प्रकृति अधिकारी
काठमाडौँ, माघ १३ गते । कुनै बखत औषधि राख्ने गरिएको गोदाममा अब सिक्का टङ्कण गरिने भएको छ । नेपाल औषधि लिमिटेडको त्यो गोदाममा नेपाल राष्ट्र बैङ्कअन्तर्गतको टक्सार महाशाखाले सिक्का टङ्कण गर्ने भएको हो ।
धरहरा क्षेत्र विस्तार योजनाका कारण टक्सार महाशाखा विस्थापित भएर बबरमहलस्थित नेपाल औषधि लिमिटेड भवनमा पुगेको छ । महाशाखा अहिले भवनको केही कोठामा कुँजिनुपरेको छ भने जेनतेन गोदामको आधा हिस्सा पाउने अवस्था बनेको छ । त्यसबापत महाशाखाले औषधि लिमिटेडलाई भाडा तिर्नुपर्ने हुन्छ । गत मङ्सिर १ गतेबाट बबरमहलमा सरेको महाशाखा टकमरी मेसिन जडान हुन नसक्दा सिक्का टङ्कण गर्ने कार्य ढिलाइ भएको हो ।
महाशाखाका कायम मुकामय निर्देशक थानेश्वर आचार्यले भन्नुभयो, “सिक्का टङ्कण काम बन्द भएको तीन महिना भयो । ” सिक्का टङ्कण कार्य गत कात्तिकदेखि बन्द भएको हो । दशकदेखि चलन चल्तीका सिक्का टङ्कण गर्न बन्द गरेको टक्सार महाशाखाले अचेल स्मारिका सिक्का, सुनको असर्फी र मेडालियन (मूल्य अङ्कित नगरिएको विशेष सिक्का) टङ्कण गर्दै आएको छ । महाशाखामा टङ्कण गर्नुभन्दा आयात गर्दा सस्तो पर्ने भएकाले चलन चल्तीमा रहेका एक, दुई, पाँच र १० दरका सिक्का विदेशबाटै आयात गरिन्छ ।
महाशाखासँग सिक्का टकमरी गर्ने ७० भन्दा बढी टकमरी मेसिन छन् । धरहरा विस्तार गर्ने योजना अगाडि बढाइएपछि कतिपय मेसिनका अस्थिपञ्जर भताभुङ्ग अवस्थामा छ भने कतिपय त्यत्तिकै थन्क्याइएको छ । महाशाखाले धरहरामा टक्सार सङ्ग्रहालय निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई २३ वटा पुराना मेसिन हस्तान्तरण गरिसकेको छ । बाँकी रहेका ५० थान मेसिन प्रयोगमा आउने अवस्थाका छन् र तिनलाई बबरमहलमा ल्याइने भएको छ । धातु पगाल्ने, पेल्ने, चक्का तयार गर्ने, पालिस गर्ने र टङ्कण गर्ने मेसिन छन् । सुन्धारामा करिब ११ रोपनी जग्गा टक्सारको थियो ।
“चलनचल्तीमा ल्याउन सकिने मेसिनलाई यही (बबरमहल)मा ल्याउँछौँ” उहाँले भन्नुभयो, “औषधि लिमिटेडको पुरानो गोदाममध्ये एउटा भाग हामीले प्रयोग गर्ने सम्झौता भएको छ । अब सुन्धारामा रहेका मेसिन यहाँ ल्याउँछौँ । ”
ती मेसिन ल्याएर जडान गरी टङ्कण कार्य थाल्न कम्तीमा अझै तीन महिना लाग्ने बताइएको छ । सुनको असर्फी केही महिनाका लागि पुग्ने गरी कात्तिकमै छापिसकेको थियो । महाशाखाका कामु निर्देशक आचार्यले मेसिन जडान गरी असर्फी तयार गर्न समय लाग्ने भएकाले सीमित रूपमा बिक्रीवितरण गर्ने गरिएको बताउनुभयो ।
बेरोजगारी रहनुपर्दा महाशाखाले धेरै घाटा व्यहोर्नुपरेको छ । यसबीचमा विभिन्न सरकारी निकायले आफ्ना कर्मचारीका लागि प्रदान गर्ने दीर्घ सेवा पदक छापिदिन आएको प्रस्तावलाई अस्वीकार गर्नुपरेको छ ।
“नेपाल पर्यटन वर्ष २०२० को स्मारिका सिक्का छापिदिन प्रस्ताव आएको छ,” उहाँले थप्नुभयो, “मेसिन जडान नभएकाले त्यो काम पनि अगाडि बढाउन सकेका छैनौँ । सातवटै प्रदेशको स्मारिका सिक्का निकालिदिनुपर्ने काम पनि रोकिएको छ । ”
महाशाखासँग बेलायतमा बनेको टेलर एन्ड च्यानेल नामक कम्पनीको दुईवटा टकमरी मेसिन अझै सुरक्षित छन् । ती मेसिन १८४५ साल अर्थात् तत्कालीन राजा रणबहादुर शाहले राजकाज त्याग्नुभन्दा १० वर्षअघि बनेका हुन् । ती मेसिन नेपालमा कहिले भिœयाइएको भन्ने थाहा हुन नसक्ने पनि राणाकालमा नै भि(ित्रएका थिए भन्ने अनुमान गर्ने गरिएको छ । पुराना मेसिनले अझै पनि सिक्का टङ्कण गर्न सक्ने भए पनि ‘रिजेक्टेड पिस’ बढी आउने भएकाले तिनलाई अब प्रयोग गर्न नसकिने भनाइ महाशाखाका पदाधिकारीहरूको छ । १९७९ सालमा नेपाल सरकारको निकायका रूपमा टक्सार कार्यालय स्थापना भएको थियो र त्यसपछि आधुनिक सिक्का छाप्न थालिएको हो ।
२०४० साल मङ्सिर १५ गते सो कार्यालयलाई नेपाल राष्ट्र बैङ्कलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपछि टक्सार विभाग बनाइएको थियो र हाल टक्सार महाशाखा बनेको छ ।
टक्सार महाशाखाका कामु निर्देशक आचार्यले बढीमा चार वर्षसम्म मात्र बबरमहलमा बस्ने बताउँदै भन्नुभयो, “सानोठिमीस्थित जग्गामा अत्याधुनिक भवन निर्माण गर्ने योजना अगाडि बढाएका छौँ । ” महाशाखाले गत वर्ष ७० करोड रुपियाँ बराबरको सेवाबापतको लाभ प्राप्त गरेको थियो । सुन्धाराको जग्गाको सट्टा अन्यत्र जग्गा दिने सरकारले सहमति गरिसकेको छ ।