सुरेशकुमार यादव
काठमाडौँ, माघ २२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि पार्टीका विभिन्न विभाग सक्रिय भएका छन् । विभागहरू क्रियाशील भएर आआफ्नो काम थालनी गरिसकेका छन् । त्यसमध्येका सङ्गठन विभाग केन्द्रीय कमिटीको बैठक सकिएको भोलिपल्ट नै बैठक बसेर आफ्ना काम सुरु गरिसकेको छ ।
विभिन्न प्रदेश तथा जिल्लामा देखिएका विवाद समाधान गर्न विभागलाई सक्रिय गरिएको छ । त्यसका लागि विभागका प्रमुख वामदेव गौतम स्वयं आफैँ सक्रिय हुनुभएको छ । केन्द्रीय कमिटीले प्रदेश, जिल्ला तथा पालिकामा पार्टीभित्र देखिएका विवाद मिलाउने जिम्मेवारी सङ्गठन विभागलाई दिएको छ । जिम्मेवारी पाउने बित्तिकै त्यसका लागि कामहरू सुरु भएको जानकारी दिइएको छ । पार्टी एकताको विषयमा तल्लो तहमा केही ठाउँमा विवाद देखिएको छ । त्यसलाई समाधान गर्न विभाग योजनाबद्ध तरिकाबाट अगाडि बढ्ने निर्णय गरेको विभागका सदस्य हरिराज अधिकारीले बताउनुभयो ।
पार्टी सदस्यको सदस्यता नवीकरणदेखि प्रक्रिया कसरी चाँडै टुङ्गो लगाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो । प्रदेश, जिल्ला, पालिकाहरूको देखिएको विवाद समाधान गर्न तत्कालै विभागको काम थाल्ने र त्यसको सुरुआत प्रदेश २ बाट हुने बताइएको छ । एकीकरणको विषयलाई लिएर सबभन्दा बढी विवाद प्रदेश २ मै छ । केही जिल्लामा शपथग्रहणसमेत भएको छैन । प्रदेश २ मा देखिएको विवादलाई लिएर पार्टीमा उजुरीसमेत परेको छ । सोही उजुरीका आधारमा त्यहाँको विवादलाई विभागले समाधान गर्ने सदस्य अधिकारीले बताउनुभयो ।
विभागको बैठकले महानगर कमिटीलाई सीधै प्रदेश समिति मातहत ल्याउने गरी विधान संशोधन गर्न पार्टीलाई सुझाव दिने निर्णय पनि गरेको छ । महानगर र जिल्ला कमिटीको काम, कर्तव्य र अधिकारमा विवाद उत्पन्न भएपछि त्यस विषयमा केन्द्रीय कमिटीको बैठकमा पनि कुरा उठेको थियो । महानगर र जिल्ला कमिटीको कसको मातहतमा रहने विवाद चलिरहेको थियो ।
विभागका बैठकमा प्रमुख गौतमले केन्द्रीय कमिटीबाट कार्ययोजना पारित भएको र अब त्यसका आधारमा सङ्गठनलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । सङ्गठन विभागले तयार पारेको सङ्गठित सदस्यता नवीकरण, पार्टी नियमावलीमा संशोधन लगायतका कामलाई गति दिन पार्टीले जारी गरेको ११ बुँदे आचारसंहिता जस्ता विषयको कार्ययोजना केन्द्रीय सचिवालयबाट पारित भएपछि विभागलाई काम गर्न सजिलो भएको छ
विभाग विस्तार
सङ्गठन विभाग पुनः विस्तार भएको छ । यसअघि रहेको पाँच सदस्यीय कार्यसमितिमा १० जना थपेर १५ सदस्यीय बनाएको अधिकारीले बताउनुभयो । सुरुमा विभागको प्रमुखमा गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको थियो । त्यसपछि असोज २९ गते बसेको सचिवालय बैठकले तीन जना सदस्य थपेको थियो । त्यसमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरिराज अधिकारी हुनुहुन्थ्यो ।
माघ १९ गते बसेको सचिवालय बैठकबाट विभागमा १० जना थपिएका छन् । त्यसमा मुख्यमन्त्रीसमेत रहनुभएका शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङ रहनुभएको छ । त्यस्तै भीम रावल, भीम आचार्य, सुदन राई, जगप्रसाद शर्मा, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट र रेखा शर्मा विभागको सदस्यमा थपिनुभएको छ ।