logo
२०८१ मंसिर १२ बुधवार



कान्ति लोकपथ कालोपत्रे गरिँदै

मुख्य समाचार |


कान्ति लोकपथ कालोपत्रे गरिँदै


भउचप्रसाद यादव

ललितपुर, पुस १० गते । सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ ।
कुल लम्बाइ ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको कान्ति लोकपथ सडक योजनाले जनाएको छ । सो सडक योजनाका अनुसार बाँकी रहेको पाँच किलोमिटरको कालोपत्रे तथा ‘रिटेनिङ वाल’ निर्माण लगायतका काम अर्को आर्थिक वर्षमा गरिने छ ।
आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने भनिएका पाँच किलोमिटरमध्ये अधिकांश ठाउँ भूगर्भिक दृष्टिकोणले अति नै कमजोर र पहिरोग्रस्त क्षेत्र रहेको हुनाले कालोपत्रे गर्न त्यति सहज नरहेको उहाँले स्पष्ट पार्नुभयो । यस वर्षको वर्षायाममा यस सडकको ३० ठाउँमा पहिरो गएको थियो ।
सो सडक योजनाका अनुसार ललितपुरको तीनपाने, नयाँ गाउँ, झाँक्रीडाँडा, हुपेली काल्चेभीर,। तामाखानीमा र मकवानपुरको प्रतापडाँडा, ढिङ्गान, मकवानपुरगढीमा प्रत्येक दुई÷तीन सय मिटरमा पहिरो गएको थियो । कान्ति लोकपथ सडक योजनाका प्रमुख विनोद सापकोटाले कुल ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको बताउँदै आगामी आर्थिक वर्षभित्र कालोपत्रे गर्नेसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरिने जानकारी दिनुभयो ।
काठमाडौँतिर यस सडकको जिरो किलोमिटर टीकाभैरव र हेटौँडातिर यसको जिरो किलोमिटर हेटाँैडाको बुद्धचोक रहेको छ । ललितपुरको टीकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म यस सडकको कुल लम्बाइ ७९ किलोमिटर रहेको छ । सामान्य अवस्थामा यस सडकको चौडाइ दुई लेनको रहे पनि भौगोलिक रूपले साँघुरो भएको ठाउँमा यसको चौडाइ ‘इन्टरमिडियट साइज’को अर्थात् ‘डबल लेन’ र ‘सिङ्गल लेन’को बीचमा रहने जानकारी कान्ति लोकपथ सडक योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले दिनुभयो ।
सडकको कुल ७९ किलोमिटरमा मकवानपुरतर्फको ५१ किलोमिटरमध्ये ३० किलोमिटर कालोपत्रे भइसकेको जानकारी उहाँले दिनुभयो । जिरो किलोमिटरदेखि ३० किलोमिटरसम्म कालोपत्रे गरिएको हो । त्यसैगरी ललितपुरतर्फ विभिन्न खण्डमा १५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा ललितपुरमा बाँकी रहेका दुई किलोमिटर सडकको चौडा गर्ने कामसमेत सम्पन्न गर्ने जानकारीसमेत उहाँले दिनुभयो । अबको तीन महिनाभित्र सो सडकको चौडा गर्ने कार्य सम्पन्न हुने योजनाको दाबी छ ।
हेटौँडाको बुद्धचोकदेखि मकवानपुरगढीसम्मको दूरी १५ किलोमिटर, मकवानपुरगढीदेखि बगुवासम्मको दूरी ३६ किलोमिटर र बगुवादेखि टीका भैरवसम्मको दूरी २८ किलोमिटर रहेको छ । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टीका भैरवसम्मको सडक कान्ति लोकपथ सडक योजनाले हेर्ने गर्दछ भने टीका भैरवदेखि सातदोबाटोसम्मको दस किलोमिटर सडक उपत्यका सडक विस्तार आयोजनाले हेर्ने गर्दछ ।
गत आर्थिक वर्षदेखि यस सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरी टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म गरिएको छ । यस सडकमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ५१ किलोमिटर पर्छ । यो सडक निर्माणको कुल लागत तीन अर्ब ३५ करोड रुपियाँ रहेकोमा अहिलेसम्म दुई अर्ब २० करोड रुपियाँ खर्च भइसकेको सो आयोजनाले जनाएको छ ।
नयाँ संविधानअनुसार राष्ट्रिय राजमार्गहरू सङ्घीय सरकारको र सहायक राजमार्गहरू प्रदेश सरकार मातहत रहने व्यवस्था गारिएबमोजिम अहिले मुलुकभरि राष्ट्रिय राजमार्गको सङ्ख्या ८० वटा रहेका छन् । कान्ति लोकपथ सडक पनि राष्ट्रिय राजमार्गअन्तर्गत नै रहेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?