सुरेशकुमार यादव
काठमाडौँ, फागुन ४ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा रहेको तरकारी विषादीको परीक्षण कार्यालय सहयोगीले गरिरहेको पाइएको छ । फागुन १ गते गोरखापत्रले गरेको स्थलगत अनुगमनमा त्यस्तो पाइएको हो ।
पाँच जनाको दरबन्दी रहेको सो एकाइमा कार्यालय सहयोगीसहित तीन जना कर्मचारी छन् । कार्यालय सहयोगीसहित तीनै जना कर्मचारी बजारबाट नमुना सङ्कलन गरेर ल्याएपछि प्रयोगशालामा परीक्षण गर्नुहुन्छ ।
एकाइको कार्यालयमा भेटिनुभएका कार्यालय सहयोगी जसकला एडीले आफूले पनि तरकारीको विषादी परीक्षण गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, हामी तीनै जनाले बजारबाट स्याम्पल ल्याएर परीक्षण गर्छौं । सरहरूले परीक्षण गरेको देखेर नै मैले पनि सिकेकी हुँु र त्यसैका आधारमा परीक्षण पनि गर्दै आएकी छु । त्यो एकाइमा अर्गानो फस्फेट र कार्बामेटको मात्र परीक्षण हुन्छ । त्यसको जाँच गर्न आफूले पनि जानेको उहाँले बताउनुभयो । एकाइका प्राविधिक जागेश्वर शर्माले जनशक्तिको अभावका कारण कार्यालय सहयोगीको पनि सहयोग लिनु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँ (एडी) प्राविधिक हुनुहुन्न तर देखेर उहाँले सिक्नु भएको हो, शर्माले भन्नुभयो, यो एकाइमा पाँच जनाको दरबन्दी छ तर तीन जना मात्रै छौँ । हामी सबै जना मिलेर नै काम गर्नुपर्छ । तर त्यही काम गर्ने बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले भने कार्यालय सहयोगीले परीक्षण नगरेको उहाँबाट सामान्य सहयोग लिने गरेको दाबी गर्नुभयो । जनशक्तिको अभाव हो तर जनशक्तिको अभाव हुँदैमा तालिम नलिएका ज्ञानै नभएका व्यक्तिसँग कसरी परीक्षण गराउने ? भन्दै उहाँले जनशक्ति नभएको दिन बरु कार्यालय बन्द गर्ने गरेको तर सहयोगीबाट परीक्षण नगराएको दाबी गर्नुभयो । प्राविधिक शर्माले जनशक्ति अभावको कारण जसोतसो काम चलाउनु परेको र २४ घण्टा चल्नुपर्ने कार्यालय आठ घण्टा मात्र चल्ने गरेको बताउनुभयो ।
कालीमाटी तरकारी बजारमा दैनिक तीन हजारदेखि सात हजार मेट्रिक टन हरियो तरकारी भित्रिन्छ, साना ठूला गाडी नै तीन सयदेखि चार सयसम्म भित्रिएका हुन्छन् । शर्माले भन्नुभयो, यहाँ कम्तीमा २४ घण्टै ड्युटी हुनुपर्ने कार्य प्रकृति छ र दिनमा कम्तीमा एक सयदेखि दुई सय नमुना परीक्षण हुनुपर्छ तर तीन जनाले काम चलाउनु परेको छ ।
एकाइमा बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र कर्मचारीले काम गर्छन् । अधिकांश तरकारी बिनापरीक्षण बिक्री हुने गरेको छ । १२ बजेपछि आउने तरकारीको कुनै परीक्षण हुँदैन ।
प्राविधिक शर्माका अनुसार दैनिक सात–आठवटा नमुना मात्र परीक्षण हुन्छ । अनुगमनका क्रममा थुप्रै व्यपारीसँग विषादी परीक्षण गराएको प्रमाणपत्र देखाउन सकेका थिएनन् ।