प्रतीक इच्छुक शर्मा
सल्यान, पुस २५ गते । सल्यानको बागचौर नगरपालिका कोटमौलामा कृषकले व्यावसायिक सुन्तला खेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका हुन् ।
पेसाले स्वास्थ्यकर्मी भरतनाथ योगीले रहरले २०३८ सालमा दुई–चार बोट लगाएका सुन्तला विस्तार गरी हाल ४४ रोपनीमा व्यावसायिक सुन्तला खेती गर्नुभएको छ । यस वर्ष नौ सय बोटबाट ६५० क्विन्टल सुन्तला उत्पादन भएको उहाँले बिक्री गर्नुभयो । बोटबाट नै प्रतिकिलो ६५ रुपियाँ दरमा सुन्तला बिक्री गरेको योगीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष सुन्तलाको मूल्य प्रतिकिलो चार रुपियाँ बढेको छ ।
सुन्तला व्यवसायले गाउँमै रोजगारीसमेत सिर्जना गरेको छ । सुन्तला पाकेको समयमा टिप्न तीन जना र गोडमेल काँटछाटका लागि चार जनालाई वर्षमा छ महिना रोजगारी दिएको योगीले जानकारी दिनुभयो ।
यस्तै कोटमौला डाँगीगाउँका खिमबहादुर डाँगीले यस वर्ष ७५ क्विन्टल सुन्तला कैलालीका व्यापारीलाई बेच्नुभएको छ । बारीमै व्यापारीले ठेक्का लगाएको डाँगीको भनाइ छ । उहाँका अनुसार पाँच लाख २५ हजार रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । दुई लाख खर्च कटाउँदा तीन लाख २५ आम्दानी भएको छ ।
बागचौर नगरपालिका वडा नं. ८ र ९ का अधिकांशले सुन्तला खेती गर्दे आएका छन् । यहाँका दुई वडाका ३५० भन्दा बढी कृषकले सुन्तला खेती गरेका छन् । अधिकांश घरमा धेरथोर सुन्तला खेती गरिए पनि पछिल्लो समयमा भने व्यावसायिक रूपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । नेकपा कर्णाली प्रदेश सदस्य लोकबहादुर डाँगीले राजनीतिले जीविका नचल्ने देखेपछि नौ वर्षदेखि सुन्तला खेती गर्न गर्दै आउनुभएको छ र १६ रोपनीमा व्यावसायिक सुन्तला खेतीसँगै उहाँले नर्सरी सञ्चालन गर्नुभएको छ । उहाँका अनुसार सुन्तला बिक्री गरेर वार्षिक १५ लाख रुपियाँ आम्दानी हुने गरेको छ ।
कोटमौला क्षेत्रबाट मात्रै यसपटक १४ करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । कोटमौला क्षेत्रबाट यस वर्ष २० हजार क्विन्टल सुन्तला बिक्री भइसकेको छ ।
कम मिहिनेत र मनग्गे आम्दानी हुने भएपछि कृषकसँगै अन्य पेसामा आबद्ध भएका व्यक्ति पनि सुन्तला खेतीमा संलग्न भएको पाइएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । उहाँले सल्यानमा उत्पादन हुने सुन्तलाको ७५ प्रतिशत उत्पादन कोटमौला क्षेत्रमा हुने गरेको छ । सल्यानका बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, कपुरकोटलगायत स्थान सुन्तलाका पकेट क्षेत्र हुन् । जिल्लामा झण्डै एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ ।