logo
२०८१ मंसिर १३ बिहीवार



विमानस्थलमा बुद्धको प्रतिमा

मुख्य समाचार |


विमानस्थलमा बुद्धको प्रतिमा


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २० गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकले अब आउनेबित्तिकै बुद्धको जन्मभूमिमा स्वागत पाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरूप साजसज्जा र स्वरूप परिवर्तन गर्ने क्रममा स्थापना गरिएको बुद्धको प्रतिमासँगै बुद्धको देश नेपालमा स्वागत गरिएका शब्द पाउने भएका छन् ।
विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गर्नुभयो । करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत रु. ७० लाख रहेको र यसमा झन्डै २४ लाख रुपियाँ मूल्यको सुनको जलप लगाइएको छ । उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाउनुभएको हो । ‘वेलकम टु दी ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको बुद्धको प्रतिमा अनावरण गर्दै पर्यटनमन्त्री भट्टराईले बुद्धको प्रतिमाले विदेशी पर्यटकलाई विमानस्थलमा ओर्लेपछि बुद्धको देशमा प्रवेश गरेर आनन्दको महसुस गराउने बताउनुभयो ।
यात्रुको आवागनमा सहजै देखिने गरी बुद्धको प्रतिमा स्थापना गर्ने भन्ने योजना बनेअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको आगमन कक्ष सामुन्ने स्थापित गरेको र यसले छुट्टै आनन्दको महसुस गराउने उहाँले बताउनुभयो ।
बुद्धको प्रतिमामा अब कुनै पनि पर्यटकले बुद्धसँगै बसेर फोटो खिच्न सक्ने छन् सहज रूपमा अवलोकन गर्न पाउने छन् । बुद्धको प्रतिमा स्थापित भएसँगै विमानस्थललाई
सुन्दर बनाउने काम सुरु भएको पर्यटनमन्त्री भट्टराईले बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रूपान्तरण गर्ने बाँकी काम क्रमशः अघि बढाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो । अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्ने विभिन्न आइटममध्ये बुद्धको प्रतिमा एक महŒवपूर्ण पाटो हो ।
राससका अनुसार जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । जुन विदेशी पर्यटकका लागि ‘सेल्फी जोन’ बनेको छ ।
योसँगै अब बुद्धको प्रतिमा पर्यटकलाई सेल्फी खिच्ने मुख्य क्षेत्र बन्ने छ । विमानस्थलभित्र नेपाली मौलिक कला संस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने पर्यटनमन्त्रीको भनाइ थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुटिक एयरपोर्टको अवधारणाअनुरूप अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको अघिल्तिर ‘क्यानोपी’ राख्ने र यसले यात्रुलाई घामपानीमा सहज व्यवस्थापन गर्न सकिने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थलको भित्रीतर्फ मर्मतको कामका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको तथा आन्तरिक टर्मिनलतर्फ पनि प्रधानमन्त्रीको निर्देशनबमोजिम ‘परम्परागत मौलिकता झल्कने, आधुनिकता टल्कने’ गरी टेन्डर सम्पन्न भइसकेको छ । बाँकी काम छिट्टै सुरु हुँदैछ । करिब चार महिनाभित्र बुटिक एयरपोर्टको सम्पूर्ण काम सकिने महानिर्देशक पोखरेलले बताउनुभयो ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बुटिकको अवधारणाअनुरूप अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक कला र संस्कृतिसहित आधुनिक प्रविधियुक्त बनाउने कार्य भइरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाट पर्ने भएकाले विमानस्थलको रूप बदल्न लागि सरोकारवाला निकाय लागि परेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?