सरोज ढुङ्गेल
काठमाडौँ, पुस २६ गते । कुनै पनि सङ्क्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्छ । तर उपत्यकाका सरकारी अस्पतालमा गएर शौच गर्न जाने नै निराश हुन्छन् । कतिपय सरकारी अस्पताल यति दुर्गन्धित र फोहोर हुन्छन्, त्यहाँ जाँदा नाक थुन्नुपर्छ । शौचालयमा कतै पानी छैन, कतै चुकुल छैन, बत्तीको व्यवस्था छैन । कतिपय अस्पतालका शौचालयमा प्लास्टिक, पानीका बोतल, खैनी, सुर्ती र चुरोटका खोल र अन्य फोहोरले भरिएका छन् । अस्पतालको शौचालयभित्र पस्दा शौच होइन, वान्ता आउने खालका छन् । अस्पताल आउने सेवाग्राही भन्छन्, ‘‘शौचालय त कन्तविजोगै देखियो ।’’
वीर अस्पतालकै विजोग
नेपालकै सबैभन्दा पुरानो र सरकारको प्राथमिकतामा परेको अस्पताल हो महाबौद्धस्थित वीर अस्पताल । वीरमा देशभरिबाट दैनिक दुई हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन् । तर सरकारको सबैभन्दा जेठो र प्राथमिकतामा रहेको यही वीर अस्पतालमै शौचालयको अवस्था नाजुक छ ।
वीर अस्पतालमा रहेका शौचालयमा गएर दिसा वा पिसाब गर्न सक्ने अवस्था छैन । विगतमा पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुँदा वीर अस्पतालको शौचालयबाट सरकारी अस्पतालको सुधार अभियान थाल्नुभएको थियो । तर अहिले त्यही वीर अस्पतालमा रहेको शौचालयमा गएर दिसा, पिसाब गर्न सक्ने अवस्था छैन ।
वीर अस्पतालमा उपचार गर्न आउनुभएका दोर्जी शेर्पा भन्नुहुन्छ, ‘‘सरकारी अस्पताल सुधार गर्ने हो भने शौचालयबाट गर्दा राम्रो हुन्छ तर विडम्बना जुनसुकै सरकारी अस्पतालका शौचालयको हालत दुर्गन्धमय छ ।’’ वीर अस्पतालको भुइँतलास्थित शौचालयमा न बत्तीको सुविधा छ न त पानीको सुविधा नै छ । पानी बत्ती मात्र होइन त्यहाँको शौचालयमा चुकुलको समेत व्यवस्था छैन । अस्पताल जाने बिरामीहरू बाध्यताले मात्र शौचालयको प्रयोग गर्छन् । ‘‘त्यस्तो ठाउँमा बिरामी तथा बिरामीका आफन्तले कसरी शौच गर्न सक्छन ?,’’ शेर्पाको प्रश्न छ ।
वीर अस्पतालमै एकतलामाथि रहेको पुरुष शौचालयमाथि फोहोरको थुप्रो छ । शौचालयमा पानी आउँदैन, प्लास्टिक, सुर्ती र खैनीका खोल प्रशस्त मात्रामा छन् । शौच गर्न सक्ने अवस्था छैन । यस्तै पिसाब फेर्ने ठाउँभन्दा माथि पान खाएर थुकेको छ । शौचालय दुर्गन्धित छ । वीर अस्पतालमा नेपालभरिबाट उपचार गर्न बिरामीहरू आउने गर्छन् ।
उस्तै उस्तै छ व्यथा
वीर अस्पताल सरकारको सबैभन्दा ठूलो अस्पताल हो । प्रतिनिधिका रूपमा वीरलाई लिन सकिन्छ । तर वीरजस्तै अन्य सरकारी अस्पतालको दुर्दशा यस्तै छ । नरदेवीस्थित आयुर्वेदिक अस्पतालको शौचालय पनि त्यस्तै दुर्गन्धित छ । त्यहाँ पनि दिसा, सिसाका टुक्रा, प्लास्टिक रहेकाले शौच गर्न सक्ने स्थिति छैन । शौचालयमा पानी आउँदैन ।
भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा रहेको शौचालयको अवस्था पनि त्यस्तै हो । त्यहाँ फोहोरको डङ्गुर छ । शौचालयमा दुर्गन्ध फैलिएको छ । पान, पराग, खैनी, सुर्तीका टुक्राहरू भेटिन्छन् । कहिल्यै पनि सफा हँुदैन । दूधपाटीस्थित भक्तपुर अस्पतालमा रहेको शौचालय गइनसक्नु छ । पानीका बोतलहरू, प्लास्टिक र अन्य फोहोरले गर्दा दुर्गन्धित छ ।
