चाँदनी हमाल
काठमाडौँ, मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकालाई सडक मानवमुक्त गरिने भएको छ । महानगरपालिकाले आफ्नो वार्षिकोत्सव (२५ औँ महानगर दिवस) मनाउने क्रममा आइतबार विशेष कार्यक्रममार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा गर्न लागेको छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले सडक मानवमुक्त महानगर घोषणा गर्न थालिएको गोरखापत्रलाई बताउनुभयो । महानगरलाई सडक मानवमुक्त बनाउन मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगर प्रहरीको साथ रहेको शाक्यले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६÷२०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
“गरिबीको मनोविज्ञान हटाई आत्मविश्वास जागृत गरिनेछ,” नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपति भण्डारीले भन्नुभएको थियो, “मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ । अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । ” यही भावमा सरकारको बजेटमा पनि सडक मानव व्यवस्थापन गर्न सरकारले आवश्यक पहल गर्ने जिम्मा लिएको उल्लेख गरेको छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १२ गते भक्तपुरमा मानव सेवा आश्रमको उद्घाटन गर्दै सडक मानवमुक्त गर्न केही दिऊँ पाऊँ भन्नेको कमी नरहेको सुनाउनुभएको थियो ।
“समृद्ध नेपाल, सुखी नेपाली बनाउने हाम्रो राष्ट्रिय आकाङ्क्षा जे छ त्यस काममा विभिन्न ढङ्गले समर्पित छ, त्यो यहाँ (आश्रममा) देखिएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो तपाईंहरूले अभियान चलाउनुभएको छ, राज्यबाट सञ्चान गरियो भने यसरी जान सक्दैन । ”
आफूले समृद्ध नेपालको कुरा गर्दा विकास र समृद्धिको मात्र कुरा नगरेको भन्दै उहाँले समृद्धि भए पनि सभ्यता भएन भने समाज असुरक्षित हुने उल्लेख गर्नुभएको थियो । सडकमा कोही बेसहारा, असहाय छोडिन नपरोस् र सबैको व्यवस्थापन सरकारले गर्ने घोषणा नै गरेको सम्झाउनुभएको थियो । प्रधानमन्त्री ओलीकोे त्यो उद्घोषको एक महिनाभित्रै भरतपुर महानगरपालिकाले सडक मानवमुक्त पहिलो महानगरको घोषणा कात्तिक ९ गते गर्न सफल बन्यो । त्यसअघि मकवानपुर जिल्ला सडक मानवमुक्त घोषित भएको थियो । काठमाडौँमा भने चिसो रातमा पातला बोरा र बर्कोले आङ छापेको भरमा एक पहर निदाउन पाउँदा ठूलै भाग्य ठान्नेहरू प्रशस्त भेटिन्छन् । कालीमाटी तरकारी बजार अघिल्तिरको सडकमा सुत्ने करिब ५० जना यसैगरी खुला आकाशमुनि बोराका भरमा रात काट्छन् । “तरकारी बजारमा भारी बोक्छु”, गोपाल थामीले भन्नुभयो, “बस्ने ठाउँ छैन, कता जानु, त्यसैले यहीँ सुत्छु । ” मुस्किलले टाउको छोपिने सेता बोरा ओढेर उहाँ सडकछेउको चिसो बरण्डामा हरेक रात ढल्कनुहुन्छ ।
उदयपुरका किरण मगर एक जना अर्को सहकर्मीसँग बोराभित्र साथमै न्यानो बन्ने प्रयास गर्नु हुँदैछ । गोँगबु बसपार्कको छेउको विष्णुुमती करिडोरमा भारतीय मूलका १२ परिवार यसरी खुला आकाशमुनि रात बिताउने गरेका छन् ।
गर्भवती, बालबालिकासमेत त्यो समूहका छन् । पुरुषहरू दिउँसो व्यापार गर्ने र महिला बालबालिका सडकमा माग्ने पुरुष समूह प्लास्टिकका भाँडावर्तन बेच्न हिँड्छन् । सोह्रखुट्टेमा इलामका अधबैँसे जोडी प्रतीक्षालयको आडमा त्रिपालभित्र निदाउँछन् । पशुपति मन्दिर, सम्पदाक्षेत्र, स्वयम्भू र शोभा भगवती आसपासका मन्दिर र खुला स्थानमा जीवन बिताउने बढ्दैछन् ।
व्यवस्थापन गरिँदै
अब भने उनीहरूले यसरी चिसो रात सडकमा बिताउनु नपर्ने भएको छ । राष्ट्रपति भण्डारीको उद्घोष र प्रधानमन्त्री ओलीको सुखी नेपाली बनाउने चाहना साकार बनाउने एउटा पाइलाको रूपमा आइतबार काठमाडौँ महानगरपालिकालाई सडक मानवमुक्त घोषणा गरिँदैछ । महानगरलाई सडक मानवमुक्त घोषणा गर्न लागिएको र यस कार्यमा मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगर प्रहरीको साथ रहेको महानगर प्रमुख शाक्यले बताउनुभयो ।
किन आउँछन् सडकमा ?
