प्रकृति अधिकारी
काठमाडौँ, माघ १० गते । पत्थरीको समस्याले आठ वर्षीय छोरा ऐया र आत्थु गर्न थालेपछि दाङका शिशिर गौतम रातारात कान्ति बाल अस्पताल आइपुग्नुभयो । स्थानीय नेताले आफूसँग परिचित सो अस्पतालका एक चिकित्सकलाई दाङबाटै फोन गरी ‘राम्ररी उपचार गरिदिन’ भनेका थिए । तिनै नेताकै सिफारिसमा शिशिर सीधै कान्ति बाल अस्पतालका ती चिकित्सकको सम्पर्कमा पुग्नुभयो । ती चिकित्सकले सो अस्पतालमा शल्यक्रिया गर्न महिनौँ पर्खिनुपर्ने हुनसक्छ भन्दै नजिकको एक अस्पतालमा गए सोही दिन शल्यक्रियाको प्रवन्ध गरिदिने बताए ।
घर फर्किनुअघि ती चिकित्सकसँग परामर्श गर्न सोही अस्पतालमा आइपुगेका शिशिरले महिनौँ पर्खिनुभन्दा त्यसै दिन ‘अप्रेसन’ हुने भनेपछि मैले सहमति दिएँ । त्यसै दिन साँझ अप्रेसन गरेर मिर्गाैलाको पत्थरी फाालियो भन्नुभयोे । उहाँका अनुसार नजिकैको निजी बाल अस्पतालमा छोराको शल्यक्रिया गरिएको थियो ।
औषधि र शय्याबाहेक शल्यक्रियाका लागि मात्र ५० हजार रुपियाँ उतिखेरै उहाँले त्यस निजी बाल अस्पताललाई बुझाउनुप¥यो । शिशिर आर्थिक रूपमा सम्पन्न हुनुहुन्थ्यो । त्यसैले छोराको पीडा देख्न नसकी अस्पतालले मागे जति रकम तत्कालै बुझाउनुभयो । उता सिरहाका सन्तोष मण्डलले साढे दुई वर्षका छोराको पीडा देख्दादेख्दै पनि आर्थिक अभावले शल्यक्रियाका लागि आठ महिना पर्खिनुप¥यो ।
मलद्वारको संरचना नभएका ती बालकको उपचार गराउन गत वैशाखमा सन्तोष कान्ति बाल अस्पताल आइपुग्नुभएको थियो । चिकित्सकले शल्यक्रियाका लागि माघ १ गते समय दिए । त्यतिन्जेल काम चलाउन चिकित्सकले कोखामा सानो प्वाल बन(ाइदिएका थिए, त्यहीँबाट दिसा निस्कन्थ्यो ।
सन्तोषले छोराले आठ महिना पीडा भोग्नुप¥यो । अप्रेसनका लागि धेरै मानिस छन् त्यसैले पालो पर्खिनुपर्छ भनेर वैशाखमा डाक्टरले भनेका थिए । रकम अभावले निजी अस्पतालमा लिएर जानसक्ने स्थिति थिएन । आठ महिनापछि छोराको अप्रेसन भयो । चार घण्टाको अप्रेसनपछि छोराले अब मलद्वारबाटै दिसा गर्ने भएको छ भन्नुभयो ।
मुलुककै एक मात्र सरकारी बाल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालमा बिरामी बालबालिकाको ओइरो दैनिक हुनेगर्छ । अस्पतालले धान्न मुस्किल मुस्किल हुँदै गएको छ । समयमा शल्यक्रिया नगरिदिनु, सघन उपचार कक्षमा पर्याप्त शय्या नहुनु, हाडजोर्नी र मुटु सम्बन्धी उपचार नै नहुनु लगायतका कारणले सो बाल अस्पताल वरपर रहेका अन्य दुई निजी अस्पताल फस्टाउँदै गएका छन् । कान्ति अस्पतालको सम्मुखमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सबै बिरामीलाई उपचार सेवा प्रदान गर्न नसक्दा महाराजगञ्ज वरपर थुप्रै अस्पताल खुलेका छन् ।
गर्भमा रहेको सात महिनामै जन्मिएका कारण कमजोर बनेकी छोरीलाई लिएर चितवनका सञ्जय चौधरी सीधै कान्ति बाल अस्पताल आइपुग्नुभयो । भर्ना हुन शय्या नपाएपछि निजी अस्पतालमा जानुभयो । शय्या खाली भएपछि उहाँ निजीबाट कान्ति अस्पतालमा आइपुग्नुभयो । एक महिनाको अस्पताल बसाइपछि बिहीबार ‘डिस्चार्ज’ हुन लाग्नुभएका उहाँले प्रयोगशालामा सधैँ मेसिन बिग्रिएको मात्र जवाफ पाइन्छ । नियमित मर्मत सम्भार छैन । डाक्टर र नर्समा सरकारी कर्मचारी हौँ भन्ने सोच छ भन्नुभयो ।
