logo
२०८१ मंसिर १४ शुक्रवार



कर्णाली करिडोर: जोखिम मोलेर खोलिँदै ट्र्याक

मुख्य समाचार |


कर्णाली करिडोर:  जोखिम मोलेर खोलिँदै ट्र्याक


राजन रावत

सिमकोट, माघ २६ गते । कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न गर्नुपर्ने भएपछि सेनाले कामलाई तीव्रता दिएको हो ।
बिहान साढे छ बजेदेखि बेलुका अँध्यारो नहुँदासम्म चट्टान विस्फोटका लागि ‘होल’ खोप्ने काम गर्दै आउनुभएका सर्केगार्ड गाउँपालिका–४ का प्रेमबहादुर शाहीले निकै डरलाग्दो भीरमा ज्यान जोखिममा राखेर काम गरिरहेको बताउनुभयो । डोरीले शरीर बाँधेर कडा चट्टानमा खोप्ने कार्य निकै जोखिमपूर्ण भए पनि कामदार कडा मेहनतका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँको समूहमा आठजना कामदार छन् ।
कर्णाली करिडोरको कवाडी सलीसल्ला खण्डको बालुकुनादेखि सलीसल्लासम्मको १२ किलोमिटर दूरीलाई निकै जोखिम क्षेत्र मानिएको छ । कडा चट्टानका साथै जमिन भिरालो र चट्टानी भीर भएका कारण माथिबाट ढुङ्गा खस्ने जोखिम छ ।
टाउकोमा हेलमेट, आँखामा चस्मा, खुट्टामा गमबुट, शरीरमा डोरी बाँधिएको अवस्थामा समयमै काम पूरा गर्न सडक निर्माणमा खटिएका स्थानीय मजदुर र नेपाली सेनाका जवान क्रियाशील छन् ।
सेनाले कर्णाली करिडोरअन्तर्गत काम सम्पन्न गरेको क्षेत्रमा सडक स्तरीय र चौडा रूपमा निर्माण भएको छ । हुम्ला खण्डमा निर्माणको कार्य धमाधम भइरहेको जिल्ला दक्षिणी क्षेत्रको अनुगमन गरेर आउनुभएका प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले जानकारी दिनुभयो । तर हुम्ला खण्डमा काम गर्ने मजदुरले निकै जोखिम लिएर काम गरिरहेको उहाँले बताउनुभयो ।
सेनाले जिम्मा लिएको काम स्थानीय मजदुरको साथ लिएर प्रशंसनीय काम भएको उहाँले बताउनुभयो । यही गतिमा काम भए हुम्ला जिल्लामा गाडी गुडाउन सफलता मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कर्णाली करिडोरको हुम्ला खण्डमा आधा दर्जन भीर फुटाउने कार्य एकसाथ भइरहेको र त्यो कार्य निकै जोखिम रहेको नेपाली सेनाका खुलालु, लैफु कवाडी हुँदै सलीसल्ला सडक आयोजनाका प्रमुख मेजर इन्जिनियर मिलन कार्कीले बत(ाउनुभयो । यसमा सलीसल्ला, नेरघार, खच्चा, पम्पडे, बालुकुनालगायतका कडा चट्टानी र असजिला भीर रहेको उहाँले बताउनुभयो । कामदार र सेनाले रातदिन नभनी काममा खटिएको कारण चालू आर्थिक वर्षभित्रै हुम्ला खण्डको प्रारम्भिक ट्र्याक खोल्ने कार्य सम्पन्न गरेर गाडी गुडाउनका लागि सेना लागिपरेको उहाँले बताउनुभयो ।
करिडोरका कवाडीदेखि सलीसल्लसम्मको ६१ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाका २१० जना र अन्य कामदार गरी ३५० जना रहेको बताउँदै कार्कीले १९ वटा होल खोप्ने मेसिनबाट काम भइरहेको जानकारी दिनुभयो ।

कामदारलाई सुरक्षा व्यवस्था
हुम्ला खण्डमा कर्णाली करिडोरमा काम गर्ने सबै कामदारको सुरक्षाको प्रबन्ध मिलाइएको जनाइएको छ । कामदारलाई काम गर्ने बेला आवश्यक सुरक्षाका सामग्री वितरण गरेर काम गर्ने समयमा अनिवार्य लगाउन लगाइएको इन्जिनियर कार्कीले बताउनुभयो । प्रत्येक कामदारलाई हेल्मेट, चस्मा, पन्जा, ज्याकेट, गमबुट, डोरीलगायतका सामग्री वितरण गरिएको छ ।
सडक निर्माणमा खटिएका सेना र अन्य कामदारलाई काम गर्ने क्रममा घाइते भएमा एक लाख रुपियाँसम्म उपचारका लागि बीमा गरिएको छ भने मृत्यु भएमा दश लाख रुपियाँको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । काम जोखिमपूर्ण भएका कारण कामदारको सुरक्षाको पनि व्यवस्था गर्नु आवश्यक रहेको
उहाँले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?