logo
२०८१ मंसिर १३ बिहीवार



पेचिलो बन्दै सभामुख चयन

मुख्य समाचार |


पेचिलो बन्दै सभामुख चयन


नारायण काफ्ले

काठमाडौँ, पुस २८ गते । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्ग्याउन नसक्दा सदनको कारबाही रोकिएको छ ।
दुई अध्यक्षबीच उम्मेदवार कसलाई बनाउने पटक–पटक छलफल भए पनि परिणाम निस्कन सकेको छैन । आइतबार बिहान पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भए पनि निर्णय हुन सकेन ।
शनिबार सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो तर तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान लिएपछि दुई अध्यक्षले निर्णयबारे जानकारी दिन पुनः आइतबार बिहान उहाँलाई बैठकमा बोलाउनुभएको थियो । पार्टीको निर्देशन, उपसभामुखको अडान र सभामुखको उम्मेदवार चयन नभएको त्रिपक्षीय चपेटामा संसद् परेको छ ।
उपसभामुखको प्रतिक्रियापछि दुई अध्यक्षले पुनः पार्टी निर्णयमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । निर्णयबारे तुम्बाहाङ्फेले आफ्नो धारणासमेत दुई नेतालाई सुनाउनुभएको छ । परामर्श बैठकमा दुई अध्यक्षलाई पार्टी निर्णयबारे आफ्नो जवाफ दिएको भेटपछि तुम्बाहाङ्फेले बताउनुभयो ।

राजीनामा नदिने अडान
पार्टी निर्देशन अनुसार उपसभामुखको निर्णय आएको भए आइतबारको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन गर्ने तयारी सत्तारूढ दलको थियो तर उपसभामुखले राजीनामा नदिने अडान कायमै राखेपछि पुनः बैठकको कारबाही अघि नबढाउने निधो भयो । अध्यक्षद्वयले नै उपसभामुखसँगको परामर्शपछि बैठक केही दिन स्थगित गर्न आग्रह गर्नुभएपछि बैठक स्थगन गरिएको हो । अध्यक्षद्वयसँगको भेटमा उपसभामुखले पार्टीको निर्णयबारे जानकारी लिनुभएको थियो । आफूले पार्टी सदस्यबाट राजीनामा दिइसकेको अवस्थामा निर्देशन कार्यान्वयनमा बाध्य नरहेको पनि स्पष्ट पार्नुभएको थियो । निर्णयको औचित्यमा नै उहाँले प्रश्न गर्नुभएको थियो । उहाँले राजीनामाअघि सभामुखको उम्मेदवार तय हुनुपर्ने अडान पुनः दोहो¥याउनुभयो ।

सूचना टाँसेर स्थगित
सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा प्रतिनिधि सभा आइतबार पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक प्रारम्भ भएपछि त्यसयता कुनै पनि बैठक बस्न सकेको छैन । हिउँदे अधिवेशनको एक महिना सदन कुनै पनि कार्यसूचीबिना नै स्थगित हुने निश्चित भइसकेको छ । अधिवेशन प्रारम्भ भएको माघ ४ गते एक महिना पुग्दै छ ।
पहिलो बैठक पुस ४ गते बसेको थियो । त्यसपछि एक सातासम्मका बैठक स्थगित भएको थियो । सभामुख चयनको सम्भावित कार्यतालिका प्रकाशन भएपछि पुस ११ गते बैठक पुनः सूचना टाँसेर स्थगित भएको थियो । पुस ११ गतेसम्म बैठक स्थगित भएको थियो । पुस १५ पछि बैठक एकैपटक ११ दिनका लागि स्थगित गरिएको थियो । पुस २७ गते बैठक बस्ने गरी स्थगन भए पनि सभामुखको उम्मेदवार टुङ्गो नलाग्दा बैठक पुनः सात दिनभन्दा लामो समय स्थगित गरिएको हो । प्रतिनिधि सभाको अर्को बैठक आउँदो माघ ६ गतेका लागि बोलाइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?