देवबहादुर कुँवर / मधुसूदन तिमिल्सिना
काठमाडौँ, माघ २६ गते । बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेका टोल दिउँसो ‘सुनसान’ जस्तै देखिन्छन् । यो नेपाली नागरिक बस्ने टोल होइन । यो शरणार्थी शिविर भएको छ । म्यानमारबाट आएका रोहिङ्गा शरणार्थीका रूपमा यहाँ बस्दै आएका छन् ।
शिविरमा दिउँसो तन्नेरी महिला–पुरुष नभई बालबालिका मात्र देखिन्छन् । शिविर आसपासका स्थानीयका अनुसार मजदुरी र ज्यालादारी गर्न बजार निस्किने गरेकाले दिउँसो शरणार्थी शिविर सुनसान हुने गरेका हुन् । रोहिङ्गा शरणार्थी शिविर छोडेर मजदुरी र ज्यालादारी गर्न थालेपछि व्यवस्थापनमा थप समस्या उब्जेको छ । बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष राजु अधिकारीले रोहिङ्गा दिनभर मजदुरी गरी राति सुत्नमात्र शिविर आउने भएकाले शान्तिसुरक्षा व्यवस्थापनमा चुनौती थपेको बताउनुहुन्छ ।
स्थानीय राजन केसी, हरिशचन्द्र श्रेष्ठ र रामसुन्दर अधिकारीलगायतका जग्गाधनीलाई शरणार्थीले कहिले जग्ग्गा छोड्लान र खेती गरौँला भन्ने जस्तै भएको छ । उहाँ भन्नुहुन्छ, ‘‘शिविर भित्रबाट शान्तिसुरक्षा खल्बल्याउने किसिमका आपराधिक गतिविधि सञ्चालन हुन्छन् कि भन्ने चिन्ता पनि छ ।’’कतिपय शरणार्थी शिविर छोडेर अन्यत्रै जाने, आपसमा झैझगडा र स्थानीयसँंग विवाद गर्ने भएकाले सुरक्षाको दृष्टिकोणले व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । एकजनाको आठवटीसम्म श्रीमती फेला परेकाले थप रोहिङ्गा भित्रिन सक्ने चुनौती पनि त्यत्तिकै छ ।
त्यस्तै शिविरमा हुने अवैध र शङ्कास्पद गतिविधिको अनुगमन तथा निगरानी हुन नसक्दा भविष्यमा थप सङ्कट निम्तिनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । वडाध्यक्ष अधिकारी रोहिङ्गाको गतिविधिबाट स्थानीयवासी आजित भइसकेको बताउनुहुन्छ ।
कुन दिन स्थानीय र शरणार्थीबीच झडप हुन्छ भन्ने चिन्ता छ । दलाललाई रकम उपलब्ध गराउनेदेखि राहत
वितरणसम्म एकआपसमा विवाद हुने गरेको छ । कोही शिविर छोडेर भाग्न थालेका छन् । कोही शरणार्थी राहत र आश्रयको माग गर्दै विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था धाइरहेका छन् ।
यकिन सङ्ख्याको अभाव
लसुनटार र राममन्दिरमा गरी करिब १४ रोपनी जमिनमा ३५० देखि ३८० जनासम्म शरणार्थी रहेको अनुमान गरिएको छ । एउटै व्यक्तिको आठवटीसम्म श्रीमती भएकाले बालबालिका तथा महिला–पुरुष गरी स्पष्ट सङ्ख्या उल्लेख हुन नसकेको हो ।
त्यहाँबाट ४० छाप्रोका करिब ४० परिवार दुई महिना अघि उठेर काभ्रेको पनौती पुगेका थिए । तर शरणार्थीको कुल सङ्ख्या पनि चार सयको हाराहारी हुनसक्ने बताइएको छ । गृह प्रवक्ता केदारनाथ शर्मा तीन सयदेखि ३५० को हाराहारीमा हुनसक्ने बताउनुहुन्छ ।
म्यानमारका रोहिङ्गा शरणार्थी बीचका विभिन्न मुलुकको सिमाना पार गरी कहिले र कसरी नेपाल आए सरकारी निकायसँंग स्पष्ट सूचना छैन । प्रवक्ता शर्मा भन्नुहुन्छ, ‘‘खुला सिमाना मुख्य कारण हुनसक्छ ।’’ उहाँले थप रोहिङ्गा आउन नदिन बोर्डर आउट पोस्ट (बीओपी) थप्नुका साथै सम्भावित नाकामा कडाइ गरिएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय शरणार्थी आयोग (यूएनएचसीआर) को नेपाल पक्ष राष्ट्र होइन । शरणार्थीलाई कानुनसम्मत हटाउन सक्ने अधिकार छ । सरकारी अधिकारी भन्छन्, ‘‘शान्तिभूमि, मानव अधिकार र मानवीय नाताले आश्रय दिनुपर्ने बाध्यता छ ।’’
