यलु जोशी
काठमाडौँ, पुस ८ गते । जाडोको मौसममा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै चिकित्सकले हेरचाहमा बढी ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन् । भविष्यमा समेत बालबालिकालाई निरोगी बनाउन अहिलेदेखि नै उनीहरूको खानपिन तथा स्याहारसुसारमा उचित ध्यान दिनुपर्दछ ।
जाडोयाम बालबालिकाका लागि सबैभन्दा संवेदनशील मौसम हो । बालबालिकालाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या देखिने हुँदा विशेष हेरचाह गर्नुपर्ने सल्लाह चिकित्सकको छ । विशेषगरी पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वासजन्य रोगले सताउने बालरोग विशेषज्ञ डा. जुन डङ्गोलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच महिनापछि बालबालिका बाहिरी वातावरणमा रमाउन थाल्छन् तर उनीहरू बाहिरी वातावरणमा घुलमिल हुन सक्दैनन् । यसैकारण बालबालिकालाई विभिन्न समस्या देखा पर्न सक्छ । छ महिनाभन्दा कम उमेरका बालबालिकाको बढी नै हेरचाह गरिनुपर्ने, आमाको दूध मात्र खाने र बाहिरी वातावरणमा नजाने हुँदा उनीहरूमा धेरै समस्या नदेखिने डा. डङ्गोलको भनाइ छ ।
यता पोषणविद् अरुणा उप्रेती भन्नुहुन्छ, “चिसो मौसमका कारण अधिकांश बालबालिका बिरामी पर्छन् । हामीले जाडोमा अझ उनीहरूको उचित ख्याल राख्नुपर्दछ ।” उहाँ जाडोमा रुघाखोकी, ज्वरो, घ्यारघ्यार हुने, हातगोडा फुट्ने र टाउको दुख्नेजस्ता समस्या हुने भएकाले अभिभावकहरूले राम्ररी रेखदेख गर्नुपर्ने सुझाव दिनुहुन्छ । बालबालिकामा चिसो मौसमका कारण कुनै पनि किसिमका शारीरिक समस्या देखा नपरोस् भन्नका निमित्त बच्चाले लगाउने कपडादेखि खाने खानामा समेत विशेष ध्यान दिनुपर्ने डा. उप्रेतीको जोड छ । उहाँले बालबालिकालाई पुरानो तरिकाकै लुगाजस्तै तीनपत्रे भोटो, टोपी र मोजा लगाइदिनुपर्ने सुझाव दिनुहुन्छ ।
डा. डङ्गोलको पनि भनाइ फरक छैन । उहाँ भन्नुहुन्छ, “जाडोको बेलामा बालबालिकालाई चिसो नलागोस् भनेर अभिभावकले धेरै लुगा लगाइदिने गर्छन् । यसले बालबालिकालाई न्यानोभन्दा थप समस्या ल्याउनसक्छ । धेरै लुगा लगाइदिँदा बालबालिकालाई पसिना आउनसक्छ र उक्त पसिना शरीरमा नै सुकेपछि उनीहरूलाई चिसो लाग्छ, जसले रुघाखोकी, निमोनियाजस्ता समस्याले सताउन सक्छ । बाक्लो लुगा लगाइदिएको अवस्थामा बेलाबेलामा पसिना आए÷नआएको हेर्नुपर्छ ।”
