सरोज ढुङ्गेल
काठमाडौँ, माघ १२ गते । एक वर्ष पहिलेसम्म हेटौँडा अस्पतालमा दैनिक एक सय बिरामी आउन मुस्किल थियो । अस्पताल उपचारभन्दा पनि ‘रेफर सेन्टर’का रूपमा परिचित थियो । बिरामी हेटौँडा अस्पतालभन्दा भरतपुर र काठमाडाँैं जाने गर्थे । अस्पताल अस्पतालजस्तो थिएन । फोहोरमैलाले भरिएको थियो । मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नियुक्त हुन कोही चिकित्सक पनि मान्दैनथे ।
अहिले हेटौँडा अस्पताल पहिलेजस्तो छैन । अहिले दैनिक चार सय बिरामी आउने गरेका छन् । पछिल्लो समय सङ्घीयबाट प्रदेश सरकारलाई हस्तान्तरण भएका अस्पतालमा उपचारदेखि लिएर जनशक्ति, उपकरण र व्यवस्थापनसमेत सुदृढ र बलियो बन्दै गएको छ ।
हेटाँैडा अस्पताल मात्र होइन, भक्तपुर अस्पताल, त्रिशूली अस्पताल, इलाम अस्पताल लगायतका प्रादेशिक अस्पताल बलियो बन्दै गएका छन् । प्रदेश सरकारले सुधारका कामको थालनी गरेसँगै अस्पतालमा आउने बिरामीको सङ्ख्यामा वृद्धि, जनशक्ति, भौतिक पूर्वाधार लगायत व्यवस्थापन पक्ष सबल बन्दै गएको छ । यस्तै
प्रदेश–१ को इलाम प्रादेशिक अस्पताल विगतमा दैनिक एक सय बिरामी आउँदैनथे । सङ्घबाट प्रदेश सरकारले अस्पताल लिइसकेपछि दैनिक तीन सय जति बिरामी आउने गरेका छन् ।
प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल प्रदेशलाई हस्तान्तरण गरेपछि स्वास्थ्य सेवा उत्कृष्ट हुँदै गएको बताउनुभयो । मन्त्री घिमिरेले अस्पतालमा भौतिक सुधार, व्यवस्थापन पक्ष, उपकरण लगायतका विषयमा धेरै सुधार हुँदै गएको बताउनुभयो ।
मन्त्री घिमिरेले प्रदेश अन्तर्गतको उत्कृष्ट अस्पतालमध्ये हाल इलाम अस्पताल रहेको छ । यी बाहेक इनरुवा, उदयपुर लगायतका प्रादेशिक अस्पताल पनि सुदृढ बन्दै गएका छन् । अस्पतालका भौतिक संरचनालाई समेत सुधार गर्दै लगेका छौँ । प्रदेश मातहतका अस्पताललाई नमुनाका रूपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ । व्यवस्थापकीय दृष्टिकोणबाट अस्पताल सहज बन्दै गइरहेको छ । जनशक्ति कम हँुदा भने समस्या परेको कुरा बताउनुभयो ।
यस्तै बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश अन्तर्गत रहेका अस्पतालमा प्रदेश सरकारले सुधार गर्दै लगेको बताउनुभयो । सङ्घले हस्तान्तरण गर्नुभन्दा पहिले जिल्ला र प्रदेशका अस्पताल एउटा अस्पतालका रूपमा मात्र थिए । त्यहाँ राम्रोसँग उपचारको व्यवस्था गर्न कठिनाइ हुन्थ्यो । मानिसले विश्वास गर्दैनथे भन्नुभयो ।
मन्त्री दुलालले सरकारी अस्पतालमा टाउको दुख्दा सिटामोल लिन मात्र जाने गर्थे । अहिले जटिल किसिमका शल्यक्रिया पनि हुने गरेको जानकारी दिनुभयो । प्रदेश सरकार अन्तर्गतका अस्पताल सुधार अभियान सङ्घले हस्तान्तरण गरेदेखि हालसम्म पनि रहिरहेको जानकारी दिनुभयो । उहाँले प्रदेश अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । यता गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले विगतका तुलनामा प्रदेशले लिएका अस्पताल उत्कृष्ट बन्दै गएको बताउनुभयो । मन्त्री पुनले प्रदेश अस्पतालप्रति जनताको विश्वास बढी रहेको बताउनुभयो । उहाँले अस्पतालमा जनशक्ति बाहेकका अन्य पक्षमा भने सुधार हुँदै गइरहेको बताउनुभयो ।
जनशक्तिको समस्या झेल्नुप¥यो
युवराज दुलाल
सामाजिक विकासमन्त्री, बागमती प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट एक वर्षअघि आठवटा अस्पताल बागमती प्रदेशलाई हस्तान्तरण गरेको थियो । हेटौँडा अस्पताल, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक चौतारा, रसुवा, त्रिशूली अस्पताल, धादिङ अस्पताल र भक्तपुर अस्पताल प्रदेशलाई हस्तान्तरण गरिएको थियो ।
