logo
२०८१ मंसिर १४ शुक्रवार



विभिन्न विषयका ११ बुँदै प्रस्ताव पारित हुँदै नेकपा बैठक सम्पन्न (दस्तावेज सहित)

मुख्य समाचार |


विभिन्न विषयका ११ बुँदै प्रस्ताव पारित हुँदै नेकपा बैठक सम्पन्न (दस्तावेज सहित)


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विधान प्रतिवेदन र महासचिव विष्णु पौडेलको संगठनात्मक प्रतिवदेनसहित विभिन्न विषयका ११ बुँदै प्रस्ताव पारित गरेको छ ।
बैठकले उपाध्यक्ष पद सिर्जना गरी सो पदमा वामदेव गौतमलाई सर्वसम्मत चयन गरेको छ भने मिलेनियम च्यालेञ्ज कोअपरेशन (एमसीसी)बारे दशदिनभित्र प्रतिवेदन बुझाउन पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा तीनसदस्यीय कार्यदल बनेको केन्द्रीय सदस्य हितमान शाक्यले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो ।
त्यसैगरी, भारतले एकतर्फी रुपमा सार्वजनिक गरेको भारतीय राजनीतिक नक्सालाई अस्विकार गर्दै नेपालको आधिकारिक राजनीतिक नक्सा सार्वजनिक गर्ने विषयमा पनि निर्णय भएको छ ।
विभिन्न विषयका ११ बुँदै प्रस्तावलाई महासचिव विष्णु पौडेलले पढेर सुनाउनुभएको थियो । हालै नेपालका लिम्पियाधुरा, लिपुरलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दै ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एवं सुस्ता क्षेत्रको विषयमा कुटनीतिक र राजनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
त्यसैगरी, नोभल कोरना भाइरसबाट संक्रमणबाट नेपाली जनतालाई सुरक्षित गर्न सीमानाकाहरुमा उच्च सतर्कता अपनाउँदै चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीलगायत नेपाली नागरिकलाई आपत्कालीन उद्दार गर्न सरकारसँग आग्रह गरिएको छ ।
इरान र इराकलगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै समस्याको वार्ताद्वारा शान्तिपूर्ण समाधान गर्न सम्वद्ध पक्षसँग आह्वान गरिएको छ ।
त्यसैगरी, राष्ट्रियसभामा निर्वाचित सांसदहरु, प्रतिनिधिसभाका सभामुख, तेहौं साग खेलकुद आयोजनाका निम्ति नेपाल सरकार र सम्वद्ध निकाय र दोश्रो स्थान दिलाउने नेपाली खेलाडीलाई हार्दिक वधाइ ज्ञापन पनि नेकपाको बैठकले गरेको छ ।
बल्खु मदननगरमा रहेको पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने तयारी पनि उक्त पार्टीले गरेको बताइएको छ ।

 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?