मानिस कोही आफ्नै कारणले, कोही रहरले, कोही पारिवारिक विवशताले, कोही मानसिक रोगी बनेपछि र कोही चरम गरिबीका कारण यसरी सडक जीवन बिताउन बाध्य रहेको पाइएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सुनाउनुहुन्छ ।
उहाँका अनुसार अचेल परिवारमा कर्तव्यविमुखता बढ्दैछ । आमाबुबाप्रति छोराछोरीको अनि छोराछोरीप्रति आमाबुबाको कर्तव्यविमुखताले मानव सडकमा पुग्ने क्रम बढेको अधिकारीको अनुभव छ । बढी वृद्धवृद्धा, साना बालबालिका र मानसिक रोगी सडकमा पुग्नुमा त्यही कर्तव्यविमुखता कारक बनेको छ । अधिकारीले भन्नुभयो, “मानिसको भावनात्मक प्रेममा पनि कमी आएको छ, आफ्ना परिवारका सदस्य मानसिक रोगी बनेपछि सडकमा छाडिने गरेको पाइएको छ । ”
उहाँका अनुसार कतिपय मानिस अभावले भन्दा पनि आफ्नै स्वभावका कारण सडकमा पुग्ने गरेको पाइएको छ । घरझगडा हुँदा घरै छाडेर सडकमा बस्न पुगेका पूर्व सरकारी कर्मचारीको एउटा समूह नै उद्धारपछि आश्रम पुगेको छ ।
कतिपय भने चरम गरिबी र भोकबाट बच्न सहरमा कामको खोजीमा आउँदा सडकको बासमा पर्ने गरेका छन् । गरिब देखेपछि कोठा नदिने चलनले दिनभर काम गरेपछि रातमा सडकमै निदाउनु उनीहरूको बाध्यता हो । कालीमाटीमा भेटिएकाहरू त्यस्तै कामका खटिनेहरू हुन् ।
अर्को एक स्वार्थी समूह जो अशक्तलाई सडकमा माग्न लगाएर कमाउने प्रयोगको वस्तुका रूपमा मानिस सडकमा पुग्ने गरेका छन् । आफ्नै असशक्त सन्तान र परिवारका सदस्यलाई सडकमा उतारेर पेट भर्नेको सङ्ख्या पनि सडकमा उत्तिकै रहेको उहाँको भनाइ छ ।
व्यवस्थापन चुनौतीपूर्ण
आश्रमका अध्यक्ष अधिकारीका अनुसार काठमाडौँ महानगरपालिकाको सडक मानव व्यवस्थापन निकै चुनौतीपूर्ण छ । देशका हरेक भेगदेखि सीमापारबाट आएका मानव यहाँको सडकमा बास बस्ने गर्छन् ।
