logo
२०८१ मंसिर ९ आईतवार



कोरोना भाइरसको प्रभाव पोखरामा बुकिङ रद्द गर्दै पर्यटक

पर्यटन |


कोरोना भाइरसको प्रभाव पोखरामा बुकिङ रद्द गर्दै पर्यटक


पोखरा समाचारदाता

पोखरा, माघ १६ गते । पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ ।
चिनियाँ पर्यटक एड्भेञ्चर र पदयात्राका लागि नेपाल घुम्न आउने गरेका छन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै छ । सङ्क्रमणका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर गरेका फर्किइसकेको व्यवसायी सोम थापाले बताउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चीनमा देखिएको कोरोना भाइरससँगै अन्नपूर्ण क्षेत्रमा देखिएको हिमपहिरोका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटकको आगमन दर पनि निकै न्यून रहेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेलले अन्नपूर्ण हिमपहिरो र कोरोना भाइरसको त्राससँगै कतिपय पर्यटकले बुकिङ नै रद्द गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयोे, नेपाल भ्रमण वर्ष २०२० लाई समेत यो भाइरसले असर गर्ने प्रस्ट सङ्केत देखिएको छ ।
केही दिन अगाडि मात्र भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ गरेको नेपाली पर्यटन क्षेत्रले शृङ्खलाबद्ध बाधाहरू झेल्दा निकै मार खेप्नु परिरहेको छ । अन्नपूर्ण क्षेत्रमा आएको हुदहुद आँधी, अघिल्लो शुक्रबार सोही क्षेत्रमा हिउँपहिरो आउँदा कोरियाली र नेपाली पदयात्री हराउनु, धौलागिरि क्षेत्रमा आरोहीको मृत्युजस्ता कैयौँ घटनाको मार पर्यटन क्षेत्रले झेल्दै अएको छ ।
नेपालले भ्रमण वर्ष २०२० मनाइरहँदा चीनबाट धेरै पर्यटक भित्रिने आशा व्यवसायीको रहेको थियो तर भाइरसका कारण पर्यटक दर घट्दै गएको छ । यता, अन्नपूर्ण पदयात्राका लागि दैनिक एक हजार एक सय विदेशी पर्यटक जाने गरेका थिए । एक्यापका जगन गुरुङले भन्नुभयो, २०२० मा बढ््ला जस्तो थियो तर हिमपहिरोका कारण अन्नपूर्ण बेसक्याम्प र राउन्ड अन्नपूर्ण बन्दप्रायः छ ।
यसैबीच, नेपाल घुम्न आउने पर्यटकका लागि सरकारले आवश्यक सुरक्षाको प्रत्याभूति दिन नसकेको व्यवसायीको गुनासो छ । यदि पोखरामा पनि सङ्क्रमण देखिए कहाँ जाने, कसरी उपचार गर्ने भन्नेबारे राज्यले यकिन स्थान तय गर्नुपर्ने उनीहरूको माग छ । नेपाल घुम्ने राम्रो सिजन भनेको अक्टोबरदेखि नोभेम्बर हो । नेपाल भित्रिनेमा चिनियाँ पर्यटकको सङ्ख्या एक लाख ६८ हजार थियो । यस्तै, सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए । तीमध्ये चिनियाँ एक लाख ५३ हजार थिए । नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा करिब ४० प्रतिशत आउने गरेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?