अस्पतालमा हाडजोर्नीका चिकित्सक छैनन् न त हाडजोर्नी विभाग नै छ । हाड जोर्नी सम्बन्धी समस्या लिएर थुप्रै बालबालिका उपचारका लागि आउने गरे पनि उपचार पाउँदैनन्, उपचार बिना फर्किन्छन् । मुटु सम्बन्धी विभाग त छ तर एक जना पनि चिकित्सक छैनन् । आँखा, नाक, कान र घाँटीको सेवा भर्खरै मात्र सुरु भएको छ । सघन उपचार कक्ष (आईसीयू)मा ३२ वटा शय्या छन् । आईसीयूमा भर्ना पाउन मन्त्री सम्मको दबाब अस्पतालका कर्मचारीले व्यहोर्दै आएका छन् ।
सरसफाइमा ठूलो समस्या छ । निकासको समस्याले मुख्य भवनका शौचालय बन्द छन् । धारामा आउने पानीमा हिलो मिसिएको छ । एउटा मात्र शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) भएकाले शल्यक्रियाका लागि पालो पाउन महिनौँ कुर्नुपर्ने समस्या छ । एक्सरे मेसिन र सीटी स्क्यान उपकरण निकै पुराना भइसकेका छन् ।
कुरुवा घर भए पनि अधिकांश कुरुवा त्यहाँ बस्दैनन् । विगत १० दिनदेखि मेडिकल वार्डमा छोरीको उपचार गराइराख्नुभएका बाराका सन्देशकुमार पटेलले भुइँमा नै सुत्ने गरेको बताउनुभयो । उहाँले वार्डमा पत्नी र छ वर्षकी छोरी छिन् । उनीहरूलाई छाडेर अन्यत्र सुत्न मन लाग्दैन । त्यसैले भुइँको चिसो सहेरै भए पनि वार्डमा सुत्ने गरेको छु भन्नुभयो ।
गत आर्थिक वर्ष २०७५।७६ मा अस्पतालमा एक लाख ५४ हजार ८२३ बालबालिकाले उपचार गराएका थिए । वार्डमा सबैभन्दा बढी क्यान्सरका बिरामी छन् । चिसोमा निमोनिया सम्बन्धी समस्या भएका बालबालिका अस्पताल पुग्नेगरेका छन् । नेपाल सरकारको दरबन्दीमा २६४ जना र विकास समितिको दरबन्दीमा २९६ जनशक्ति कार्यरत छन् । हाल विकास समिति विघटन गरिएको छ । अस्पतालमा ७२ चिकित्सक र ८४ जना स्टाफ नर्स कार्यरत छन् ।
कान्ति बाल अस्पतालका सूचना अधिकारी रमेशनरसिंह केसीले देशका सबै जिल्लाबाट रिफर गरिएका बिरामी यहीँ आउँछन् । स्रोत, साधन र जनशक्ति अभावले सबैलाई सेवा दिन नसकेको स्वीकार्नुभयो ।
आईसीयूमा ५२ शय्या पु¥याउन शैय्या र उपकरणको व्यवस्था गरिए पनि जनशक्ति अभावले सम्भव हुन नसकेको बताउनुभयो । उहाँले करार र ज्यालादारीमा जनशक्तिलाई टिकाउन सकिँदैन । जनशक्ति भर्ना गरेका पनि थियौँ तर बढी आकर्षण भएका अस्पताल वा विदेशतिर हिँडे भन्नुभयो ।
शल्यक्रियाका लागि छिटो पालो मिलाइदिन र आईसीयूमा भर्ना गरिदिन सांसददेखि मन्त्री सम्मका फोन नियमित रूपमा आइरहने बताउँदै उहाँले विगतमा यहाँका चिकित्सकले बाहिरका अस्पतालमा बिरामी रिफर गर्छन् भन्ने नसुनिएको पनि होइन । यो प्रवृत्ति सबै सरकारी अस्पतालमा छ । पछिल्लो समयमा त्यस्तो सुनिएको छैन । बाहिर पठाउनु गलत हो भन्नुभयोे ।
अस्पतालले ‘पेइङ’ सेवा सुरु गरेको पनि थियो । चर्काे शुल्क र पेइङ तर्फका बिरामीले शल्यक्रियाका लागि छिटो पालो पाउने भएपछि विवाद पनि सिर्जना भयो । गत साउनबाट यो सेवा बन्द गरिएको छ । उहाँले अप्रेसन थिएटर विस्तार गर्न करिब १४ करोड रुपियाँ सरकारबाट प्राप्त भएको र त्यसका लागि छिटै बोलपत्र प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गरिदिने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले कुरुवा घर निर्माण गर्न लागेको छ । नेपाल बाल मजदुर सरोकार केन्द्रले बाल मानसिक विभाग निर्माण गरिदिँदैछ । नयाँ एक्सरे मेसिन खरिद गर्न दुई करोड रुपियाँ प्राप्त भएको छ । प्रशासनिक भवनमा भूकम्पपछि रातो स्टिकर लगाइएको छ र अहिले पनि जोखिमका साथ कर्मचारी कार्यरत छन् । बर्सेनि १२ करोड रुपियाँ आम्दानी गर्ने गरेको अस्पतालले १६ करोड रुपियाँ आम्दानी हुने अवस्था रहेमा सहजसँग सेवा प्रदान गर्न सक्ने अस्पतालका सूचना अधिकारी केसीको भनाइ छ ।