मकवानपुर समाचारदाता
हेटौँडा, पुस २७ गते । प्रदेश ३ को प्रदेश सभा ऐतिहासिक निर्णय चरणमा रहेको छ । स्थायी राजधानी र प्रदेश नामाकरणका लागि आज आइतबार विहानबाट छलफलसँगै मतदान प्रक्रिया सुरु भएको छ ।
प्रदेशसभा गठन भएपछि गत दुई वर्षदेखि थाँती रहेको प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान हुन लागेको हो ।
पहिलो चरणमा प्रदेशको स्थायी राजधानी र त्यसपछि प्रदेशको नामाकारणका लागि मतदान गर्ने गरी कार्य तालिका तय भएको नेपाली काँग्रेस संसदीय दलका सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिनुभयो ।
प्रदेश राजधानीका लागि परेको प्रस्तावमाथि शनिबार भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएपछि मतदानमा जाने छ । प्रदेश सभाको वैठकमा स्थायी राजधानीका हेटौँडा कायम गरियोस् भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गर्नुभएको थियो ।
प्रस्तावमा नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का रीना गुरुङले समर्थन गर्नुभएको थियो ।
यस्तै विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थनमा धुलिखेललाई स्थायी राजधानी कायम गरियोस भन्ने प्रस्ताव पेस गर्नु भएको छ ।
राजधानीमाथिको प्रस्तावलाई निर्णयार्थ वर्णानु क्रमअनुसार दस्तखतसहितको मत विभाजन गरी मत परिणाम घोषणा गरिने छ ।
यसैगरी प्रदेश ३ को नामाकरण बागमती गरियोस् भन्ने काँग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश सभाको वैठकमा पेस गर्नु भएको प्रस्तावमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनु हुने कार्यतालिका रहेको छ । उक्त प्रस्तावमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक गर्नुभएको छ ।
प्रदेश नामाकारणको प्रस्तावलाई निर्णयार्थ वर्णानुक्रमअनुसार दस्तखतसहितको मत विभाजन गरी मत परिणाम घोषणा गरिने छ ।
प्रदेश राजधानी र नामाकरणमा कुन दल र प्रदेश सभा सदस्य कता
प्रदेश सभामा सभामुखसहित नेकपा, काँग्रेस, विवेकशील नेपाली दल, नेपाल मजदुर पार्टी, साझा पार्टी, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र गरी ११० प्रदेश सभाको सदस्य रहनु भएको छ ।
सभामुख मतदान प्रक्रियामा सहभागी हुनु हुने छैन ।
प्रदेशको स्थायी राजधानी हेटौँडा हुनुपर्छ भन्नेपक्षमा नेकपाको ७९ जना प्रदेश सभा सदस्य, काँग्रेसका २२, नेपाल मजदुर पार्टीको दुई तथा राप्रपा र राप्रपा संयुक्तको एक–एक गरी १०५ मत पर्ने देखिएको छ । प्रदेशको स्थायी राजधानी धुलिखेलको पक्षमा विवेकशील नेपाली दको दुई र साझा पार्टीको एक मत पर्ने भएको छ ।
प्रदेशको नाम बागमतीको लागि स्वतन्त्र बाहेक १०८ मत पक्षमा पर्ने भएको छ ।
आइतबार विहान ९ वजे मतदान प्रक्रिया सुरु गर्ने कार्य तालिका बनाइएको छ ।
प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संविधानमा व्यवस्था रहेको छ ।