भैरहवा समाचारदाता
भैरहवा, पुस ४ गते । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो समय ठूला आयोजना निर्माणको कामले गति लिन थालेको छ । तीन वर्षभित्र गुरुयोजना अनुसारका काम सम्पन्न गर्ने उद्देश्यअनुरुप आयोजना निर्माणका काम तीव्र पारिएको हो ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार कतिपय आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनीमा पाँच हजार मानिस अट्ने सम्मेलन तथा मेडिटेसन सेन्टर निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आगामी बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि सम्मेलन केन्द्र निर्माण भइरहेको हो ।
भट्टराईका अनुसार केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणको काम तीव्र गतिमा भइरहेका कारण आउँदो बुद्ध जयन्ती यही सम्मेलन केन्द्रमा गर्ने कोषको तयारी छ । आठ हजार पाँच सय वर्गफिटमा निर्माण भइरहेको सम्मेलन केन्द्र ३१ करोड ८९ लाख ९५ हजारको लागतमा बन्न लागेको हो । दोस्रो चरणअन्तर्गतको शौचालय, सौन्दर्यीकरणलगायतका कामका लागि डिजाइन तयार हुँदै गरेको सदस्य–सचिव भट्टराईको भनाइ छ ।
त्यस्तै लुम्बिनीको अर्को महìवपूर्ण ठूलो आयोजनाअन्तर्गत सबै संरचनालाई आवश्यक पर्ने बिजुली व्यवस्थापनको काम पुस मसान्तसम्म सक्ने गरी अगाडि बढेको कोषले जनाएको छ । हालसम्म बिजुली व्यवस्थापनको काम ९५ प्रतिशत सकिएको कोषको दाबी छ । यो काम सम्पन्न भएपछि लुम्बिनीमा आफ्नै बिजुलीको व्यवस्था हुनेछ । त्यसका लागि ५० किलोमिटर गुणस्तरीय केबुल लाग्नेछ ।
उक्त तार जडानका लागि पोल निर्माणको काम सकिएको छ । लुम्बिनीभित्र ५८० वटा सोलार, मायादेवी मन्दिर वरिपरि ३३३ वटा विशेष किसिमको गार्डेन लगाउने काम सुरु भएको छ । त्यसका लागि तार, पोल, सिस्टम तथा ट्रान्सफर्मर राख्ने काम सुरु भएको छ । त्यसपछि लुम्बिनीमा बिजुलीको समस्या हट्ने छ भने लुम्बिनीमा बाङ्गिएका, खिइएका तार, पोल सबै हट्ने छन् । बिजुली व्यवस्थापनको काम २६ करोड २८ लाख ६६ हजारको लागतमा हुँदैछ ।
गुरुयोजना क्षेत्रभित्र अप्टिकल फाइबर भूमिगतरूपमा बिच्छ्याउने तथा डाटा सेन्टर राख्ने काम पनि तीव्ररूपमा अगाडि बढेको छ । लुम्बिनीलाई सूचना प्रविधिमा पनि अब्बल बनाउन १७५ वटा अत्याधुनिक सीसीटीभी जडान अन्तिम चरणमा पुगेको कोषका सदस्य सचिव भट्टराईले बताउनुभयो ।
गुरुयोजनाका चारवटा विभिन्न स्थानमा ठूलो डिस्प्ले राख्ने काम अन्तिम चरणमा रहेको छ । लुम्बिनीमा ६० हजार मानिसले वाईफाई चलाउन सक्ने गरी प्रविधि जडानको काम सुरु भएको छ । त्यसका लागि डाटा किन्ने प्रक्रिया अगाडि बढेको कोषले जनाएको छ । ९० प्रतिशत काम सम्पन्न भएको उक्त आयोजनाको लागत २५ करोड ६४ लाख ३७ हजार छ ।
लुम्बिनीमा व्यवस्थित खानेपानीका लागि एक लाख ५० हजार लिटर अट्ने वाटर टावर निर्माणको काम सकिएको छ । २१ करोड ९३ लाख २३ हजारको लागतमा निर्माण सम्पन्न उक्त टावर सञ्चालनमा आएपछि लुम्बिनीमा खानेपानीको कुनै पनि समस्या पर्ने छैन । त्यस्तै लुम्बिनीभित्र अन्य साना आयोजनाको काम पनि तीव्ररूपमा अगाडि बढेकाले तीन वर्षभित्रमा गुरुयोजना अनुसारका काम सकिने कोषले
दाबी गरेको छ ।
गुरुयोजनाअन्तर्गत पवित्र उद्यानका चारवटा गोलाई पोखरी निर्माणको काम सकिएको छ । ४२ वटा प्लट निर्माण गरी केहीमा बगैँचा निर्माणको काम सकिएको छ भने केन्द्रीय नहर, वाटर टावर र वाटर सप्लाई सिस्टमको काम पनि सकिएको छ ।