logo
२०८१ मंसिर १३ बिहीवार



राष्ट्रिय सभा सदस्य निर्वाचन : नेकपालाई सहज बाँकीलाई फलामको च्यूरा

मुख्य समाचार |


राष्ट्रिय सभा सदस्य निर्वाचन :  नेकपालाई सहज बाँकीलाई फलामको च्यूरा


नारद गौतम

काठमाडौँ, पुस २४ गते । आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा अचम्म भएन भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विजय पक्का छ भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सान्त्वना स्थान प्राप्त गर्ने छ ।
वि.सं. २०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचित भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुनै चमत्कार भएन भने नेकपाको १६ स्थान र राष्ट्रिय जनता पार्टीले दुई स्थानमा विजयी हुने छन् ।
राजपा नेपालको दुई स्थान कायमै रहेमा नेकपाले हालको नौ स्थानबाट आठ थपेर १६ स्थानमा जित्न सक्ने दलीय मतदाताको तथ्याङ्क छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका अन्य दलले यस निर्वाचनमा विजयी हुने अवस्था छैन ।
प्रदेश सभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता छन् । सात वटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ दुई र अन्य समूहतर्फ सात गरी जम्मा १८ रिक्त पदका लागि मतदान हुँदैछ । मतदान हुँदा उम्मेदवारको नाम र दलको निर्वाचन चिह्न भएको मतपत्र हुने जानकारी निर्वाचन आयुक्त नरेन्द्र दाहालले दिनुभयो ।

प्रदेश १ मा नेकपा अब्बल
सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, प्रदेश १ मा महिला एक, दलित एक र अन्य एक गरी तीन पदका लागि मतदान हुँदैछ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ९३ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता कायम छन् । दलगत मतदाताको तथ्याङ्कलाई विश्लेषण गर्दा नेकपाको सबैभन्दा बढी २३६ मतदाता छन् भने नेपाली काँग्रेसको ११७ मत तथा अन्य दलको १४ मत छ । काँग्रेससहित अन्य सबै दलको मत जोड्दा जम्मा १३१ हुन आउँछ । अन्य सबै दलका मतभन्दा नेकपा १३१ मतले यस प्रदेशमा अगाडि रहेको छ । यस हिसाबले यस प्रदेशमा नेकपाका उम्मेदवार ढुक्क र विजयको नजिक देखिन्छन् ।

प्रदेश २ मा दलीय गठबन्धन
प्रदेश २ मा महिला एक, दलित एक, अल्पसङ्ख्यक एक र अन्य एक गरी चार पदका लागि मतदान हुँदैछ । प्रदेशसभा सदस्यतर्पm १०७ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाताले मताधिकार पाएका छन् । दलगत मत हेर्दा नेकपा ११५, नेका ९४, समाजवादी ८१, राष्ट्रिय जनता पार्टी नेपाल ७९, नेपाल लोकतान्त्रिक फोरम ६ र र अन्य दलका तीनजना मतदाता कायम छन् । यस प्रदेशमा सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच निर्वाचनमा मिलेर जाने सहमति भएको छ । नेकपा र राजपा मिल्दा १९४ जना मतदाता कायम हुने छन् । उता, नेका र समाजवादी पार्टीबीच पनि मतदानमा सहकार्य गर्ने सहमति भएको छ । जसअनुसार यी दुई दल मिल्दा १७५ मत हुनेछ । नेपाल लोकतान्त्रिक फोरम ६ अन्य दलको जम्मा तीन मत गरी नौ मत रहेको छ । नेकपा र राजपाबाहेक सबै दलको मत १८५ छ । यस हिसाबले नेकपा गठबन्धन सबै दल एक ठाउँमा उभिए पनि नौ मतले अगाडि रहेको छ ।

प्रदेश ३ नेकपाको सुदृढ
प्रदेश ३ मा महिला एक र अन्य एक गरी दुई पदका लागि मात्रै मतदान हुँदैछ । प्रदेश सभा सदस्यतर्पm ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता छन् । तीमध्ये नेकपा २४६, नेका ८९, समाजवादी दुई, नेपाल मजदुर किसान पार्टी चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) एक र विवेकशील पार्टीका चार मतदाता कायम छन् । यस प्रदेशमा नेकपाबाहेक अन्य सबै दल मिल्दा पनि १४४ मतले अगाडि रहेकाले अन्य दलको अवस्था दर्दनाक नै देखिन्छ ।

