logo
२०८१ मंसिर ९ आईतवार



भान्सा सुरक्षा: सानो होशियारी, ठूलो जोखिमबाट बचाउँछ

मुख्य समाचार |


भान्सा सुरक्षा: सानो होशियारी, ठूलो जोखिमबाट बचाउँछ


यलु जोशी

काठमाडौँ, पुस १४ गते । सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ ।
बालाजुकी एक गृहिणी रुजा आचार्यले तरकारी पकाउन प्रेसरकुकरमा तेल हाल्नुभयो । त्यही समयमा श्रीमान्को फोन आएपछि उहाँ त्यसैमा व्यस्त हुनुभयो । भान्छामा त तेल डढेर आगो बल्न थालिसकेछ । हतारहतार आगो निभाउन कपडाले हान्नुभयो तर आफूतिर नै आयो, त्यही समय घरमा पालेको कुकुरले नतानेको भए त्यहाँ जे पनि हुन सक्थ्यो ।
आचार्य भन्नुहुन्छ, “आगो लाग्दा केही वस्तुले हानेर आगो निभाउन खोज्नु गल्ती रहेछ । पछि ग्यासको रेगुलेटरको स्विच बन्द गरेँ । आगो निभ्यो तर नयाँ प्रेसरकुकर डढेर कालो बन्यो । सामान्य कुरामा ध्यान नदिँदा झन्डै ठूलो दुर्घटना भयो ।” यस्तै अर्को घटना बसुन्धराकी गृहिणी सुशीला पन्तले व्यहोर्नु प¥यो । उहाँ दूध तताउँदै बच्चालाई पढाउन थाल्नुभएको थियो । भान्छाको काम बिर्सनुभयो । त्यसैबेला दूध उम्लेर भाँडा पूरै कालो भइसकेको थियो । उहाँ भन्नुहुन्छ, “हतारहतार पानी छ्यापँे तर ग्यास भने निभाउन भुलेछु । ग्यास चुलो पानीले निभेका कारण पत्तो नै भएन । सानो छोराले ग्यासको रेगुलेटर बन्द गरेर सबै झ्यालढोका खोलेपछि ग्यासको गन्ध अलि हरायो ।”
यस्ता घटना त उदाहरण मात्रै हुन् । यस प्रकारका घटना दैनिकजस्तो हरेक घरमा भई नै रहेको पाइन्छ । धर्मपथस्थित जुद्ध वारुणयन्त्रका इन्चार्ज लीलाराज गाच्छाले भान्छामा हुने सानो घटनाका कारण नै ठूलो हुने बताउनुभयो । ग्यास लिकेज तथा बिजुली सर्ट भएर नै बढी आगो लाग्ने गर्छ । सानो हुँदा नै सामान्य सुरक्षा अपनाउन सकेको खण्डमा धेरै धनजनको क्षतिबाट रोकथाम हुन्छ ।
गाच्छा थप्नुहुन्छ, “आगोका स्रोतहरू कहाँ छन्, त्यो पत्ता लगाउनुपर्छ । भान्छा भन्नेबित्तिकै आगोसँग सम्बन्ध हुन्छ । विद्युतीय वा ग्यास उपयोगी वस्तु हुन्, जसको माध्यमबाट नै सम्पूर्ण खाना पाक्ने हो ।”
गाच्छाले भन्नुभयो, “ग्यास वा विद्युतीय साधन प्रयोग गर्न जान्यौँ भने धेरै सुविधा दिन्छ तर प्रयोग गर्न जानेनाँै भने त्यसले क्षति निम्त्याउँछ । आगो लागिहाल्यो भने पानीले निभाउने भन्ने हाम्रो धारणा छ, विद्युतीय सामान जस्तै राइसकुकर, इन्डक्सनजस्ता सामानमा सर्ट भएको खण्डमा पानी प्रयोग ग¥यो भने झन् ठूलो क्षति हुन्छ ।”
यस्तो अवस्थामा कहाँबाट सर्ट भएको हो, त्यो जान्नुपर्छ र विद्युत्को मुख्य स्विच बन्द गर्न र ग्यास लिकेज हुँदा पनि पानी प्रयोग नगर्न उहाँको सुझाव छ । ग्यासबाट हुने आगलागीमा पानीले निभ्दैन, यस्तो अवस्थामा ‘फायर ब्लाङकेटिङ’ प्रयोग गर्नुपर्छ ।
