शान्ति लामा / गोकर्ण दयाल
बैतडी, फागुन ४ गते । मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदै आएको छ ।
अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ । मदिरा नियन्त्रण यहाँको मुख्य चुनौती रहेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । घरेलु मदिरा प्रतिबन्ध गर्ने अभियान सबै स्थानीय सरकारले चलाएको छ । गुणस्तरहीन मदिरामा अन्तःशुल्कको टिकटसमेत टाँसिएको हुँदैन । यस्ता मदिराले एकातिर सर्वसाधारणको स्वास्थ्यमा क्षति पु¥याइरहेको छ भने अर्काेतिर आर्थिक
तथा सामाजिक अपराध बढाउन सहयोग गरेको स्थानीय बताउँछन् । गाउँ र बजारका मदिरा पसलहरूमा प्रतिबन्धित मदिरासमेत निर्वाध खरिद बिक्री भइरहेको गुनासो सुनिन्छ ।
महिला र बालबालिका पीडित
मदिरा सेवनबाट सिर्जित घरेलु हिंसा तथा अपराधमा बढीजसो महिला र बालबालिका प्रभावित भएका छन् । निर्वाचित जनप्रतिनिधि आएपछि घरेलु मदिरा नियन्त्रणका सकारात्मक प्रयासहरू भएका छन् तर सडकसँगै गाउँगाउँमा बजारु मदिरा पनि पुगेको छ । मुख्य गरी यस्ता मदिरा उपभोग गर्ने यहाँका पुरुषहरू हुन्छन् । परिवारका पुरुषले मदिरा खाए घरमा झगडा हुँदा महिला र बालबालिका सबैभन्दा प्रभावित हुने गरेको गैरसरकारी संस्था महासङ्घ बैतडीका अध्यक्ष गोविन्दराज जोशी बताउनुहुन्छ । बाजुरा बुढीगङ्गा नगरपालिकाकी सीमा (नाम परिवर्तन) को १५ वर्षको उमेरमै विवाह भयो । अहिले एक स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सीमा आफू बाध्यताले बालविवाह गरेको बताउनुहुन्छ ।
‘‘घरमा बुवा रक्सी खाएर सधैँ आमालाई कुटपिट गर्ने र सबैलाई गाली गर्ने भएकाले घर बस्नै मन लागेन अनि बिहे गरेँ,’’ उहाँको भनाइ छ । यो सुनाइरहँदा उहाँको आखामा आँसु छचल्कियो । श्रीमान् मजदुरी गर्न भारत गएकाले सासूको हेरविचार गरी सीमा गाउँमै बस्नुभयो । बीस वर्ष नपुगी विवाह गर्न हुँदैन भन्ने थाहा हुँदाहुँदै जड्याहा बुवाको अत्याचारबाट मुक्त हुन आफूले राजीखुसीले विवाह गरेको उहाँको भनाइ छ ।
पढ्न सक्दैनन् बालबालिका
बैतडी सदरमुकामस्थित पुरानो विद्यालय दशरथ चन्द प्राथमिक विद्यालयमा अहिले हलिया र दलितका बालबालिका मात्र पढिरहेका छन् । न्यून आय भएका परिवारका यी बालबालिकालाई शैक्षिक सामग्री, लुगाफाटाको मात्र अभाव हैन, उनीहरू घरमा अध्ययन गर्ने राम्रो वातावरण पनि पाएका छैनन् ।
केही दिनअघि विद्यालयका एक विद्यार्थी टाउकोमा चोट लिएर रुँदै विद्यालय आएको सुनाउँदै शिक्षक दीपक भट्ट भन्नुहुन्छ, ‘‘बाबाले रक्सी खाएर आए, होमवर्क गर्नै पाइएन भन्छन् । अधिकांश विद्यार्थीको गुनासो नै यही हुन्छ ।’’ मदिरा सेवन गरेर घरका ठूला मान्छेले झैझगडा गर्ने गरेका कारण बालमैत्री वातावरणमा बालबालिकाले पढ्न पाएका छैनन् । त्यसैले अधिकांश हलिया र दलित परिवारका बालबालिकाको पढाइ कमजोर रहेको प्रधानाध्यापक शरबसिंह ठगुन्नाले बताउनुभयो ।
विदेशमा श्रमपछि मदिरामै स्वाहा
अछाम मङ्गलसेन–३, विरालतोलीकी सविता परियार (४०) लाई खेतीपातीले तीन महिना खान पनि पुग्दैन । घर चलाउन कहिले पाएसम्म ज्याला मजदुरी गर्ने र
कहिले आधा पेट नै बस्नुपर्ने दुखेसो पोख्नुहुन्छ । उहाँका श्रीमान् भने रोजगारीका लागि भारत जानुभएको छ । तर श्रीमान्बाट पनि गतिलो भरथेग भएको छैन । ‘‘श्रीमानले कहिलेकाहीँ दुईचार हजार पठाउँछन् । रक्सी खाने बानी छ, उतै सिध्याएर आउँछन्,’’ उहाँले भन्नुभयो ।
