logo
२०८१ मंसिर ११ मंगलवार



अध्यक्ष प्रचण्ड चीन जानुहुने

मुख्य समाचार |


अध्यक्ष प्रचण्ड चीन जानुहुने



गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् ।
यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो । टोलीमा ६० जना जाने तयारी भइरहेको छ तर को–को जाने त्यसको टुङ्गो नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “टोलीमा पार्टी केन्द्रीय कमिटीभन्दा बाहिरका पनि नेता हुन सक्छन् । ”
पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै केन्द्रीय कमिटी सदस्यलाई चीन घुमाइसक्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै नेतालाई चीन भ्रमण भनेको छ, सोही योजनाअनुसार पहिलो टोली प्रचण्डको नेतृत्वमा जान लागेको हो । ’’ चीनले नेकपाका मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्तालाई समेत चीनमा आमन्त्रण गर्ने कार्यक्रम आफूलाई जानकारी भएको उहाँले बताउनुभयो ।
पार्टी स्कुल विभागका उपप्रमुख वेदुराम भुसालले भ्रमण टोलीमा को–को जाने सूची तयार भइरहेको बताउँदै चीनले गरेको विकासका कामहरू अवलोकन गराउनुका साथै केही सैद्धान्तिक छलफल पनि हुने बताउनुभयो ।
यसअघि चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गर्नुभएको थियो भने चिनियाँ कम्युनिस्ट पार्टीले नेकपासँग नेपालमा बृहत् अन्तरक्रिया कार्यक्रम गरिसकेको छ । सोही अन्तरक्रिया कार्यक्रमअन्तर्गत नेकपा नेताहरूको भ्रमण हुन लागेको हो । अध्यक्ष प्रचण्ड तीन दिनमा फर्किनुहुन्छ भने अन्य नेता १० दिनसम्म त्यहीँ रहने नेता पौडेलले बताउनुभयो । पार्टीका अध्यक्ष प्रचण्डले शनिबार आयोजित एक कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आफूले एक टोलीको नेतृत्व गर्दै चीन जान लागेको जानकारी गराउनुभएको थियो । यो पहिलो टोलीको नेतृत्व प्रचण्डले नै गरेर आउनुपर्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओली र आफूलाई समेत भनेको पौडेलले स्पष्ट पार्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?