भान्छामा खाना पकाउन जाँदा सकेसम्म आगोले तुरुन्तै टिप्ने लुगा प्रयोग गर्नुहुँदैन । ग्यास लिकेज भएको हो भने सामान्य तन्नाको माध्यमबाट निभाउन सकिन्छ । लिकेज भएको सिलिन्डर कहिले पनि पड्किँदैन, त्यसैले त्यसलाई प्लास्टिकको बाल्टिनले छोप्नुपर्छ, जसले गर्दा अरू ठाउँमा आगोले टिप्न सक्दैन । यता जलेको शरीर उपचार गर्ने चिकित्सक (ब्रन विशेषज्ञ) डा. ईश्वर लोहनीले भन्नुभयो, “बिजुली त पुग्यो तर बिजुलीसम्बन्धी ज्ञान पुग्न सकेन । घरायसी कामकाजमा सबैभन्दा धेरै बिजुली प्रयोग गर्ने महिला नै हुन्छन् । अधिकांश समय महिलाको हात चिसो हुने, भान्छामा काम गर्नुपर्ने भएकाले धेरैजसो समय खाली खुट्टा हुने, खाना पकाउने, पानी तान्ने, आइरन गर्ने काममा महिलाले अधिकांश समय बिताउने भएकाले यस्तो अवस्थामा करेन्ट लाग्ने सम्भावना पनि त्यतिकै
बढी हुन्छ ।
विद्युत्सम्बन्धी ज्ञानको कमीले सुरक्षित किसिमले बिजुलीबाट लिन सकिने अवसर र फाइदाबारे पनि महिला समुदाय अझ धेरै पछि छन् । त्यसकारण विद्युतीय सुरक्षा, जोखिम न्यूनीकरण, क्षतिपूर्ति र विद्युत्को उत्पादनमूलक उपयोगको विषय अब राज्यको प्राथमिकतामा पर्नु आवश्यक छ, डा. लोहनीले भन्नुभयो, “आगो लागेर दिनको एउटा घटना जस्तै आइरहेको हुन्छ ।”
कीर्तिपुर मोडेल हस्पिटलका निर्देशक डा. शङ्कर राईले भन्नुभयो, “सहरमा बस्नेहरूका लागि सबैभन्दा पिरलो बन्ने गरेको छ– खाना पकाउने ग्यास । हरेक घरघर र कोठाकोठामा ग्यास जम्मा गरेर राख्ने गर्छन्, जुन धेरै खतराको विषय हो ।”
उहाँले गत वर्ष ६०८ जना आगोले जलेर उपचारका लागि आएको जानकारी दिनुभयो । जसमा करेन्ट लागेर, आगो ताप्दा वा ग्यास लिकेज भएर आएको घटना छ । नापतौल गुणस्तरीय विभागका प्रमुख विश्वबाबु पुडासैनीले एलपीजी ग्यासको सिलिन्डर पड्किनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमुख कारण रहेको जानकारी दिनुभयो ।
उहाँले सिलिन्डर जथाभावी प्रयोग गर्ने, रेगुलेटर तथा चुलो राम्रोसँग बन्द नगर्नेजस्ता कारणले खाना पकाउने ग्यास कहिलेकाहीँ पड्किने गरेको बताउनुभयो । पुडासैनीका अनुसार कमसल तथा गुणस्तर प्रमाणित नभएका चुलो, रेगुलेटर, रबर पाइपजस्ता उपकरणका कारण पनि त्यस्ता घटना हुने गरेको पाइएको छ । सिलिन्डरलाई लामो समयसम्म बिनाप्रयोग राख्नेजस्ता कार्यले सुरक्षाको जोखिम निम्त्याउन सक्छ । हामीकहाँ ग्यास स्टकमा राख्ने प्रवृत्ति छ । उहाँले थप्नुभयो, कैयौँ वर्षसम्म त्यसरी स्टकमा रहिरहने तर प्रयोगमा नआउँदासमेत त्यसले जोखिम बढाउने गर्छ ।

ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
पुडासैनी भन्नुहुन्छ, “सिलिन्डर ल्याउँदा गुडाउनु हुँदैन, सुतीको कपडा लगाएर मात्र खाना पकाउनुपर्छ । भार पर्ने गरी सिलिन्डरमाथि कुनै सामान राख्नु हँुदैन । एउटै भान्सामा दुईवटा सिलिन्डर सकेसम्म राख्नु हुँदैन ।” इन्चार्ज गाच्छाले भन्नुभयो, “एकातिर खाना पकाइरहँदा अर्को सिलिन्डरबाट ग्यास लिक भएमा त्यसबाट निकै जोखिम हुन्छ ।”
सकेसम्म सिलिन्डरलाई साइडमा आधार दिने गर्नुपर्छ, जसले गर्दा भुइँचालो जाँदा हुने कम्पनबाट सिलिन्डरमा कुनै हानि नहोस् । यस्तै पुडासैनीले सिलिन्डरभन्दा कम्तीमा छ इन्चमाथि ग्यास चुलो राख्नुपर्छ । कहिल्यै पनि चुलोभन्दा सिलिन्डर माथि राख्नु हुँदैन । त्यस्तै ग्यासको रबर पाइप १.५ देखि २ मिटरभन्दा लामो हुनुहुँदैन ।
सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुपर्छ । त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिन्डरको छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ । सिलिन्डरबाटै लिक भएको भए चुलो, लाइटर, धूप तथा कोठाको बिजुली बत्ती निभाउनुपर्छ । रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ । सिलिन्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कस्नुपर्छ भने खाना बनाइसकेपछि बन्द गर्नुपर्छ ।

सिलिन्डरको म्याद थाहा पाउने उपाय
आफ्नो भान्सामा प्रयोग भएको सिलिन्डरको म्याद कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन् । सिलिन्डरको घाँटीमा भएका तीनवटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टि सिलिन्डरको म्यादलाई जनाउने गरी कोड राखिएको हुन्छ । सो कोडकै आधारमा सर्वसाधारणले सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् ।
यस्ता ग्यासको सुरुमा ए, बी, सी र डीमध्ये एउटा अक्षर लेखिएको हुन्छ । त्यसपछि १६, १७, २०, २२, २५ आदि अङ्कहरू लेखिएको हुन्छ । यसकै आधारमा सर्वसाधारणले सिलिन्डरको म्याद थाहा पाउन सक्छन् । ए, बी, सी र डीले अङ्ग्रेजीका क्रमशः तीन–तीन महिना जनाउँछ । ‘ए’ले जनवरी, फेब्रुअरी र मार्च महिना जनाउँछ भने ‘बी’ले अप्रिल, मे, जुन महिनालाई जनाउँछ । ‘सी’ले जुलाई, अगस्त र सेप्टेम्बर तथा ‘डी’ले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ ।
त्यस्तै अङ्ग्रेजी अक्षरपछि लेखिएको अङ्कले मिति जनाउँछ । जस्तै २० अङ्क लेखिएको भएमा त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नुपर्दछ । ‘बी २०’ लेखिएको सिलिन्डरको म्याद सन् २०२० को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ । यस हिसाबले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिन्डर १६ अङ्कभन्दा मुनिको हुनुहुँदैन ।
अहिलेको मितिलाई ‘ए १६’ले जनाउँदछ तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अङ्कसम्मका सिलिन्डर पाइन्छ । यसरी भान्सामा प्रयोग हुने सिलिन्डरको म्याद बुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउन सकिन्छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?