सुदूरपश्चिम पहाडका हरेकजसो घरका सदस्य भारतमा मजदुरी गर्न गएका छन् । भारत जाने पुरुषहरूले ल्याएको केही कमाइ पनि मदिरा पिएर सक्ने र केहीले त उतै मदिरा पिएर सिध्याउने बानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिनुभयो । ‘‘बम्बईबाट अलिअलि कमाएर ल्याउने र यहाँ मदिरा खाएर सिध्याउने । फेरि अभावले भारत मजदुरी गर्न जाने चलनजस्तै छ, यसमा अब सामाजिक जागरणको खाँचो छ,’’ डीएसपी भट्टराई भन्नुभयो ।
कुपोषण र मदिरा
केही महिनाअघि बैतडी सिगास–८ रजिउडाकी भागीरथी ऐरकी १४ महिनाकी छोरीलाई कडा खालको कुपोषण लाग्यो । त्यतिखेर नै उहाँका श्रीमान् भने रक्सी पसलको उधारो तिर्न नसकेपछि कमाउन भारत भासिनुभयो । जम्मा तीन किलोग्रामकी छोरीको उपचार नभएपछि श्रीमान् खोज्दै उहाँ भारतको पिथौरागढ जानुभयो । अहिले श्रीमान्सँगै बसेर भारतमा छोरीको उपचार गरेपछि दुई वर्षकी पूर्णिमाको तौल अहिले बल्ल १२ किलो पुगेको छ । मजदुरी गरेर श्रीमानले कमाएको पैसा कुपोषित छोरीको उपचारमा खर्च भइरहेको छ ।
मजदुरी गरेर कमाएको पैसाले छोरीको ज्यान जोगिएकोमा खुसी हुँदै भागीरथी भन्नुहुन्छ, ‘यतै ठीक छ । घर गए श्रीमान्ले फेरि रक्सी खानुहुन्छ । पसलेकामा उधारो धेरै पुग्छ । अब छोरीको उपचार गरेर राम्ररी हिँड्न थालेपछि मात्र घर जाने ।’ गरिबी, भोकमरी र कुपोषणले गाँजिएकी भागरथी ऐर एक प्रतिनिधि पात्र हुन् । बैतडीको सिगास गाउँपालिका भोकमरी र कडा कुपोषणको उच्च जोखिममा रहेको गाउँपालिका हो । यहाँ ५६ प्रतिशतभन्दा बढी विपन्न छन् । सिगास गाउँपालिकामा पर्ने ढुगाडमा मात्रै ५८ प्रतिशत गरिबीको रेखामुनि रहेको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क छ । चरम गरिबी, अभाव र कुपोषणबीच पनि यहाँका पुरुषहरू भने मदिराको लतमा चुर्लम्म छन् ।
नियन्त्रण गर्न खोज्दा धम्की
बाजुराको बडीमालिका नगरपालिकाले मदिरा पसललाई वार्षिक पाँच हजार रुपियाँ शुल्क लगाएपछि उपप्रमुख लगायत जनप्रतिनिधिलाई व्यापारीले बजारमै गाली गरेको उपप्रमुख कविता विष्ट बताउनुहुन्छ । सदरमुकाम मार्तडीमा जम्मा १३१ वटा पसलले मदिरा बिक्रीको अनुमति लिएका छन् । ती पसलमा बेलुका छदेखि नौ बजेसम्म मात्र बिक्री गर्ने नियम बनाइएको छ । बुढीगङ्गा र गौमुलमा कुनै प्रकारको मदिरा प्रवेशमा रोक लगाएपछि त्यताका मदिरा उपभोक्ता अन्य पालिकाको बजार धाएर मदिरा खाने गरेको जनप्रतिनिधि बताउँछन् ।
घरेलु मदिरा नियन्त्रण सफल भए पनि औद्यागिक मदिरा चुनौती बनेको उपप्रमुख विष्ट बताउनुहुन्छ । ‘‘राजस्व तिरेर घरेलु उद्योगमा दर्ता गरिएको पसलबाट खरिदबिक्री बन्द गर्न सकिएको छैन,’’ उहाँ भन्नुहुन्छ, ‘‘मदिरा पसल सञ्चालनको शुल्क वृद्धि गर्ने, आचारसंहिता बनाउने गरी विकृति कम गर्ने प्रयास गरिएको छ ।’’ आचारसंहिता र नियम बनाएर नियन्त्रणको प्रयास भए पनि स्थानीय रक्सी खपत बढी हुने गरेको अछामका प्रहरी नायव उपरीक्षक दीपक भारती बताउनुहुन्छ । उहाँका अनुसार अधिकांश घरेलु हिंसाका घटना मदिराका कारण हुने गरेको छ ।
चर्काे जाडोमा मदिरा सेवन गरी हिँड्नेहरूबाट कहिलेकाहीँ प्रहरी र प्रशासन समेत हैरान भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभयो । जनप्रतिनिधि नहुँदा खुला रहेको मदिरा व्यापार नियन्त्रण गर्न खोज्दा जनप्रतिनिधिले धम्की खानुपरेको उहाँको भनाइ छ ।