गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकको दोस्रो दिनमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित नेताहरुले आ–आफ्ना धारणा राख्नुभएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा १२ जना सदस्यहरुले प्रस्तुत प्रतिवेदन र संशोधन प्रस्तावमाथि धारणा राख्नुभएको हो ।
बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्नुभयो ।
कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत उहाँहरुले प्रस्तुत गर्नुभएको थियो । बैठकमा उहाँहरुले संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत सुझाव दिनुुभयो ।
बैठकबारे गोरखापत्र अनलाइनलाई प्रतिक्रिया दिनुहुँदै स्थायी कमिटी सदस्य पम्फा भुसालले समाजवादबारे सरकार र पार्टीको गुरुयोजना आउनेपर्नेमा अधिकांश नेताहरुले जोड दिनुभएको बताउनुभयाे ।
हातहातमा नगद पु¥याउँदैमा समाजवाद नआउने भन्दै भौतिक र आर्थिक पूर्वाधारको खाका ल्याउनुपर्नेमा नेताहरुले बैठकमा धारणा राख्नुभयो । समाजवाद उन्मुख अर्थतन्त्रको लागि गरिवी निवारणमा गर्न ध्यान दिन जरुरी रहेको भन्नुुहुँदै उहाँले गरिब र किसानलाई सिचाईंको लागि विद्युत निःशुल्क उपलब्ध गराउन माग राखेको उहाँले बताउनुभयो ।
सरकार र जनताको पुलको रुपमा नेकपा पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिनुहुँदै नेता भुसालले सचिवालय, स्थायी ,पोलिट्ब्यूरो र केन्द्रीय समितिमा समानुपातिक समावेशीका आधारमा महिलालाई प्रतिनिधित्व गराउन माग समेत गर्नुभयो ।
उहाँका अनुसार बैठकमा बोल्ने नेताहरुले पार्टी एकीकरण हुन बाँकी रहेका कमिटी र भातृसंगठनहरु चाँडै एकीकरण टुङ्ग्याउने जरुरी रहेकोमा जोड दिनु भएकाे थियाे ।
स्थायी समितिको अर्को बैठक पुस १ गते विहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।