शान्ति लामा / यलु जोशी
काठमाडौँ, माघ ३ गते । यट्खास्थित कन्या माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दो छ । भूकम्पले क्षति पुगेर विद्यालय भवनमा रातो स्टिकर लागेपछि अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाएर पठनपाठन सुचारु गरिएको थियो ।
केही समयपछि टीएलसीमा पानी चुहिने, विद्यार्थीलाई चिसो लाग्ने, कीराफट्याङ्ग्राले दुःख दिने भएपछि विद्यार्थी धमाधम अन्य विद्यालयमा भर्ना भएर जान थाले । विद्यार्थी भाग्न थालेपछि विद्यालयले फेरि पुरानै भवनमा पठनपाठन गर्दै आएको छ । “स्कुल नै रित्तिन्छ कि भन्ने चिन्ता लागेपछि हामीले माथिल्लो निकायको स्वीकृति लिएर फेरि यही भवनमा पढाउन थालेका छौँ,” विद्यालयमा २० वर्षदेखि काम गर्दै आउनुभएका कर्मचारी महन्तलाल महर्जनले भन्नुभयो ।
विसं १९८० मा स्थापना भएको यो विद्यालयमा अहिले एक सय जनाभन्दा बढी विद्यार्थी रातो स्टिकर लागेको यस भवनमा पढिरहेका छन् । भवन निर्माणसम्बन्धी मापदण्ड अपुग हुँदा यस भवनले पुनःनिर्माणको इजाजत नपाएको उहाँको भनाइ छ । विद्यालयको साढे चार तलाको भवनको पुनःनिर्माण वा प्रबलीकरण अनिश्चित हुँदा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीको शैक्षिक भविष्यमा असर पर्ने स्कुल परिवारको चिन्ता छ ।
काठमाडौँ–२२ स्थित जनबहालमा लोकेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको मन्दिर छ । त्यस मन्दिर वरपर रैथाने बासिन्दाका पुराना घरहरू निकै जर्जर अवस्थामा छन् । २०७२ को भूकम्पमा क्षति पुगेका निजी घरहरू अझै पुनःनिर्माण नभएपछि मानिस जोखिमपूर्ण बसोबास गरिरहेका छन् । बहालको चौघेरामा रहेका निजी घरहरू टेको लगाएर कतै मानिस बसोबास गरिरहेका छन् त कतै व्यापार व्यवसाय चलेको छ । कतै गारो फाटेका त कतै चर्किएका अनि कुनै ढल्किएका घरहरू कुनै पनि बेला भत्किन सक्ने जोखिममा छन् ।
जनबहालमै नानीमैँया श्रेष्ठको घरमा टेको लागेको लामो समय भयो । त्यहीँ उहाँको पारिवारिक व्यापार चलिरहेको छ । सँगै जोडिएको घरधनीले पुनःनिर्माण गर्ने सुरसार नै नगरेपछि नानीमैँयाले पनि आफ्नो घर टेकोकै भरमा छोड्नुपरेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका–२७ की सामाजिक परिचालक जमुना महर्जनका अनुसार यसरी छिमेकीको अनिच्छाका कारण पुनःनिर्माण हुन नसकेका घर नै भित्री बस्तीको समस्या हो । त्यस्तै भित्री बस्तीमा सानो एउटै घर तीन–चार जनाको नाममा छन् । “तीन तलाको घर तीन जनाको नाममा हुँदा रहेछन् । उनीहरूमा कसले जगमा पैसा हाल्ने भन्ने विषयमा समझदारी नहुँदा सिङ्गै घर अलपत्र परेका छन्,” महर्जनले भन्नुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार निजी आवास पुनःनिर्माणको अवस्था काठमाडौँ उपत्यकामा सबैभन्दा कमजोर छ । यसो हुनुका पछाडि सम्पदा बस्तीको आवास पुनःनिर्माण पनि एक कारक देखिन्छ । जनप्रतिनिधिका अनुसार न्यून आयस्रोत भएका कारण सरकारले दिएको अनुदानले घर बन्न नसकेपछि रोकिएका छन् ।