अन्य प्रदेशमा नेकपा नै अगाडि
गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्पm ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता छन् । महिला एक र अन्य एक गरी दुई पदका लागि मात्रै मतदान हुँदैछ । यस प्रदेशमा नेकपाको १२०, नेका ९६ र अन्य दलको जम्मा १४ मतदाता कायम छन् । नेकपावाहेक अन्य सबै दल मिल्दा पनि यस प्रदेशमा नेकपा ११० मतले अगाडि छ ।
यसैगरी, प्रदेश ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहमा एक गरी तीन पदका लागि मतदान हुँदैछ । यस प्रदेशमा उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता छन् । यस प्रदेशमा नेकपा १९२, नेका ८५, समाजवादी १६, राष्ट्रिय जनमोर्चा ५ र अन्य दलका सात मतदाता कायम छन् । नेकपावाहेक अन्य सबै दलको मत जोड्दा ११३ मत हुन आउँ छन् यो मत नेकपाको भन्दा ७९ मत कम देखिन्छ ।
कर्णाली प्रदेशमा महिला एक र अन्य एक गरी दुई पद मात्रै रिक्त छन् । यस प्रदेशसभा सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता छन् । यस प्रदेशमा नेकपा १४३, नेका ४६ र अन्य दलका नौ जना मतदाता छन् । यस प्रदेशमा नेकपावाहेक अन्य सबै दलका मतदाता जोड्दा ५५ मत हुन्छ । यहाँ नेकपा अन्य दलभन्दा ८८ मतले अग्रस्थानमा छ ।
उता सुदूरपश्चिम प्रदेशमा महिला एक र अन्य समूहमा एक गरी दुई पदमा मात्रै मतदान हुँदैछ । यस प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता कायम छन् । यहाँ नेकपा १४१, नेका ८६ र अन्य दलका दुई मतदाता छन् । नेकासहितका सबै दलभन्दा नेकपा यस प्रदेशमा ५३ मतले अगाडि देखिन्छ ।
स्थायी सदनका रूपमा रहेको राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुनेछ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार यो निर्वाचन हुन लागेको हो । पहिलो पटक गोला प्रथाद्वारा १९ जनाको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको वर्ष कार्यकाल छ वर्ष कायम गरिएको छ । यस निर्वाचनबाट निर्वाचित हुने सदस्यको कार्यकाल छ वर्षको हुने छ ।

बिदाइको तयारीमा रहेका सांसद
आगामी फागुन २० मा अवधि सकिने राष्ट्रिय सभा सदस्यहरुमा सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली हुनुहुन्छ ।
अर्थमन्त्रीसमेत रहनुभएका राष्ट्रिय सभा सदस्य डा. युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत हुनुभएको थियो । फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेकपाका नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना हुनुहुन्छ । पछिल्लो दलीय समीकरण मतदानको दिनसम्म कायमै रहेमा नेकाले सात र समाजवादीले एक स्थानबाट हात धुनुपर्ने अवस्था छ । अघिल्लो राष्ट्रिय सभाको निर्वाचन एकल सङ्क्रमणीय मत प्रणालीमा हुँदा कांग्रेसलगायतका दलले जित्ने अवसर पाएका थिए भने अहिले बहुमतीय प्रणालीमा मतदान हुँदैछ ।
वि.सं. २०६५ साल साउन ६ गते भएको राष्ट्रपतिको निर्वाचनमा दलीय मतदाताको सङ्ख्याभन्दा मतदान हुँदाको अवस्था धेरै फरक आएको थियो । त्यति मात्र होइन २५ मतसम्म बदर भएको इतिहास छ । तत्कालीन संविधान सभा सदस्यले त मतदान गर्दा गल्ती गरेको इतिहास छ । त्यसैले यस पटकको राष्ट्रिय सभा सदस्यको मतदान अवस्था कस्तो हुने हो, मतदानपछि मात्रै थाह हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?