एक वर्षसम्म ती अस्पतालको भौतिक संरचना, व्यवस्थापन, उपकरण लगायतका स्रोेतसाधन केही पनि थिएनन् । अस्पतालमा चिकित्सक जानै चाहँदैनथे । प्रदेश सरकारले ती अस्पताल लिइसकेपछि अस्पताल विकास समिति गठन गरेर काम गरिरहेको छ । अस्पताल सुदृढीकरणका काम थालिएको छ । अस्पतालको उपकरणदेखि फोहोरमैला व्यवस्थापनमा समेत ध्यान दिएका छौँ । चिकित्सकले सङ्घ अन्तर्गतका अस्पताल छाडिदिँदा समस्या भएको छ । छ महिनासम्म जनशक्तिको चुनौती व्यहोर्नुप¥यो । अहिले समायोजना भएका आठौँ तहका चिकित्सकलाई निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट
(मेसु)को जिम्मेवारी दिनुपरेको छ । सामान्यतया ११ तहका चिकित्सकले मेसु हुन पाउने व्यवस्था छ । अस्पताल सुदृढीकरण अन्तर्गत औजार, उपकरण, फार्मेसीको व्यवस्थापन, जनशक्ति व्यवस्थापनजस्ता कार्य अझै गरिरहेका छौँ ।
विद्युतीय हाजिरीलगायतका विषयलाई ध्यान दिएर काम गरिरहेका छौँ । कर्मचारीलाई अनुशासित बनाउने, समयमै कार्यालय आउने र समयसम्म बस्ने व्यवस्थापनसमेत मिलाउँदै छाँै । पछिल्लो समय जनशक्ति सेवा करारमा लिएर अस्पताललाई व्यवस्थित गरिएको छ । सबै अस्पतालमा न्यूनतम सेवाको मापदण्ड लागू गरिएको छ । सिन्धुली, चौतारा अस्पतालमा नयाँ भवन बनाउने प्रक्रियामा छ ।
हेटौँडा अस्पतालमा २५० शøया क्षमताको भवन बनिरहेको छ । त्यसलाई थपेर हेडौँडा अस्पताललाई तीन सय शøयाको बनाइने छ । त्रिशूली अस्पतालमा नयाँ भवनमा अस्पताल सार्ने तयारी भइरहेको छ । प्रदेशले लिनुभन्दा पहिले त्रिशूली अस्पतालमा केही व्यवस्था थिएन । सातौँ तहको नर्सिङ अफिसरले काम गर्नुपर्ने व्यवस्था थियो । त्यहाँ कुनै पनि डाक्टर जान मान्दैनथे । दुर्गम भत्ता र नम्बरसमेत नआउने चिकित्सक हुँदैनथे ।
प्रदेश अस्पतालमा आवश्यक पूर्वाधार निर्माण गर्दैछौँ । अहिले पनि पर्याप्त जनशक्ति सबै अस्पतालमा छैनन् । समायोजन भएपछि माथिल्लो दर्जाका चिकित्सकले केन्द्र रोजेका कारण प्रदेश अस्पताललाई समस्या भएको छ । नवौँ, दसौँ र एघारौँ तहका चिकित्सकले केन्द्रमा रोजेका थिए, जसले गर्दा समस्या भएको थियो ।
अहिले दरबन्दीअनुसार जनशक्तिको व्यवस्था पनि छैन । अनेकन समस्याका अतिरिक्त पनि प्रदेशले लिएका अस्पताल सुधार हँुदै गइरहेका छन् । पछिल्लो समय आवश्यक जनशक्ति करारबाट लिने व्यवस्था भइरहेको छ ।
हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । अन्य अस्पतालमा पनि अक्सिजन प्लान्टको तयारी गरिरहेका छौँ । अस्पतालमा डिजिटल प्रणालीको विकास गरिएको छ । भक्तपुर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) सञ्चालनको तयारी गरिएको छ । भक्तपुर अस्पतालमा आईसीयू सञ्चालन गर्न सकिँदैन भनेर कुनै दाताले दिएको आईसीयू वर्षौंदेखि सञ्चालनमा आएको थिएन । पुरानो भवनलाई रेट्रो फिटिङ गर्ने काम पनि भइरहेको छ ।
दक्ष नेतृत्व आवश्यक छ
जीवन घिमिरे
सामाजिक विकासमन्त्री प्रदेश १
एउटा अस्पताल कस्तो बनाउन सकिन्छ भन्ने विषय नेतृत्वमा भर पर्छ । नेतृत्व राम्रो छ भने अस्पताललाई सुधार गर्न सकिन्छ नत्र गाह्रो छ । नेतृत्वबिना अस्पताल राम्रोसँग सञ्चालन गर्न सकिँदैन । कोसी अस्पतालमा डा. गुणराज लोहनी मेडिकल सुपरिन्टेन्डेन्ट भएर आएपछि केही सुधारका प्रयास भएका थिए तर उहाँ सरुवा भएर गइसकेपछि कोसी अस्पताल दयनीय अवस्थामा छ ।
कोसी अस्पताल केन्द्रीय भनिन्छ तर त्यहाँको उपचार सेवा दयनीय हुँदै जाँदा पूर्वका बासिन्दालाई समस्या पर्छ । यस अस्पतालले राम्रोसँग उपचार सेवा दिनसकेको छैन । अस्पतालमा काम गर्ने हरेक चिकित्सकका बोर्ड अस्पतालबाहिर प्रशस्त देख्न पाइन्छ । त्यही सेवा सरकारी अस्पतालमा दिइँदैन । इलाममा अस्पताल राम्रो रूपमा सुधार भएको छ । इनरुवा अस्पतालले पनि सुधार गरिरहेको छ । समायोजनका कारणले प्रदेश अस्पताललाई समस्या भएको छ । विज्ञ चिकित्सकले सङ्घअन्तर्गतका अस्पताल रोजिदिँदा प्रदेश अस्पतालमा समस्या भएको हो । पछिल्लो समय केन्द्रीय मन्त्रालयसँग समन्वय गरेर अघि बढिरहेका छौँ ।
प्रदेशअन्तर्गतका अस्पतालमा अब जटिल किसिमका शल्यक्रिया हुने गरेका छन् । प्रदेश अस्पताललाई अझै व्यवस्थित गर्न उपकरण, दक्ष जनशक्तिलगायतको व्यवस्था हुनुपर्छ । प्रदेश अस्पताललाई अझै राम्रो बनाउने किसिमले लागिरहेका छौँ ।