logo
२०८२ असार ८ आईतवार



नेपालगञ्ज नाका: घट्दै व्यापार घाटा

मुख्य समाचार |


नेपालगञ्ज नाका: घट्दै व्यापार घाटा


नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, पुस ५ गते । नेपालगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा व्यापार घाटा गत आर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिकको तुलनामा झण्डै डेढ अर्बभन्दा बढीले घटेको छ ।
सरकारले आयात घटाउने र निर्यात बढाउने नीति लिएकोले यस वर्षको पहिलो चौमासिकमा गत आर्थिक वर्षको पहिलो चौमासिकभन्दा एक अर्ब ५२ करोड रुपियाँको व्यापार घाटा कम भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा १६ अर्ब २२ करोड ६६ लाख ८४ हजार रुपियाँको सामग्री आयात भएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ५० करोड ६० लाखको सामान आयात भएको थियो ।
यो वर्षको पहिलो चौमासिकमा दुई अर्ब २८ करोड रुपियाँको आयात घटेकोले व्यापार घाटा पनि कम भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताउनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालगञ्ज नाका भएर १६ अर्ब २२ करोड ६६ लाख ८४ हजार रुपियाँको सामग्री आयात गरिएको छ भने ३५ करोड ६२ लाख ९५ हजार रुपियाँको मात्र निर्यात गरिँदा १५ अर्ब ८७ करोड तीन लाख व्यापार घाटा भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ५० करोड ६० लाख बराबरको सामग्री आयात भएकोमा ६१ करोडको निर्यात भएकोले १७ अर्ब ३९ करोडको व्यापार घाटा भएको थियो । यो वर्षको पहिलो चौमासिकमा एक अर्ब ५२ करोड व्यापार घाटा कम भएको भन्सार प्रमुख निरौलाले बताउनुभयो । लामो समयसम्म रोकिएको जडीबुटीको निर्यात यही मङ्सिर महिनाबाट फेरि सुरु भएकोले दोस्रो चौमासिकमा निर्यात झनै बढ्ने र व्यापार घाटा अझै कम हुने आशा गरिएको उहाँले बताउनुभयो । नेपालबाट जडीबुटी, रोजिन, टर्पेन्टाइन, वनस्पति उत्पादन, नौनी, घिउ, राँगाको मासु, खनिज र पिना, अदुवा, सुठोलगायत मसलाजन्य वस्तुको भारतलगायत तेस्रो देशमा निर्यात हुने गरेको भन्सार प्रमुख निरौलाले बताउनुभयो ।
उहाँका अनुसार यसैगरी भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, कपडा, गाडी तथा मेसिनरी सामान सबैभन्दा बढी आयात हुने गरेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा सामान आयात गर्न नौ हजारभन्दा बढीले प्रज्ञापनपत्र लिएका छन् तर नेपालबाट भारततmर्प सामान पठाउनका लागि केबल पाँच सय जतिले मात्र प्रज्ञापनपत्र लिएका छन् तर पनि यस वर्ष विगतको तुलनामा आयात भने घट्दै गएको देखिनु नै निकै सकारात्मक भएको भन्सार प्रमुख निरौलाले बताउनुभयो । भारतले जडीबुटी निकासीलाई सहज बनाएपछि मङ्सिर महिनादेखि बढ्ने र यसले यस क्षेत्रको व्यापार घाटालाई अझै कम गर्ने नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?