लोकेन्द्रप्रसाद जोशी
दार्चुला, फागुन ५ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले एक इन्च भूमि पनि नछोड्ने बताउनुभएको छ । नेपालले कसैको एक इन्च सीमा पनि नमिच्ने र आफ्नो मिचिएको भूमि पनि नछोड्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
दार्चुला उद्योग वाणिज्य सङ्घले आइतबार आयोजना गरेको सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७६ लाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विगतका कुनै पनि सरकारले हाम्रो यो सीमा अतिक्रमण भयो, सीमाको छिनोफानो गर्नुपर्छ भनेर औपचारिक ढङ्गले भारतसँग भनेका थिएनन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पहिलो पटक छिमेकी मुलुक भारतलाई औपचारिक ढङ्गले कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, हाम्रो सीमा हामी छोड्न सक्दैनाँै भनेर ‘डिप्लोमेटिक नोट’ पठाएको छ । हामी पत्र पठाउने मात्र हैन, अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग वार्ता गरेर छिनोफानो गर्छौं । ”
रक्षामन्त्री पोखरेलले भन्नुभयो, “हाम्रो भूमि कसैले पनि अतिक्रमण गरेर लैजाने कुरा सम्भव छैन । हामी कसैको पनि एक इन्च भूमि लिन चाहन्नौँ, हाम्रो भूमि कसैले अतिक्रमण गर्छ भने त्यो हामी सहन्नौँ भनेर भारतसँग अडान राखेका छौँ । ” अतिक्रमित नेपाली भूमि जुनसुकै हालतमा फिर्ता गरेरै छोड्ने बताउँदै उहाँले देशभरका देशभक्त नेपालीको भावनाको सरकारले सम्मान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
केही दिनअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मतिले लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्र नेपालको भूमि हो, त्यो भूमिमाथि अनधिकृत ढङ्गले कसैले नक्सा निकाल्छ भने हामी स्वीकार गर्दैनाँै भनेर प्रस्ताव पारित गरिसकेको बताउँदै उहाँले सरकारले जतिसक्दो चाँडो यो विषय टुङ्गो लगाउने जानकारी दिनुभयो । रक्षामन्त्री पोखरेलले सोमबार बिहान दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रको स्थलगत अवलोकन गर्नुहुने कार्यक्रम छ । सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिन आफूले कालापानी क्षेत्रको अवलोकन गर्ने उहाँले बताउनुभयो । अहिले दार्चुलाको उत्तरी क्षेत्र मानव बस्तीविहीन छ । सरकारले सीमामा राज्यको उपस्थिति गराउने उहाँको भनाइ छ । सीमाको समस्या छिमेकीविरुद्ध नारा लगाएर समाधान नहुने भन्दै रक्षामन्त्री पोखरेलले सुझबुझ ढङ्गले आँखामा आँखा जुधाएर सीमा विवादको छिनोफानो गर्नुपर्नेमा जोड दिनुभयो ।
दार्चुला–तिङ्कर सडक नेपाली सेनालाई
रक्षामन्त्री पोखरेलले विगत १२ वर्षदेखि निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने बताउनुभयो । उहाँले दार्चुलादेखि तिङ्कर भञ्ज्याङसम्म बाटो नहँुदा दार्चुलाका जनताले धेरै दुःख पाएको विषयमा दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गणेशसिंह ठगुन्नासँग पटकपटक कुरा भएको बताउनुभयो ।