कान्ति बाल अस्पतालको शौचालय पनि फोहोरले भरिएको छ ।शौच गर्न नगइनहुने व्यक्ति मात्र कान्ति अस्पतालको शौचालयमा पस्ने गर्छन् । कान्तिको शौचालय देख्दैमा घिन लागेर आउने खालको छ । नाक थुनेर पिसाब फेर्नुपर्ने अवस्था छ ।
पैसा तिर्नुपर्ने बाध्यता
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका सबै शौचालय दुर्गन्धित छन् । गन्हाएर शौच गर्ने अवधिसम्म पनि बस्न सकिँदैन । बालरोग विभाग छेउमा रहेको शौचालयमा शौच गर्न जाने हो भने पिसाबको एक र दिसाको दुई रुपियाँ लिइन्छ । खुद्रा पैसा छैन भन्दै पाँच रुपियाँ लिने गर्छन् । त्यो पाँच रुपियाँले एक दिनभरि पिसाब गर्न आउनुस् न भन्दै पठाइन्छ ।
अस्पतालका प्रशासन प्रमुख सूर्य अधिकारी भन्नुहुन्छ, ‘‘अस्पताल हाताभन्दा बाहिर रहेकाले एउटा शौचालय ठेक्कामा दिइएको छ, उसले के गर्छ, थाहा छैन ।’’ शौचालयको धारा, टुटी तोडफोड गर्ने र चोर्ने सम्भावना भएकाले ठेक्का दिनुपरेको उहाँको भनाइ छ ।
शौचालयमा कर्मचारी राख्न सिफ्ट अनुसार तीनजना अनिवार्य गर्दा महँगो पर्ने भएकाले ठेक्कामा दिएको बताउनुभयो । उहाँले शिक्षण अस्पतालले रगत कलेक्सनका लागि छुट्टै व्यवस्था, भिडियो एक्सरे गर्न आउनेका लागि छुट्टै व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । पहिलेभन्दा अस्पतालको शौचालयमा धेरै सुधार आएको प्रशासन प्रमुख अधिकारीको दाबी रहे पनि स्थलगत रूपमा भने खासै सुधार देखिएको छैन ।
सुधार शौचालयबाटै : प्रवक्ता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अस्पताल सुधार गर्न सबैभन्दा पहिले शौचालयमा सुधार गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले शौचालयबाट दुर्गन्ध फैलने भएकाले त्यहीँबाट रोग फैलन सक्छ । अन्य सङ्क्रमण फैलिई महामारी हुने खतरा भएकाले शौचालय सफा गर्नुपर्ने हुन्छ । तर नेपालका सरकारी अस्पतालहरूको शौचालयको अवस्था साह्रै कहालीलाग्दो छ ।
यसअघि तत्कालीन राज्यमन्त्री अर्यालले वीर अस्पतालको शौचालयबाट अस्पताल सुधारको प्रयास गर्नुभएको थियो । पछि मन्त्री फेरिएसँंगै सरसफाइमा ध्यान दिइएन । शौचालय सफा गर्नुपर्छ भन्दै मन्त्री हिँड्नु विडम्बनाको विषय भएको शिक्षण अस्पतालमा उपचार गर्न आउनु भएको जानकी नेम्वाङ बत(ाउनहुन्छ । अस्पताल प्रशासनले जसरी हुन्छ शौचालय सफा गर्नुपर्छ भन्ने सेवाग्राहीको दृढ माग छ । अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल सरसफाइ गर्न सरकारी अस्पतालको शौचालयबाटै सुधार गर्नुपर्छ भनेर अभियान थालिने प्रवक्ताको भनाइ छ ।
निर्देशकले ध्यान दिने होइन
वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी भने शौचालयजस्तो विषयमा आफूले हेर्न नभ्याएको बताउनुहुन्छ । अस्पतालमा शौचालय दुर्गन्धित हुनु राम्रो होइन । दुर्गन्धित शौचालयले विभिन्न सङ्क्रमण र रोग फैलाउन सक्छ । उहाँले भन्नुभयो, ‘‘वीर अस्पतालको शौचालय शौच गर्न लायक छैन भन्ने विषयमा समेत मलाई थाहा छैन । यो विषय हाउस किपिङको हो । सरसफाइमा उनीहरूले ध्यान दिनुपर्ने हो ।’’ अस्पतालको सरसफाइ भन्दा उपचार र अन्य विषयमा केन्द्रित हुने भएकाले शौचालय व्यवस्थापनको पाटो मलाई थाहा भएन भन्दै उहाँले अब सफाइ अभियान थाल्ने बताउनुभयो ।