logo
२०८१ मंसिर ११ मंगलवार



साइकलमैत्री बन्दै ललितपुर

मुख्य समाचार |


साइकलमैत्री बन्दै ललितपुर


शान्ति लामा

ललितपुर, मङ्सिर १५ गते । झन्डै तीन दशकअघि काठमाडौँको सडकमा सवारीको चाप आजको जस्तो थिएन । त्यसमाथि मोटरसाइकल र कारमा मानिसको पहुँच कम थियो । त्यस बेला साइकलको पनि बेग्लै शान थियो । त्यति बेला नै चिरिबाबु महर्जन अर्थात् अहिलेका ललितपुर महानगरपालिकाका प्रमुखले जमलमा एउटा साइकल किन्नुभएको थियो । त्यही साइकल उहाँलाई अझै पनि काम आइरहेको छ ।
ललितपुर महानगरपालिकाको साइकल लेन उद्घाटनमा शनिबार उहाँ त्यही साइकल चढेर आउनुभएको थियो । “तेत्तीस वर्षअघि मैले किनेर केही समय चलाएँ । त्यसपछि छोराले धेरै वर्ष चलाए”, महानगर कार्यालयको प्राङ्गणमा आफ्नो बूढो साइकल अड्याउँदै उहाँले आफ्नो साइकल कहानी सुनाउनुभयो ।
“जावलाखेलको भोटोजात्रा हेर्न आउनेका लागि हामीले शुल्क लगाएर बनाएको साइकल स्ट्यान्डमा ३५० वटा साइकल राखिएका थिए”, त्यो समय स्मरण गर्दै उहाँले भन्नुभयो, “त्यही समयलाई अहिले ‘रिभाइभ’ गर्न चाहन्छु । ” प्रमुख महर्जनको चाहनाजस्तै साइकलको त्यो स्वर्ण समय पुनर्जीवित बनाउन सकिएला वा नसकिएला, त्यो फरक विषय हो । तर, ललितपुर महानगरपालिकाले बनाउन लागेको साइकल लेनले साइकल यात्रीलाई निकै उत्साहित बनाएको छ । साइकलमा यात्रा गर्न रुचाउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. पवन शर्मा भन्नुहुन्छ, “सडकमा सधैँ पीडित र अपमानित हुनु परेकाले नयाँ पुस्ता साइकलमा आकर्षित हुन सकेको छैन । भएकै सडकमा लेन बन्नु साइकलयात्रीलाई सुरक्षा र सम्मान दिने कामको सुरुआत हो । ” महानगरपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ देखि नै साइकल लेन निर्माणको प्रक्रिया अगाडि बढाएको हो । गत वर्षकै कार्यक्रमअन्तर्गत शनिवार वडा नं. १३ स्थित कुपण्डोल सडकमा प्रमुख महर्जनले साइकल लेनमा पेन्ट गरी साइकल लेन निर्माणको उद्घाटन गर्नुभयो ।
गत आर्थिक वर्षमा ५० लाख बजेट छुट्याई साइकल लेनको डिजाइन गर्न नेपाल साइकल सोसाइटीलाई जिम्मेवारी दिइएको थियो । नेपाल साइकल सोसाइटी नेपालमा सुरक्षित सहर र वातावरणका लागि साइकल प्रवद्र्धन गरिरहेको संस्था हो । सोसाइटीको प्राविधिक सहयोगमा कुपण्डोल–लगनखेल–मङ्गलबजार र पुलचोक–मङ्गलबजार साइकल लेन निर्माण गरिने प्रमुख महर्जनले बताउनुभयो ।
‘सेयरिङ लेन’ अर्थात् साझा लेनका रूपमा साइकल लेन निर्माण गरिने नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नमान श्रेष्ठले बताउनुभयो । साइकल कुदेको बेला अन्य विद्युतीय सवारी साधन छेउको लेनमा गुड्ने छैन तर साइकल नचलेको अवस्थामा भने अन्य सवारी साधन पनि साइकल लेनमा गुड्नेछन् ।

निरन्तर कार्यक्रम
काठमाडौँ उपत्यकालाई नै साइकलमैत्री सहर बनाउने अभियानको सुरुआत यो साइकल लेन भएको प्रमुख महर्जनको भनाइ छ । चालू आव २०७६÷७७ मा पनि ५० लाख रुपियाँ बजेट विनियोजन गरी साइकल लेन निर्माण अभियानलाई निरन्तरता दिइएको जानकारी उहाँले दिनुभयो । “यो सोकेस आयोजना हो । यही ढाँचामा महानगरभरि साइकलमैत्री सडक निर्माणलाई निरन्तरता दिइने छ”, प्रमुख महर्जनले भन्नुभयो । छिमेकी सहरहरूसँग पनि साइकल लेन निर्माणका लागि समन्वय र सहकार्य गरिने उहाँले बताउनुभयो । गोदावरी नगरपालिकासँग साइकल लेन विस्तारबारे छलफल भइसकेको र अब मेयर फोरममा यो प्रस्ताव राखेर यसलाई सघन बहसमा लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

यस्तो हुने छ साइकल लेन
महानगरको सवारी व्यवस्थापन गुरुयोजना (एमटीएमपी)को अङ्गका रूपमा साइकल लेन निर्माण गरिएको महानगरपालिकाले जनाएको छ । सडकका दुवै किनारमा एक दशमलव दुई मिटर चौडाइमा साइकल लेन हुने छ । चार इन्चको मार्किङ गरी ठाउँठाउँमा साइकलको लोगो र ट्राफिक चिह्न बनाइने महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले बताउनुभयो । साइकल लेनलाई जोड्दै ५० वटा साइकल स्ट्यान्ड बनाइसकिएको नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नमान श्रेष्ठले बताउनुभयो ।
साइकल प्रयोगकर्ताको सुरक्षा, अधिकार तथा वातावरणमैत्री सवारी साधन प्रवद्र्धनका लागि साइकल लेनको अवधारणा अगाडि ल्याइएको प्रमुख महर्जनले बताउनुभयो । साइकल लेन बनेसँगै साइकल यात्रीको सुरक्षा मात्र नभई सडकमा प्रयोगकर्ताबीचको भेदभावको खाडल पनि कम हुने उहाँको भनाइ छ ।

साइकल ऐन बनाइने
साइकल प्रवद्र्धनकै सिलसिलामा ललितपुर महानगरपालिकाले साइकल प्रयोगसम्बन्धी कानुन पनि बनाउने भएको छ । हाल महानगरको साइकलमैत्री ऐनको मस्यौदा तयार भइरहेकाले आउँदो अधिवेशनबाट पारित हुने प्रमुख महर्जनले जानकारी दिनुभयो । “साइकलमैत्री ऐनमा हामीले साइकल यात्रीलाई अधिकारसम्पन्न बनाउने छौँ”, उहाँले भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?