विनाश चौधरी
धनगढी, फागुन १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समसामयिक समाजको ऐना रहेको बताउनुभएको छ ।
बुधबार धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले कालजयी समाजलाई युग–युगसम्म साहित्यले प्रभावित पारिरहेको बताउनुभएको हो । ‘साहित्य र समाजबीचमा एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
साहित्यले समाजको विकृति एवम् विसङ्गतिलाई औंँल्याउँदै सदाचार र नैतिकताकलाई प्रवद्र्धन गर्ने गरेको उहाँको भनाइ थियो । ‘त्यसैले साहित्यकारले असल साहित्य सृजना गर्नु पर्दछ’, राष्ट्रपतिले भन्नुभयो । प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्वपूर्ण आयाम भएकाले वातावरण प्रवद्र्धनमा सम्वद्ध सबै निकायको ध्यान जानेमा आफू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।
मानव जातिको अथक परिश्रमद्वारा सृजित भाषा एक आपसमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो । उहाँले नेपाली भाषा अहिले उन्नत भाषाको रुपमा स्थापित भएको बताउनुभयो । ‘नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम हो’, उहाँले भन्नुभयो–‘त्यसैले, भाषा, साहित्यको संरक्षण र सम्वद्र्धनमा राष्ट्रले सक्दो सहयोग गर्नु पर्दछ ।’
नेपाली भाषा, साहित्य र सङ्गीतले देशभित्र विभिन्न सम्प्रदाय र समूहलाई एकताको सूत्रमा बाँध्न सहयोग गरेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । यसैगरी, अन्तर्राष्ट्रिय रुपमा राष्ट्र–राष्ट्रबीच र मानव जातिलाई जोड्न भाषा, साहित्यले एउटा साँघुको काम गर्ने गरेको उहाँको भनाइ थियो ।
‘भाषा, साहित्य र सङ्गीत मानव जातिको एउटा अमूल्य वरदान हो’, उहाँले अगाडि थप्नुभयो– ‘यसले शान्ति, सद्भाव र सामिप्यलाई सुदृढ गर्न सिकाउँदछ ।’
विश्व नेपाली साहित्य महोत्सवले नेपाली भाषीबीच भाषिक तथा भावनात्मक एकता प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्नेमा आफू विश्वस्त रहेको उहाँलले उल्लेख गर्नुभयो । ‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनमासमेत महत्वपूर्ण योगदान पु¥याउनेछ’ राष्ट्रपतिले भन्नुभयो– ‘विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्न पनि सफल हुने मैले विश्वास लिएकी छु ।’
शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्व विद्यालयले साहित्य र भाषालाई प्रवद्र्धन गर्न मद्दत पु¥याउने भएकाले सुदूरपश्चिमको सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढ तुल्याउनु पर्ने राष्ट्रपतिको भनाइ थियो । उहाँले यो प्रदेश कला, संस्कृति र साहित्यका लागि उर्वर भूमि रहेको उल्लेख गर्नुभयो ।
मौलिक परम्परा, भेषभूषा र चालचलनमा सुदूरपश्चिमले विशिष्टता हासिल गरेको उहाँको भनाइ थियो । ‘यहाँ डोटेली संस्कृति लगायत विभिन्न जातजातिको संस्कृतिबीच सदियोदेखि एक आपसमा सुदृढ एकता र सद्भाव कायम रहि आएको छ, राष्ट्रपतिले भन्नुभयो ।
यसैगरी, नेपाली भाषाको श्रीवृद्धिमा विशिष्ट योगदान पु¥याउनुहुने मोतीराम भट्ट र भानुभक्त आचार्यलाई स्मरण गर्नुहुँदै उहाँले स्रष्टाको अतुलनीय योगदानले नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धि भएको आफूले अनुभव गरेको उल्लेख गर्नुभयो । ‘यस पवित्र धरतीका अग्रणी पहलमानसिंह स्वाँर, जयपृथ्वीबहादुर सिंहजस्ता अमर स्रष्टाको पनि अतुलनीय योगदान छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
मुलुक समृद्ध नेपाल र सुखी नेपालीको महा अभियानमा जुटिरहेको उल्लेख गर्दै उहाँले यस महाअभियानलाई सफल पार्नका लागि सुदूरपश्चिम प्रदेशले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ‘यो प्रदेश प्राकृतिक सम्पदाले सुन्दर र समृद्ध भएकाले विकासको साझा आकाङ्क्षा साकार तुल्याउन यस प्रदेशले महत्वपूर्ण योगदान पु¥याउने छ’ उहाँले भन्नुभयो ।
यसैगरी, नेपालसहित विश्वभर छरिएर रहेका नेपालीले समृद्धिको लक्ष्य हासिल गर्न योगदान पु¥याउने राष्ट्रपति भण्डारीको भनाइ थियो ।
महोत्सव उद्घाटनमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संस्कृति संरक्षणका लागि ध्यान दिनुपर्ने बेला आइसकेको उल्लेख गर्नुभयो । उद्घाटनका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सङ्घीय सांसद् नारदमुनि राना, पूर्वमन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले शुभकामना मन्तव्य दिनुभएको थियो ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठी पन्त, सभामुख अर्जुनबहादुर थापा र प्रदेश सरकारका मन्त्रीहरुकोसमेत सहभागिता रहेको थियो । सोही अवसरमा राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिएको छ ।
यसैगरी, नेपाली भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएकोमा कदर गर्दै वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई एक लाख ११ हजार रुपियाँ राशिको ‘बद्री–कृष्ण वाङ्मय’ पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति भण्डारीले उहाँलाई सो पुरस्कार हस्तान्तरण गर्नुभयो ।
यस्तै, विभिन्न क्षेत्रमा योगदान पु¥याएकोमा बद्रीनाथ भण्डारी, तुल्सीराम जोशी, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मदन कुँवर लगायतलाई सम्मान गरिएको छ । फागुन २० गतेसम्म सञ्चालन हुने विश्न नेपाली साहित्य महोत्सवमा विश्वका विभिन्न देशमा छरिएर रहनुुभएका नेपाली भाषी साहित्यकारको सहभागिता रहेको छ ।