कैलाली समाचारदाता
धनगढी, पुस १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सात वटै प्रदेशमा एकीकृत कार्यालय स्थापना गरी सञ्चार क्षेत्रलाई दिने सम्पूर्ण सेवा सुविधाहरुले दिइने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ कैलालीको विहीबार भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेस काउन्सिल, सूचना तथा केन्द्र लगायतले दिने सेवा सुविधाहरु दिनका लागि मन्त्रालयले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको बताउनुभयो । उहाँले यसले गर्दा पत्रकारहरुलाई साना–साना कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, पत्रकारहरुले कसैप्रति आश्रित नहुने र आफ्नै सञ्चार माध्यमप्रति आश्रित हुने गरी स्वतन्त्र, सबल, बलसाली बनाउन आफू र आफ्नो टीम लागि परेको छ । कहिले काही पत्रकारहरुलाई हातमा भइकोे कलम तरवाल चलाएको जस्तो गर्नाले समस्या हुने गरेको बताउँदै सञ्चार क्षेत्रले चिनेका नेताको दवाव गराउन नपर्ने गरी कानून बनाइरहेको समेत बताउनुभयो । मिडियाले जे देख्छ, फ्याक्ट चेक गरेर लेख्छ, त्यसबेला मात्रै मिडिया स्वतन्त्र हुन्छ उहाँले बताउनुभयो ।
अब बन्ने समानुपातिक विज्ञापन नीतिले विज्ञापनका लागि मिडियालाई सामानुपातिक रुपमा विज्ञापन वितरण गर्ने मन्त्री बास्कोटाले बताउनुभयो । उहाँले दोहोरो सुविधा दिन नमिल्ने भएकाले लोककल्याणकारी विज्ञापन भने कटौती हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेशका पत्रकारलाई वित्तीय स्रोतको कम हुन नदिने बताउनुभयो । उहाँले संघीय सरकारले यसक्षेत्रका मिडियाका लागि वार्षिक दुई करोड रुपैयाँ दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । महासंघका जिल्ला अध्यक्ष जगत साउँदको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महासंघका जिल्ला उपाध्यक्ष टंक कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सञ्चालन जिल्ला सचिव मिन ठकुरीले गर्नुभएको थियो ।