गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बलले देश र नागरिकको शान्ति सुरक्षा, आतंकवाद नियन्त्रण तथा प्राकृतिक विपद व्यवस्थापन कार्यमा असाधारण क्षवि बनाएको बताउनुभएको छ ।
१९ औं सशस्त्र प्रहरी दिवस–२०७६ को अवसरमा विहीवार सशस्त्र प्रहरी वलको प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न कठिनाईका बीच पनि सशस्त्र प्रहरीले गरेका कामकारवाही बहुआयामिक र प्रसंसनीय रहेको चर्चा गर्नुभयो ।
‘राजनीतिक परिवर्तनसंगै संघीय संविधानको कार्यान्वयन, जनताको सार्वभौकिता तथा मानवअधिकारको रक्षा, जनउत्तरदायी राज्य व्यवस्था र सुशासन कायम गर्न राज्यका सबै अंगको महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो– जिम्मेवारी र कार्यक्षेत्र फरक भए पनि उद्देश्य एउटै हो ।
जहाँ अशिक्षा, गरिवी, विभेद छ त्यहाँ विकास र न्याय हुदैन, राज्यका हरेक निकाय चुष्त, दुरुस्त र पारदर्शी भएमा भ्रष्टाचार नियन्त्रणसँगै आर्थिक समृद्धि हुन्छ प्रधानमन्त्री ओलीले थप्नुभयो– गरीबी र पछौटेपन हटाउन नागरिक समाजको पनि त्यतिकै भूमिका हुन्छ ।
२०७२ सालमा आएको महाविनाशकारी भूकम्पमा सर्वसाधारण नागरिकको खोज तथा उद्धार र पुनस्र्थापना कार्यमा सशस्त्र प्रहरी वलले निर्वाह गरेको जिम्मेवारीबाट आफू निकै प्रभावित भएको चर्चा गर्दै उहाँले राज्यले धान्न सक्ने गरी सेवासुविधा बढाउन र दक्ष जनशक्ति उत्पादन गर्ने तर्फ सरकारको ध्यानाकर्षण भएको बताउनुभयो
उहाँले सशस्त्र प्रहरी बलको वर्तमान जनशक्तिलाई सवल, सक्षम र थप प्रभावकारी बनाउन आवश्यक तालिम, उपकरण, भौतिकपूर्वाधार लगायत आवश्यक सेवा सुविधा विस्तार गर्ने विषयमा आफू गम्भीर रहेको धारणा राख्नुभयो ।
सशस्त्र प्रहरी वलका संस्थापक प्रहरी महानिरीक्षक स्वं. कृष्णमोहन श्रेष्ठ र उहाँकी धर्मपत्नी नुडुप श्रेष्ठ लगायत कर्तब्य पालनका क्रममा ज्यान गुमाउने अमर सहीद प्रहरी कर्मचारीप्रति श्रद्धान्जलि ब्यक्ति गर्दै उहाँले देश र जनताको सेवालाई सर्वोपरि ठानेमा सुखी नेपाल समृद्ध नेपाल निर्माण अभियान सार्थक हुने विश्वास ब्यक्ति गर्नुभयो ।
सो अवसरमा उहाँले यसवर्षको ‘लाइफ टाइम एचिभमेण्ट अवार्ड’ सशस्त्र प्रहरीका पूर्व नायव महानिरीक्षक माधवबहादुर थापा र ‘उत्कृष्ठ बाहिनी अवार्ड’ सशस्त्र प्रहरी नम्वर–२ वाहिनी छिन्नमस्ता महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई प्रधान गर्नु भएको थियो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी वललाई देश र नागरिकको शान्तिसुरक्षाका अतिरिक्त सीमा सुरक्षा जिम्मेवारी आफैमा सम्मेदनशील भएको बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा प्रभावकारी रुपमा परिचालन गर्न थप बीओपी –वोर्डर आउट पोष्ट राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसका लागि वजेटका अतिरिक्त जनशक्ति थप गर्ने तयारी भइरहेको मन्त्री थापाले जानकारी दिनुभयो ।
त्यस्तैं, सशस्त्र प्रहरीलाई उच्च हिमाली तथा पहाडीक्षेत्रमा हुन सक्ने सम्भावित विपद सम्वन्धी दक्ष बनाउन पर्वतीय तालिम केन्द्र र सात वटै प्रदेशमा सशस्त्र प्रहहरी तालिम केन्द्र स्थापना गर्ने तयारी भइरहेको थप जानकारी पनि उहाँले दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले १९ औं सशस्त्र प्रहरी दिवस मनाई रहदासम्म संगठनलाई अहिलेको अवस्थामा सम्म ल्याइ पु¥याउने कार्यमा राज्य, सरकार, नागरिक र सशस्त्र प्रहरी कर्मचारी र अमर सहिद प्रहरी कर्मचारीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
त्यस अवसरमा उहाँले सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवार, अमर प्रहरी तथा आश्रित परिवारको स्वास्थ्य, शिक्षा, सहुलयित लगायत विभिन्न सहयोग मूलक कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न जातजाति समुदाय, प्रदेशहरूको कला संस्कृति, भेषभूषा झल्किने साँस्कृतिक झाँकी तथा राष्ट्रिय एकता र राष्ट्रियता सम्वन्धी गीत संगीत र नृत्युहरु प्रस्तुत गरिएको थियो भने सशस्त्र प्रहरीले सञ्चालन गर्ने कामकारवाहीको ‘डेमोष्टेसन’ प्रर्दशन गरिएको थियो ।