logo
२०८१ मंसिर १३ बिहीवार



‘सूचना पहुँचबाटै समृद्धि’

मुख्य समाचार |


‘सूचना पहुँचबाटै समृद्धि’



गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २३ गते । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारको संलग्नता र सहकार्य हुनुपर्ने बताउनुभएको छ । समृद्ध नेपाल बनाउन योजना निर्माण र कार्यान्वयनमा उहाँले जोड दिनुभएको छ । परिवर्तित प्रणालीअनुरूप नीति बनिनसक्दा चाहे जसरी कार्यान्वयनमा जान नसकिएको उहाँले चर्चा गर्नुभयो ।
राष्ट्रिय सरोकार तथा समन्वय समिति राष्ट्रिय सभा र जनसङ्ख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्च नेपालद्वारा मङ्गलबार आयोजित समावेशी विकास र समृद्धि विषयक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अभ्यास र आवश्यकताको अन्तरविरोधलाई चिर्दै विकास र समृद्धिका लागि अघि बढिरहेको दाबी गर्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “समृद्ध नेपाल, खुसी नेपाली अमूर्त नारा होइन, उत्पादन वृद्धि, रोजगारी, सीप विकास, स्वरोजगारबाट राष्ट्रिय पुँजी निर्माण गरी समाजवादमा जानका लागि हो, अहिले हामी यही विषयमा केन्द्रित छौँ । ” कृषि, उद्योग, ऊर्जा, पर्यटन र पूर्वाधारको विकास समृद्ध नेपाल खुसी नेपालीको आधार भएको उहाँको भनाइ छ ।
निर्वाहमुखी कृषि प्रणालीबाट आधुनिकीकरणमा जाने र जमिनमाथिको स्वामित्वलाई व्यवस्थित गर्ने अहिलेको आवश्यकता रहेको उहाँले चर्चा गर्नुभयो । त्यसका लागि विकासमैत्री सरकारी नीति र वातावरण, सहकारी र निजीबीच सहकार्य र सहभागिता, मिहिनेती जनता र जनसहभागिता, इमानदार कर्मचारीको आवश्यकता रहेको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो ।
पुँजी र भूमिभन्दा ज्ञानकोे बजार ठूलो
अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी र भूमिभन्दा ज्ञानको माध्यमबाट हुने समृद्धिको बजार निकै ठूलो रहेको बताउनुभएको छ । सोही कार्यक्रममा समावेशी विकास र समृद्धि, राज्यको नीति, सङ्कल्प र वर्तमान अवस्थाका बारेमा बोल्दै उहाँले भन्नुभयो, “अहिले शक्तिको ठूलो माध्यम भनेको सूचना प्रविधि हो, सूचना प्रविधिको प्रयोगमा कुनै समुदाय वञ्चितिमा पर्न नदिनेतर्फ सचेत हुनुपर्छ, जति नै विकास हासिल भए पनि लैङ्गिक समावेशीका हिसाबले प्रश्न उठ्ने ठाउँ रहन्छ भने त्यसलाई समृद्धि मान्न सकिन्न । ”
समृद्धिको आधारभूत तत्व समावेशी विकास भएको उहाँको दाबी छ । अर्थमन्त्री खतिवडाले भन्नुभयो, “अन्तर्राष्ट्रिय जगत्ले नेपालको लोकतान्त्रिक परिपाटीको माध्यमबाट अपनाइएका विकासका प्रणाली, आर्थिक विकासका नीति, स्वरूप र रणनीतिलाई सहर्ष स्वीकार गरेका छन् । ”
उहाँका अनुसार अन्तर्राष्ट्रिय परिवेश नेपालका लागि ठीक छ, आन्तरिक रूपमा राजनीतिक स्थिरता छ, विकासका सरोकारवाला पक्षबीच सहकार्य छ । उहाँले भन्नुभयो, “कुनै वर्ग, समुदाय र क्षेत्र विकासबाट बाहिर परे भन्ने स्थिति आउन दिनु भएन, यसलाई अघि बढाउने चालक भनेको राजनीतिक प्रणाली पद्धति र बाटो हो । ”
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकले अल्पविकसितबाट विकासशील राष्ट्रमा जाने आधार पार गरिसकेको बताउनुभयो । मुलुक सङ्घीयतामा प्रवेश गरेपछि उत्पन्न बेथितिलाई घटाउँदै विकास
सम्भावनालाई प्रोत्साहित गर्दै समृद्धिको यात्रा अघि बढेको उहाँको भनाइ छ ।
वाग्लेले भन्नुभयो, “हामीले भएको पानीको संरक्षण, भूआकर्षणको प्रचारप्रसार, सहुलियतपूर्ण आर्थिक सहायतामा पूर्वाधार निर्माण कम मूल्यमा गुणस्तरीय कृषि उत्पादनमा जोड दिन आवश्यक छ । ”
जनसङ्ख्या र विकासका लागि सांसदको राष्ट्रिय मञ्चका सदस्य एवं सांसद बद्रीप्रसाद पाण्डेले राजनीतिक स्थिरता कायम भएकाले विकासका लागि अनुकूलता भएको र पक्ष
प्रतिपक्षको मानसिकता र पूर्वाग्रहबाट माथि उठेर समावेशी विकासको अवधारणालाई कार्यान्वयनमा जोड
दिनुपर्ने बताउनुभयो ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर वडले सङ्घीयताको माध्यमबाट समावेशी विकास र समृद्धिको बाटोमा अघि बढिरहेको नेपाललाई अस्ट्रेलियाले सहयोग पु¥याउँदै आएको बताउनुभयो । सो अवसरमा समितिका सभापति दिलकुमारी थापाले पनि मन्तव्य राख्नुभएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?