गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १७ गते । बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव न्यून गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा रिपोमार्फत १० अर्ब रुपियाँ बजारमा पठाउन लागेको छ । केन्द्रीय बैङ्कले बैङ्किङ प्रणालीमा तरलता सन्तुलन राख्नकै लागि बिहीबार १० अर्ब रुपियाँ पठाएको हो । केन्द्रीय बैङ्कले एक हप्ता अवधिका लागि जारी गरेको रिपो आगामी बिहीबार परिपक्व हुनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत बिहीबार अपरान्ह ३ बजेभित्र बोलकबोलमा सहभागी भएका थिए ।
बैङ्क तथा वित्तीय संस्थाहरूले साढे चार प्रतिशत वा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन् । साढे चार प्रतिशत वा सोभन्दा कम ब्याजदर कबोल गरी पेस भएका बोलपत्र रद्ध गरिने बताइएको छ । वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैङ्कले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ । यसअघि पनि गत माघ ७ गते एक साताका लागि २० अर्ब रुपियाँको रिपो जारी गरेको थियो ।
पाँच महिनामा ३० अर्ब रुपियाँ तरलता प्रशोचन
राष्ट्र बैङ्कले पाँच महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपियाँ तरलता प्रशोचन गरेको छ ।
आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपियाँ तरलता प्रशोचन गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा एक सय अर्ब ३५ करोड रुपियाँ तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा रिपोमार्फत ३९ अर्ब ५२ करोड रुपियाँ र स्थायी तरलता सुविधामार्फत ५० अर्ब ५५ करोड रुपियाँ गरी कुल ९० अर्ब सात करोड रुपियाँ तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत पाँच अर्ब ७२ करोड रुपियाँ तरलता प्रवाह भएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क) बाट अमेरिकी डलर एक अर्ब ४२ करोड खुद खरिद गरी १६१ अर्ब ९९ करोड रुपियाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब १० करोड खुद खरिद गरी १२६ अर्ब ६४ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ७२ करोड बिक्री गरी १९५ अर्ब ३२ करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ७४ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी २२० अर्ब १६ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद गरिएको थियो ।
यस्तै २०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड रुपियाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०७६ मङ्सिर मसान्तमा १०८८ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ मङ्सिर मसान्तमा नौ अर्ब ६३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रुपियाँ रहेकोमा २०७६ मङ्सिर मसान्तमा ९४६ अर्ब २९ करोड रुपियाँ पुगेको छ । बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रुपियाँ रहेकोमा २०७६ मङ्सिर मसान्तमा १४२ अर्ब तीन करोड रुपियाँ पुगेको छ । २०७६ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अङ्श २३.५ प्रतिशत रहेको छ ।