नेपालमा चीनको तिब्बतबाट करिब १२ हजार र भुटानबाट ६५ हजार शरणार्थी आएका छन् । शरणार्थी बौद्ध कपन क्षेत्रमा बस्ने गरेकाले आपराधिक गतिविधि सञ्चालनमा नेपालको भूमि दुरूपयोग हुनसक्ने खतरा त्यत्तिकै छ ।
आठ वर्षअघि नै सुरु
म्यानमारबाट बङ्गलादेश पसेकामध्ये करिब एक सय जना रोहिङ्गा शरणार्थी भारत हँुदै नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । बङ्गलादेश, भारत, नेपाल र पाकिस्तानका सङ्गठित दलालमार्फत प्रतिव्यक्ति २५ देखि ४० हजार भाट शुल्क तिरेर नेपाल आएका हुनसक्ने बताइन्छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि उनीहरू अन्य नागरिकसँंगै रोहिङ्गा सडकमा निस्केपछि सरकार सतर्क हुन बाध्य भएको थियो । भूकम्पपछि थप रोहिङ्गा नआएको दाबी सरकारी निकाय छ तर स्थानीयवासी भने ५० जनाभन्दा बढी थपिएको बताउँदै आएका छन् ।
भूकम्पअघि घर, कोठा तथा फल्याट भाडामा लिएर बस्दै आएका रोहिङ्गा पछि सङ्गठित रूपमा सर्वसाधारणको जग्गा भाडामा लिई टहरा बनाएर बस्न थालेका हुन् । नेपाल प्रहरीले भाषा, धर्म, संस्कृति र व्यावहारिकताको दृष्टिकोणले अन्य शरणार्थीभन्दा रोहिङ्गालाई ‘खतरा’को सूचीमा राखेको छ ।
शान्तिसुरक्षा तथा अनुगमन
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले रोहिङ्गाका गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको बताउनुभयो । स्थानीय प्रहरीले स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय गरी रोहिङ्गा शरणार्थीका विषयमा शान्तिसुरक्षा तथा अनुगमन गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
यसैबीच आर्थिक प्रलोभनमा रोहिङ्गा नेपाल भिœयाउन सक्रिय दलालमाथि कडा कारबाही हुनुपर्ने माग उठे पनि सरकार मौन बसेको आरोप लागेको छ । दलालले नै रोहिङ्गालाई ज्याला–मजदुरीको काम खोज्नेदेखि काभ्रेको पनौतीसम्म पु¥याएको पाइएको छ ।
राहत वितरणमा पनि शिविरमा सक्रिय दलालबीच नै रकम लेनदेनको विषयमा झगडा हुने गरेको छ । वडाध्यक्ष अधिकारीका अनुसार विभिन्न गैरसरकारी सङ्घसंस्थाको आवरण रोहिङ्गा शरणार्थीलाई संरक्षण दिने कार्य भइरहेको छ । भाडाको जग्गाबाट हट्नेबित्तिकै सरकारी जग्गा कब्जाको रणनीतिमा दलाल सक्रिय देखिएका छन् ।
छाडे कुशादेवी पनि
रोहिङ्गा समुदायले पनौती नगरपालिका—३ कुशादेवी छाडेका छन् । म्यानमारबाट लखेटिएपछि नेपाल छिरेर मङ्सिर १० गतेबाट पनौतीको कुशादेवी बस्दै आएका रोहिङ्गा यहाँ छाडेर काठमाडौँ गएका हुन् ।
उनीहरू बङ्गलादेश, भारत हुँदै नेपाल आइपुगेका थिए । समूहका नेता मोहम्मद यसुपले कुशादेवी छाडेर काठमाडौँ कपन बस्न थालेको जानकारी दिनुभयो । पाँच वर्ष बस्ने सहमति गरेका थियौँ तर स्थानीयको दबाबका कारण साहुले जग्गा छाड् भनेपछि हामी छाडेर काठमाडौँ कपन गएको उहाँले जानकारी दिनुभयो । काठमाडाँैंबाट मङ्सिर १० गते यहाँ आइपुगेका रोहिङ्गाले चार रोपनी जग्गामा अस्थायी टहरा बनाएका थिए । कुल ३४ जना बसोवास गर्दै आएका रोहिङ्गामा १३ जना पुरुष नौ जना महिला र १२ जना बालबालिका थिए ।