ हजार महिला र पाँच हजार बालबालिका यौनशोषण सहितको बेचबिखनमा परेका छन् । आन्तरिक बेचबिखनको अवस्था जटिल बनेकोे आयोगका प्रवक्ता मोहना अन्सारीले बताउनुभयो ।
सार्वजनिक स्थानमा जान र बोल्न नसक्ने निमुखा महिलालाई यौन धन्दामा लाउने र बेचबिखन गर्ने गरिएको उहाँ सुनाउनुहुन्छ । आयोगको प्रतिवेदन अनुसार मनोरञ्जन क्षेत्रका सात हजार आठ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका तथा फेला नपरेका तीन हजार दुई सय गरी ३५ हजार व्यक्ति यौन व्यवसायजन्य बेचबिखनमा पर्ने गरेका छन् ।
जसमा १९ वर्ष समूहका किशोरी १२ लाख, मनोरञ्जन क्षेत्रबाट २१ हजार, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका एक लाख ८० हजार तथा एक लाख बालश्रमिक यौन शोषण र बेचबिखनको जोखिममा छन् । अलिकति शिक्षित छ भने उसले हिंसा सहँदैन र उजुरी गर्छन् । तर कम पढेलेखेकाले जति पीडा परे पनि उजुरी नगर्ने अन्सारीको अनुभव छ । यौन हिंसासँगै आन्तरिक बेचबिखन बढेको घटना कानुनी रूपमा नस्वीकारिएको विषय रहेको टिप्पणी गर्नुहुन्छ ।
“अध्ययनका सिलसिलामा आएका युवती, सहर घुम्न आएका किशोरी, जीविकोपार्जनका लागि काम खोजिरहेका महिला बढी आन्तरिक बेचबिखन र यौन शोषणमा पर्छन्”, अन्सारीले थप्नुभयो, “अवसर र सहरिया जीवनको वातावरणमा रम्न जसरी पनि पैसा कमाउनै पर्छ भन्ने मानसिकताले पनि दलदलमा फस्दैछन् ।” पार्टी प्यालेस, क्याबिन रेस्टुरेन्ट किशोरीलाई यौन धन्दामा पु¥याउने प्रारम्भिक माध्यम बनेको उहाँको ठहर छ ।
अन्तिम अवस्थामा घटना बाहिर आउँदा महिलामाथि हुने यौनहिंसा नियन्त्रण गर्न कठिनाइ रहेको राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्ले बताउनुहुन्छ । आयोगले गरेको अध्ययनमा कुल दुई हजार ४५३ घटनामध्ये यौन हिंसाका घटना पाँच प्रतिशत छ । आर्थिक वर्ष २०७५÷७६ मा ४७ यौनजन्य हिंसाका घटनाको उजुरी आयोगमा परेको थियो ।
कडा कानुनी व्यवस्था :
छुट्टै कानुन नहुँदा यस्ता घटनामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार कारबाही चल्छ । ऐनको परिच्छेद २, दफा ३ अनुसार कसैले मानव बेचबिखन र ओसारपसार गरेमा कसुर मानिन्छ । दफा ४ अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई देह व्यापारमा लगाउने, कानुन बमोजिमबाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने यस कसुरमा पर्छ ।
किन्ने वा बेच्ने उद्देश्यले विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने, ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जलासाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक धम्की दिई कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा नियन्त्रणमा लिने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने गरेमा पनि मानव बेचबिखन र ओसारपसार ठहरिन्छ ।
नेपालको संविधान २०७२ को मौलिक हकको धारा २९ ले कसैलाई बेचबिखन गर्न, दास वा बाँधा बनाउन र इच्छाविपरीत काम लगाउन निषेध गरेको छ । धारा ३८ मा महिलाको हकले महिलाविरुद्ध कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक र अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने भनेको छ । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१, बालबालिका सम्बन्धी ऐन २०७५, श्रम ऐन २०७४, ले यौनजन्य कार्यलाई निकृष्ट भनेको छ ।
वि.सं. २०६२ मा सर्वोच्च अदालतले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा महिलामाथि यौन शोषण हुने गरेको ठहर गर्दै कानुन बनाएर नियमन गर्न निर्देशन दिएको थियो । जस अनुसार यौन शोषण रोक्न डान्स रेस्टुरेन्ट, डान्सबार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण निर्देशिका २०६५ जारी भएको थियो ।