उहाँले भन्नुभयो,“कोही उद्धारपछि आश्रममा बस्नै नचाहने छन्, कोही काम गर्न चाहने छन्, उनीहरूको अवस्था अनुसार उद्धारपछि वर्गीकरण गर्नुपर्छ । ” जसका लागि महानगरले बालाजुमा उपलब्ध गराएको भवनमा राखेर अलग अलग धारमा वर्गीकरण गरिन्छ । जसको घरपरिवार र सम्पत्ति छ उसलाई पारिवारिक पुनर्मिलन गराइन्छ । जसको कोही छैन उसलाई आश्रममा गृह प्रवेश गराइन्छ । जो काम गरेर जीविका चलाउन चाहन्छ उसका लागि महानगरको सहयोगमा विभिन्न रोजगारमूलक काममा लगाउने योजना बनाइएको छ । जसका लागि आइतबार सडक मानवमुक्त महानगर घोषणासँगै काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, काठमाडौँ जिल्ला प्रशासन र महानगर प्रहरीबीच चौपक्षीय सम्झौता हुँदैछ ।
त्यो सम्झौता अनुसार जिम्मेवारीको बाँडफाँट भए अनुसार हरेक निकायले काम गर्नुपर्नेछ । आश्रमको काम भने असहाय र मानसिक रोगीको सेवा गर्ने र सडक अनुगमन गरी उद्धार गर्ने रहेको छ । आइतबार नै महानगरले आफ्ना हरेक कार्यलाई मानवतामुखी बनाउने अर्को घोषणा गर्दैछ । उसका सेवा तथा काम कारबाहीका निर्णय गर्दा त्यो मानवतामुखी निर्णय गरेर कार्यान्वयनमा ल्याउनेछ ।
आश्रमको सक्रियता
देशको राजधानीलाई सडक मानवमुक्त घोषणा गर्न मानवसेवा आश्रमका सातै प्रदेशका स्वयंसेवी यतिबेला काठमाडौँमा सक्रिय छन् । आइतबार सडक मानवमुक्त महानगर घोषणा भएसँगै दिउँसो १ बजेबाट सडक मानव उद्धार र व्यवस्थापनमा खटिने स्वयंसेवी सुमन बर्तौलाले जानकारी दिनुभयो । बिहान मन्दिरमा, दिउँसो बजार क्षेत्रमा र राति सडकपेटी र मन्दिर आसपासका क्षेत्रमा उद्धार कार्य सञ्चालन हुनेछ । उद्धारमा महानगर प्रमुख, उपप्रमुखलगायत स्वयंसेवी सहभागी हुनेछन् । २०६९ सालमा मकवानपुरको हेटौँडाबाट सुरु भएको सडक मानव उद्धार र सेवाको अभियानलाई सक्रिय स्वयंसेवीको अथक प्रयासले देशका सातै प्रदेशमा विस्तार गरेको छ ।
सात प्रदेशका १४ जिल्लामा १७ वटा आश्रमका शाखा स्थापना गरी ७० जना बालबालिकासहित करिब नौ सय जनालाई सेवा प्रदान गरिरहेको जानकारी स्वयंसेवी सुमन बर्तौलाले जानकारी दिनुभयो । हरेक मानवमा मानवताको भाव जगाउन चेतनामूलक कार्यक्रम र नाटकसमेत स्वयंसेवीले सञ्चालन गरेका छन् ।
अब कसैले सडकमा रात बिताउनु पर्दैन
- विद्यासुन्दर शाक्य
प्रमुख काठमाडौँ महानगरपालिका
महानगर दिवस कसरी मनाउँदै हुनुहुन्छ ?
