logo
२०८१ मंसिर १३ बिहीवार



लम्बियो हिउँदे वर्षा

मुख्य समाचार |


लम्बियो हिउँदे वर्षा


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ३ गते । हिउँदे वर्षा लम्बिँदै गर्दा देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ । चौथो चरणको हिउँदे वर्षाको यो शृङ्खला गएको सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको हो ।
नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले भन्नुभयो, “वर्षा गएसँगै तराईमा लागेको हुस्सु भने हटेको छ ।”
हिउँदे वर्षा भए पनि यो वर्षापछि मौसममा तातोपन बढ्ने उहाँले बताउनुभयो । महाशाखाका अनुसार शुक्रबार दिनभर बद(लीको अवस्था रही देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी भेगमा भारी हिमपात हुनेछ । आउँदो २४ घण्टा चिसो हुने हुनाले आम सर्वसाधारणलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि भने मौसममा सुधार आउने छ तर अर्को साता फेरि फाट्टफुट्ट वर्षा हुने सङ्केत देखिएको उहाँ बताउनुहुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?