राजन रावत
सिमकोट, मङ्सिर २६ गते । नाम्खा गाउँपालिका–६ लिमी हल्जीगाउँमा अहिले बाटो खन्ने काम चलिरहेको छ । स्थानीयवासीले श्रमदान पनि गरिरहेका छन् तर सोही गाउँका कुन्साङ तामाङले आफ्नै गाउँमा सञ्चालन भएको बाटो खन्ने काममा चाहना भएर पनि सहभागिता जनाउन पाउनु भएन ।
हिमालपारिको गाउँ भनेर चिनिने हुम्लाको लिमीमा ६० वर्ष उमेर कटेका नागरिकले गाउँमा सञ्चालन हुने सबैखाले सार्वजनिक काममा सहभागिता जनाउन नपाउने चलन सुरु गरिएपछि उहाँले काम गर्न नपाउनुभएको हो । घरमा चार सदस्य भएका कुन्साङ अहिले ६१ वर्ष पार गर्नुभएको छ ।
उहाँकी एक छोरीमा अपाङ्गता छ भने श्रीमती र छोरा जिल्लाबाहिर हुनुहुन्छ । त्यसैले सामाजिक काममा आफूले सहभागिता जनाउने उहाँको चाहना रहे पनि ६० कटेका अग्रजहरूलाई यस्ता काममा नलगाउने गाउँको सामूहिक निर्णय कुन्साङमा पनि लागू भयो । उहाँगाउँको निर्णय अनुसरण गर्न राजी हुनुभयो । त्यसैले आफ्नो परिवार काममा सहभागी नहुँदा तोकिएको जरिवाना तिर्न राजी हुनुभयो ।
आफ्नो काम गर्ने उमेर कटे पनि श्रीमती र छोरा काम गर्ने उमेरका रहेका तर काम गर्ने बेला गाउँमा नभएका कारण जरिवाना तिरेको उहाँले बताउनुभयो । मानिस काम गर्नका लागि हट्टाकट्टा भए पनि ६० कटेपछि गाउँमा सञ्चालन हुने कुनै पनि सार्वजनिक काममा उहाँहरूको सहभागितालाई बन्देज लगाइएको वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
यद्यपि उहाँहरूलाई आफ्नो घरको काम गर्न भने कुनै बन्देज छैन । ६० वर्ष कटेका पुरुष वा महिला जो भए पनि काम गर्न नसक्ने र उनीहरूका कारण अरू काम गर्नेलाई पनि जाँगर मर्ने देखिएपछि यस्ता उमेर समूहका नागरिकलाई काममा बन्देज लगाइएको उहाँले जनाउनुभयो । काम गराइमा एकरूपता ल्याउन र सबैले समान रूपमा काम गरून् भन्नका लागि यस्तो निर्णय गरिएको हो ।
लिमीका तीनवटै गाउँमा एक सयभन्दा बढी ६० वर्ष उमेर कटेका नागरिक रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो । “यो गाउँको सामूहिक निर्णय हो, यसलाई तत्काल कानुनी हैसियत दिने विषयमा हामीले सोचेका छैनौँ,” अध्यक्ष लामाले बताउनुभयो । ६० वर्ष कटेका सबै नागरिक सार्वजनिक काममा सहभागिता जनाउन नपाउने उहाँले जनाउनुभयो ।
कुनै घरमा काम गर्ने उमेरका मानिस नभए केही नहुने तर भएर ताक्लाकोट वा जिल्लाबाहिर रहे कि त आउनुपर्ने नभए जरिवाना तिर्नुपर्ने चलन लिमीको फरक पहिचान भएको वडाध्यक्ष लामाले बताउनुभयो । सार्वजनिक काम सुरु हुनुभन्दा केही समय अगाडि सार्वजनिक सूचना भने गरिन्छ । यसको जानकारी सबै घरधुरीलाई दिइन्छ । लिमीमा १७७ घरधुरी छन् । यसले काममा गुणात्मकता ल्याउन सहयोग पुग्ने विचार उहाँको छ । लिमीका तिल, हल्जी र जाङ गाउँमा यो चलन छ । पहिले नभए पनि पछि तिनै गाउँको सामूहिक निर्णयबाट यस्तो गरिएको हो ।