गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १४ गते । वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पार्नुभएको छ । आइतबार गोरखापत्रको साप्ताहिक संवाद कार्यक्रममा उहाँले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताउनुभयो । विकासको काम गर्दा केही विनाश हुन्छ, उहाँले भन्नुभयो, अति कम वातावरणीय क्षतिसहित निजगढ बनाउनुपर्छ भन्नेमा सरकार सचेत छ ।
वातावरण संरक्षणमा सरकार निकै गम्भीर रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । जलवायु परिवर्तनबारे विश्वकै ध्यान आकर्षित गर्ने कालापत्थर बैठकदेखि गैँडाको जिरो पोचिङको अवस्थासम्म पु¥याउने काम सरकारकै कारण भएको हो, उहाँले भन्नुभयो । निजगढमा विमानस्थल निर्माण गर्दा त्यसबाट हुनसक्ने क्षतिपूर्ति गर्न वैकल्पिक व्यवस्था गरेर मात्र अगाडि बढिने पनि उहाँले बताउनुभयो ।
निजगढमा विमानस्थल बनाउनका लागि छुट्याइएको एक हजार नौ सय हेक्टर क्षेत्रफलमा कटानी हुने रुखका बारेमा वन मन्त्रालयसँग छलफल गरेर अगाडि बढिने पनि उहाँले बताउनुभयो । रुख कटानीसम्बन्धी प्रस्ताव अहिले मन्त्रिपरिषद्अन्तर्गतको समितिमा छलफलमा रहेकाले त्यसबाट आउने निष्कर्षबाटै निर्माण सुरु हुने उहाँले जानकारी दिनुभयो तर अहिले भनेजस्तो २४ लाख नै रुख काट्ने भन्ने चाहिँ होइन, उहाँले भन्नुभयो, त्योभन्दा न्यूनतम रुख काटेर तोकिएको क्षेत्रमा विमानस्थल बन्छ ।’
टर्कीमा विश्वकै ठूलो विमानस्थल बनाउँदा पनि लाखौँ रुख काट्नुपरेको उदाहरण दिँदै नेपालमा भने यसबारे अनेक अफवाह फैलाइएको उहाँको चासो थियो । चीनमा विश्वकै ठूलो जलविद्युत् परियोजना बनाउँदा पनि वातावरणीय क्षति भयो तर त्यहाँ यसरी कुरा आएन, उहाँले भन्नुभयो । विकास र विनाशसँगै हुने भएकाले त्यसको क्षति न्यूनीकरणमा सरकारले ध्यान पु¥याउने उहाँले बताउनुभयो ।
भैरहवाको निर्माण लम्बिने
लक्ष्यअनुसार यही डिसेम्बरभित्र निर्माण पूरा गर्नुपर्ने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तीन महिना लम्बिने भएको छ । उपकरण आयातमा भएको ढिलाइका कारण निर्माण कम्पनी नर्थ वेस्ट सीभीएल एभिएसनले समयमै काम पूरा गर्न नसकिने जानकारी विमानस्थल आयोजना कार्यालयलाई गराएको थियो । सोहीअनुसार कार्यालयले गत बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेको थियो । सन् २०१८ मै सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणवश अहिले पूरा हुने अवस्था नजिक पुगेकाले अब जसरी पनि निर्माणको काम अगाडि बढाइने मन्त्री भट्टराईले जानकारी दिनुभयो । यो आयोजना यहाँसम्म आयो त्यही नै ठूलो कुरा हो, उहाँले भन्नुभयो, थोरै समय थपेर भए पनि यसलाई पूरा गर्छौं ।
आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार उपकरण आउने सुनिश्चितता भएकाले निर्माण समय थप्न प्राधिकरणलाई पत्र लेखिएको जानकारी दिनुभयो । यस विषयमा अहिले छलफल भएर निर्माण अवधि थप्ने सम्भावना देखिएको उहाँले बताउनुभयो । तीन महिना थपिए पनि मार्चको अन्तिमसम्म विमानस्थल करिब सञ्चालनयोग्य बन्ने उहाँको भनाइ छ । विमानस्थलमा उपकरण जडानको करिब १० प्रतिशत र बाँकी पाँच प्रतिशत काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।