“कोही भने अनुदान लिई पुनःनिर्माण गर्ने लामो प्रक्रिया पूरा गर्न झन्झट मानेर पनि पहिलो किस्ता लिएर चुप लागेर बसेका छन्,” सामाजिक परिचालक महर्जनले भन्नुभयो । प्रबलीकरणमा विश्वास नहुनु, सानो जग्गामा बनेको घरमा दाजुभाइको अंशबण्डा नमिल्नु, नक्सा पासको झन्झट, छिमेकीले बनाउन नदिनुजस्ता कारण निजी आवास पुनःनिर्माणमा चुनौती थपिएको वडा कार्यालय बताउँछ । आंशिक क्षति र पूर्ण क्षति पुगेको घरसँगै जोडिएको ठाउँमा छिमेकीबीचको द्वन्द्वको अवस्था दर्शाउँदै महर्जनले भन्नुभयो, “हाम्रो वडामा पुनःनिर्माणका लागि घर भत्काउँदा छिमेकीको भत्किएपछि दुई जनाले क्षतिपूर्ति तिर्नुप¥यो ।”
काठमाडौँको भित्री भागमा भएका ती घरले बाटोमा हिँड्ने सर्वसाधारणका मनमा डर पैदा गराएको छ । पैदल हिँड्दै गर्नुभएकी करुणा अधिकारी भन्नुहुन्छ, “यो गल्लीमा हिँड्न त साह्रै डर हुने । भूकम्प आइहाल्यो भने यहीँ नै मरिन्छ होला । भाग्ने ठाउँ पनि छैन । त्यसमाथि सबै घर टेकोले अड्काएको ।”
काठमाडौँको व्यस्त व्यापारिक केन्द्र मानिने स्थानहरू असन, क्षेत्रपाटी, भोटेबहाल, टेकुलगायत भित्री सहरमा टेको दिएर राखिएका घर धेरै देख्न सकिन्छ । काठमाडौँको सम्पदा बस्तीका निजी गुठीका भवनको पुनःनिर्माण नहुँदा एकातिर सहरको सुन्दरता बिग्रिएको छ भने अर्काेतिर सहरवासीमा असुरक्षाको त्रास पनि छ । असनचोकस्थित अन्नपूर्ण ज्ञानमाला भजन खलःको भवन टेकोकै भरमा उभिएको छ । दर्जनभन्दा बढी पसल त्यही भवनमा सञ्चालन भइरहेका छन् । त्यस्तै असन बालकुमारीस्थित बस्नेत गुठीको भवनमा यसको जीर्ण संरचनामुनि डराईडराई बस्न बाध्य रहेको व्यापारी बताउँछन् ।
जीवित देवीको घर नै अलपत्र
वसन्तपुरमा रहेको जीवित देवी कुमारीको घर टेकोका भरमा अडिएको चार वर्ष भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण जोखिममा परेको घर अझै पुनःनिर्माण नहुँदा तीन सय वर्ष इतिहास बोकेको संस्कृतिसमेत जोखिममा परेको स्थानीय बताउँछन् ।
जीवित देवी कुमारीको दर्शन गर्न दैनिक सयौँ सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् तर कुमारी घरलाई २०७२ सालको भूकम्पले टेकोका भरमा पु¥याइदिएको छ । सर्वसाधारणहरू पनि महìवपूर्ण धार्मिक संरचनालाई राज्यले प्राथमिकता नदिएको भन्दै आक्रोशित छन् ।
वडा नं. २३ मा पर्ने कुमारी घरको डिजाइनको जिम्मा पुरातìव विभागको रहेको वडा अध्यक्ष चिनाराजा महर्जनले बताउनुभयो । पुरातìव विभागले भने कुमारीघर कसरी पुनःनिर्माण गर्ने भन्नेबारेमा अध्ययन भइरहेको जनाएको छ । विभागसँग अझै पनि कुमारी घरको कसरी मर्मत गर्ने, कुन कुन भाग बिग्रिएका छन् भन्नेबारेको यथेष्ट सूचनासमेत छैन ।
संरक्षित स्मारक क्षेत्र हनुमानढोका दरबार क्षेत्रलाई टेको लगाएका विभिन्न संरचनाले कुरूप बनाएको छ । नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय भवन चार वर्षमा पनि पुनःनिर्माण हुन सकेको छैन ।
संस्कृत विश्वविद्यालय, दाङको सम्पर्क कार्यलयका रूपमा सञ्चालन हुँदै आएको भवनमा उपकुलपति र अन्य पदाधिकारीहरूको कार्यालयका साथै विद्यावारिधिको अनुसन्धान केन्द्र सञ्चालन हुँदै आएको थियो । मध्य काठमाडौँको पर्यटकीय स्थानमा उभिएको साढे चारतले भवन जीर्ण र जोखिमपूर्ण हुँदा पनि पुनःनिर्माणमा कुनै पहल नभएको कार्यालयका पदाधिकारीहरूको आरोप छ ।
अग्लो र जीर्ण भवन वरपरको क्षेत्र व्यस्त छ । दैनिक सयौँको आवतजावत हुन्छ । पर्यटक र स्थानीयको घुइँचो लाग्ने ठाउँ यो हो । भवन नबन्नुमा विश्वविद्यालयका पदाधिकारीहरूले प्राधिकरणलाई जिम्मेवार देखाइरहँदा प्राधिकरण भने यसबारे आफूहरूलाई केही थाहा नभएको बताउँछन् ।