logo
२०८१ मंसिर १५ शनिवार



‘गोरखापत्र जनताको पत्रिका’

मुख्य समाचार |


‘गोरखापत्र जनताको पत्रिका’


सिराज खान / गोविन्द शर्मा

कोहलपुर, फागुन ८ गते । प्रजातन्त्र दिवसको अवसर पारेर गोरखापत्रको पश्चिम क्षेत्र कोहलपुर संस्करण बुधबारबाट सुरु गरिएको छ । बाँकेको कोहलपुरमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पश्चिम संस्करणको शुभारम्भ गर्नुभयो ।
सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लाई लक्षित गरी कोहलपुरबाट गोरखापत्र दैनिक र दि राइजिङ नेपालको प्रकाशन सुरु गरिएको हो । यसअघि गएको संविधान दिवसको अवसर पारेर प्रदेश १ मा गोरखापत्रको विराटनगर संस्करण सुरु गरिएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब देश पछाडि फर्कन सक्दैन । हरेक दिन सरकार एक कदम अगाडि बढिरहेको छ ।”
देशमा केही पनि भएन भन्ने रोगले एकथरिलाई सताइरहेको भन्दै उहाँले आफ्नो पालामा केही गर्न नसकेर फेरि फर्कन नपाउने पीरले निराश भएकाहरूले केही नभएको भ्रम सिर्जना गरिहेका बत(ाउनुभयो । देश लुट्ने कार्यमा लागिपरेका दृष्टान्तहरू भेटिने गरेको बताउँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो, “हिजोदेखि देश लुट्न पल्केकाहरू आज पनि देश लुट्ने बहानामा छन् । सरकार कदापि देश लुट्न दिँदैन । बालुवाटार प्रकरणको दोस्रो संस्करण अब सुरु हुन्छ ।”
गोरखापत्रलाई जनताको पत्रिका बनाउनुपर्ने बताउनुहुँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “गोरखापत्रले सत्ताको गीत गाउँदैन, भजन, कीर्तन र आरती
पनि गर्दैन, यसले जनताको जीवनगाथा समेट्दै लोकतन्त्रको जीवन्त प्रयोग गरेर समृद्ध नेपालको लक्ष्य प्राप्तिमा सघाउँछ ।” गोरखापत्र संस्थानमा हालै भएका सुधारको प्रशंसा गर्दै उहाँले गोरखापत्रको नयाँ नेतृत्वप्रति सरकारले गर्व
गरेको बताउनुभयो ।
“गोरखापत्रले आफूलाई इतिहासमै अब्बल सावित गरिसकेको छ । नयाँ नेतृत्वले एक वर्षको छोटो अवधिमा धेरै परिवर्तन गरिसकेको छ,” मन्त्री बाँस्कोटाले भन्नुभयो, “गोरखापत्रको नयाँ नेतृत्वप्रति म गर्व गर्दछु । यो टिमलाई बधाई दिन चाहन्छु ।” गोरखापत्रमा कार्यरत हरेक कर्मचारी र पत्रकारको क्षमता हरेक दिन बिहान अखबारमा देखिने बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “गोरखापत्रमा अहिले धेरै सुधार भएका छन् । अझ केही सुधार गर्न बाँकी छ । त्यो पनि छिट्टै पूरा हुनेमा विश्वास लिएको छु ।”
गोरखापत्रले सरकारको समर्थन र आलोचना दुवै गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “गोरखापत्रले खाल्डा पनि देखाउने छ र सडक कालोपत्रे भइरहेको पनि देखाउने छ ।” प्रेस जगत्का दुईवटा आँखा हुनुपर्ने भन्दै मन्त्री बाँस्कोटाले एउटा आँखो बन्द गरे एउटा आँखाले नराम्रा कुरा मात्र देख्ने प्रवृत्ति बन्द गर्नुपर्ने र दुवै आँखा खुला गरेर सरकारका राम्रा नराम्रा कुरा प्रेस जगत्ले बाहिर ल्याउनुपर्ने बत(ाउनुभयो ।
शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले गोरखापत्रलाई सफल बनाउन प्रदेश ५ सरकारको सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश ५ को कोहलपुरबाट पनि गोरखापत्रले प्रकाशन सुरु गर्नु हाम्रा लागि गौरवको कुरा हो । प्रदेश सरकारका तर्फबाट यसको सफलताका लागि सहयोग रहने कुरा जानकारी गराउन चाहन्छु ।”
सङ्घीय सांसद महेश्वर गहतराजले पश्चिम नेपाललाई जोड्ने मुख्य केन्द्र रहेको कोहलपुरबाट पश्चिम संस्करण सुरु गरेको गोरखापत्रले पश्चिम नेपालको विकासमा पैरवी गर्नुपर्ने बत(ाउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रलाई सबै नेपालीको पहुँचसम्म पु¥याउन विराटनगर र कोहलपुर संस्करण सुरु गरिएको बताउनुभयो ।
“गोरखापत्र ११९ वर्षपछि यो क्षेत्रमा सशरीर आएको छ । आज यसको औपचारिक शुभारम्भ भएको छ, आज यहाँ जुन अपेक्षा व्यक्त भए त्यसबाट गोरखापत्र व्यवस्थापन र कर्मचारीमाथि गम्भीर जिम्मेवारी थपिएको छ,” उहाँले भन्नुभयो, “धेरैले गोरखापत्र सरकारले चलाएको हो भन्ने छ, यो अर्धसरकारी निकाय हो र यो स्वायत्त छ । केही कुरामा सरकारले सहयोग गरेको छ ।”
गोरखापत्रका प्रधानसम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले गोरखापत्र समयानुकूल र प्रतिस्पर्धी भएर पाठकको हातमा पुग्न थालेकाले यसको भविष्य उज्ज्वल रहेको बताउनुभयो । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुरलाई छनोट गरेर प्रकाशन सुरु गरेको गोरखापत्र बाँकेको विकासका लागि कोसेढुङ्गा सावित हुनेमा विश्वास गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?