२५ औँ महानगर दिवस शनिबार र आइतबार दुई दिन मनाउँदैछौँ । दिवसका अवसरमा शनिबार वसन्तपुरमा सांस्कृतिक कार्यक्रम भयो । महानगरपालिकाले विभिन्न वडामा आयोजना गरेको सीपमूलक तालिम र त्यसपश्चात् उत्पादन भएका वस्तुहरूको स्टल राखेर वसन्तपुरमा प्रदर्शन गरिएको छ । विभिन्न प्रकारका खानेकुराका स्टल पनि राखेका छौँ । विभिन्न गोष्ठी र वर्कसपसँगै रक्तदान कार्यक्रम भयो ।
त्यस्तै शनिबार नै बौद्ध रामहिटीमा दमकल भवनको उद्घाटन गरिएको छ । सो भवन निर्माण गर्न सात करोड ६२ लाख नौ हजार ६२९ रुपियाँ लागतमा निर्माण गरिएको हो । साढे तीन रोपनी क्षेत्रफलमा फैलिएको सो भवन परिसर १२ हजार वर्गफुटको छ । जसमा एक लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्की छ । भवनमा नै अग्नि नियन्त्रणमा खटिने कर्मचारीको वासस्थानसहित तीनवटा दमकल राख्ने क्षमता छ । दुईवटा सुविधा सम्पन्न हल र प्रशिक्षार्थीका लागि बस्ने होस्टलसमेत छ । उहाँले सो भवनमार्फत महानगर क्षेत्रमा हुने आगलागीका बेला नियन्त्रण तथा खोज एवं उद्धारको काम हुने बताउनुभयो ।
आइतबार बिहान ७ः३० बजे जनसहभागितामा ¥यालीसहित नगर परिक्रमा गर्ने कार्यक्रम छ । वसन्तपुरमा औपचारिक कार्यक्रम गर्छौं । जहाँ परम्परागत बाजा समुदायलाई सम्मानित गर्छौं । नेपाली परम्परा जोगाउने सम्पूर्ण बाजा खलकका एक एकजना गुरुलाई जनही २५ हजार नगदसहित सम्मानित गर्ने कार्यक्रम छ ।
जीवित देवी मखनकुमारी र किलागल कुमारीलाई पनि मासिक भत्तासहित सम्मान गरिँदैछ । महानगरपालिका स्थापना गर्न महìवपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्वमेयर पीएल सिंहलाई सम्मान गर्दैछौँ । सांस्कृतिक कार्यक्रम र प्रदर्शनी रहनेछ । महानगरबारे जनचेतना जगाउन हाम्रो काठमाडौैँ हामी बनाउछाँै भन्ने भावना जगाउन विद्यार्थीबीच विभिन्न प्रतियोगिता गराइएको थियो । महानगरमा सुशासन कायम गर्न सघाउने पत्रकार, कर्मचारीलाई सम्मान गर्छौं । सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्छौं ।
विशेष घोषणाचाहिँ के हुन्छ ?
महानगरलाई सडक मानवमुक्त घोषणा गर्ने कार्यक्रम छ । अभियान भोलिदेखि नै सुरु गर्छौं । अब काठमाडौँ क्षेत्रभित्र कोही पनि चिसोमा कठाङ्ग्रिएर बस्न नपरोस्, कोही एकछाक खान नपाएर सडकमा बस्न नपरोस् भनेर उहाँहरूको उद्धार गर्ने पुण्यको काम आइतबारबाट औपचारिक रूपमै गर्दैछौँ । हुन त दुई वर्ष अगाडिदेखि नै मानव सेवा आश्रमसँग सहकार्य गरेर महानगरले काम गर्दै आएको छ । यसलाई अझ महाअभियान चलाएर कोही पनि व्यक्ति अब सडकमा बस्नु नपर्ने गरी हामी व्यवस्थापन गर्न गइरहेका छौँ ।
सडकबाट उठाएकालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
सडकबाट उठाएकालाई पहिलो चरणमा स्क्रिनिङ सेन्टर भनेर अलग्गै राख्छौँ । जसको कोही पनि छैन, बेसहारा छ भने मानव सेवा आश्रममा राख्न लग्छौँ । जसको घर परिवार छ । रहरले वा कसैले रिस पोख्न वा पेसाका रूपमा सडकमा बस्छन् । उनीहरूलाई निरुत्साहित गर्छौं । जसको कोही पनि छैन, ज्येष्ठ नागरिक आमा बुबा बाध्यात्मक रूपमा सडकमा बस्नुभएको छ । कोही परिवार नभएर मानसिक स्थिति ठीक नभएर बोराले ओढेर सडकमा सुतिरहेका छन् । उहाँहरूलाई राख्ने, खुवाउने, पिलाउने र औषधि उपचारको काम पनि हामी गर्छौं ।
काठमाडौँको सौन्दर्यीकरणमा के हुँदैछ ?