“बालबालिकालाई न्यानो होस् भन्नका लागि कपास भएको लुगा पनि लगाइदिने गरिन्छ, त्यसले पसिना सोस्छ र कपडा चिसो नै रहिरहन्छ । त्यसैले यस प्रकारको भन्दा सुतीको तीनपत्रे गरी सिलाइएको लुगा उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो । बालबालिकालाई जाडो मौसममा बिहानीपखको घाममा सुताउने गर्नुपर्ने सुझाव दिँदै उहाँ भन्नुहुन्छ, “दिनको १२ बजे अगाडिको घाममा सुताउँदा बालबालिकाको शरीरलाई आवश्यक पर्ने भिटामिन ‘डी’ पर्याप्त मात्रामा पुग्छ । घाममा सुताइरहेको अवस्थामा शुद्ध तोरीको तेल, नरिबलको तेल वा घ्युकुमारीको तेलले मालिस गरिदिनु राम्रो हुन्छ तर बालबालिकालाई तेल लगाउँदा कान, नाक, नाइटोमा भने लगाउनु नहुने जसले सङ्क्रमण निम्त्याउन सक्छ ।”
डा. उप्रेती भन्नुहुन्छ, “शरीरलाई तातो बनाउने नाममा ज्यान नै गुम्सिने गरी कपडा लगाइदिनुपर्छ भन्ने मान्यता गलत हो तर भोटो लगाउँदा यसले विशेषगरी बालबालिकाको छातीमा सीधै हावा पस्न रोक्ने भएकाले यस समयमा बालबालिकालाई सकेसम्म भोटो लगाइदिन एकदमै उपयुक्त मानिन्छ । “शरीर न्यानो भइराखोस् भन्नका निमित्त उनीहरूलाई तातो खाना मात्र खान दिनुपर्छ । घ्यू, चाकु तथा तिलले शरीरमा ऊर्जा प्रदान गर्ने भएकाले आफ्ना बालबालिकाको खानामा यस्ता आहाराहरूको समावेश अनिवार्य रूपमा गराउनुपर्दछ, बालबालिकालाई चियाभन्दा पनि विशेष रूपमा तातोपानी र बेसार, अदुवा, ज्वानोमिश्रित सुप खुवाउनुपर्दछ,” उहाँको सुझाव छ ।
बालबालिकालाई आवश्यक भिटामिन ‘डी’ घामबाटै मिल्ने भएकाले साना बालबालिकालार्ई घाममा राखेर तेल लगाइदिने र खेल्न दिनुपर्दछ । बच्चा बस्ने र सुत्ने कोठा सधैँ हावा खेल्ने तर न्यानो बनाएर राख्नुपर्ने जानकारी दिँदै डा. उप्रेतीले मौसमअनुसार पाइने फलफूललाई तातोपानीले पखालेर नियमित खुवाउने गर्नुपर्ने बताउनुभयो । बालबालिकामा घ्यारघ्यार हुने तथा ज्वरो आउनेजस्ता समस्या देखा परेको खण्डमा कतिपय अभिभावक ‘एन्टिबायोटिक’ औषधिसमेत खुवाइहाल्ने गरेका छन् । उहाँले भन्नुभयो,
“यसले गर्दा बालबालिकालाई पछि गएर विभिन्न किसिमका समस्यासमेत देखापर्न सक्छ, हामीले सकेसम्म चिसो नलागोस् भन्नेमा ध्यान दिनुपर्छ ।”
विशेषगरी बालबालिकाको टाउको र खुट्टालाई न्यायो बनाई राख्नुपर्दछ । यस्तै रुघाखोकी लागेको समयमा मह र अदुवाको रसले पनि फाइदा गर्ने भएकाले उक्त घरेलु औषधिको पनि प्रयोग गर्न सकिने डा. उप्रेतीको आग्रह छ । आयुर्वेदिक चिकित्सक डा. अमितमान जोशी भन्नुहुन्छ, “अभिभावकले बालबालिकालाई रुघाखोकी लाग्छ भनेर लामो समयसम्म नुहाई दिँदैनन् । यो बालबालिकाको स्वास्थ्यका लागि झन् घातक हुन्छ । बालबालिकाको नियमित सरसफाइ गर्ने गरिएको छ भने जति पटक नुहाउँदा पनि रुघाखोकी लाग्ने सम्भावना हुँदैन ।” उहाँले सानो हुँदा कम नुहाइदिने गरिएको छ भने पछिसम्म पनि नुहाउँदा समस्या देखिने प्रस्ट पार्दै बा(लबालिकाको नियमित सरसफाइ गरिएन भने विभिन्न खालका खटिराजन्य सङ्क्रमण पनि हुनसक्ने बताउनुभयो ।