काठमाडौँलाई हरित सहर बनाउने क्रममा धेरैवटा आइल्यान्ड बनाइसकेका छौँ । पार्क निर्माणका क्रममा छन् । केही पार्क निर्माण भइसकेका छन् भने कतिपयका टेन्डर भइसकेका छन् । चेस पार्क, त्रिपुरेश्वर पार्क, लगन पार्क, बुद्ध पार्क र कुलेश्वर आवासभित्र गरी छ वटा पार्क निर्माण गर्न गइरहेका छौँ । स्वयम्भूमा बुद्धपार्क, चाबहिल, बौद्धमा बाग्मती नगरपार्क, तीन नम्बरमा इको पार्क बनाउँदैछौँ र कृष्णगल्ली पार्क डिजाइन भइसकेको छ । शङ्खपार्क र रानीबारी पार्क निर्माण अघि बढिसकेको छ । यसरी हरेक वडामा जहाँ सार्वजनिक जग्गाहरू छन् । सार्वजनिक जग्गालाई संरक्षण गरेर पार्क निर्माण गर्न गइरहेका छौँ । भित्री सहरमा पनि जहाँ जहाँ सम्भव छ गुठीका जग्गा भए पनि भाडा तिरेर अस्थायी संरचना निर्माण गरेर हरियाली बनाउने सोचमा छौँ । पुनर्निर्माणको क्षेत्रमा जहाँ अवरोध छैन त्यहाँ पुनर्निर्माणले गति लिइरहेको छ ।
सवारी व्यवस्थापनको कार्य कसरी गर्नुहुन्छ ?
न्युरोडमा स्मार्ट पार्किङ अझ व्यवस्थित गर्दैछौँ । जग्गाधनीले आफ्नो जग्गा काटेर सडक चौडा बनाउन दिएका हुन्छन् । त्यहाँ अरूले गाडी पार्क गर्दा चित्त दुख्नु अस्वाभाविक हैन । तर हामीले ध्यान केमा दिनुपर्छ भने काठमाडौँको भूगोल यति नै हो सडक यति नै हुन् तर दिनहुँ गाडीहरू थपिएका छन् । त्यसैले व्यवस्थापन गर्न साना गाडी धेरै हैन ठूला सुविधासम्पन्न गाडी ल्याउनुपर्छ भन्नेमा जोड दिइरहेको छ ।
धेरै मानिस बोक्न सक्ने गाडी ल्याउनुपर्छ प्रदेश ३ र केन्द्र सरकारलाई पनि ध्यानाकर्षण गराएका छौँ । अब कतिपय अवस्थामा अप्ठेरो छ । गाडी झिकाउने लाइसेन्स माथिबाट दिन्छ । हामी तलबाट चाहिँ नल्याउँ भन्छौँ । त्यसका लागि सङ्घीय सरकार र प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ । होइन भने काठमाडौँमा थेगिनसक्ने यातायातको समस्या आउन सक्छ ।
काठमाडौँ महानगरपालिकाले न्युरोडलगायतका ठाउँमा स्मार्ट पार्किङ व्यवस्था गर्दा त्यहाँकालाई त राम्रो भएको छ तर त्यसको चाप भने अन्ततिर बढ्न गयो । त्यसका लागि पार्किङ भवन निर्माण गर्ने बनाउन पहल गरेको छ । निजीक्षेत्रलाई पनि प्रोत्साहित गरेर पार्किङ भवन बनाउन दिनुपर्ने कुरा चलाइरहेका छौँ ।
उपत्यकामा रेल चलाउने कुरा नि ?
मोनोरेलको डीपीआरको सम्झौता गरेका हौँ । फिजिविलिटीको रिपोर्ट आयो । डीपीआरको रिपोर्ट आइपुगेको छैन । त्यो आएपछि यस विषयमा एउटा निष्कर्षमा पुग्न सकिन्छ ।