टीकाराम उप्रेती
लुकुवा (इलाम) फागनु २४ गते । जैबिक बिबिधताले अत्यन्तै महत्वपूर्ण मानिएको चुरे क्षेत्रमा अत्यधिक दोहनका कारण बर्षौदेखि लगातार पहिरो जान थालेपछि चुरे पहाड नै सखाप हुने खतरा बढ्दै गएकोेछ ।
इलाम जिल्लाको चुलाचुली गाउँपालिका ६ स्थित लुकुवाबाट सुरु भएको पहिरोले यो क्षेत्रको चुरे क्षेत्र नै सखाप हुने देखिएको हो । हाल पहिरो गएको शिरमा २६ बर्ष पहिलासम्म ठुलो बस्ती नै थियो । तलबाट क्रमश पहिरोले तान्दै अहिले डाँडाको शिरमा नै आइ पुगेको छ ।
चुरेको तल्लोभाग मावा खोलामा नदीजन्य बस्तु अत्यधिक दोहन भएका कारण तलबाट कटान हुदै गएको हो । तराइमा नदिजन्य बस्तु ठेक्का लगाएर ठूला ठूला क्रशर उद्योग सञ्चालन गरिएका कारण चुरेको पहिरो बढ्दै गएको स्थानीयको बुझाइ छ ।
पहिरो लगातार यसरी नै गइरहेकोले यो क्षेत्रबाट बिस्थापित हुनुभएका बर्ष ८३ का नैनबहादुर तिम्सिना भन्नुहुन्छ यहाँ मेरो घर सहित साढे १२ रोपनी बारी थियो । बारीका ठूला ठूला पाटा थिए यही बस्दै खेतीपाती गर्दै आएको थिए । मेरो वरिपरि धेरै छिमेकी समेतको गाउँ नै थियो । पहिरो यहाँ आउँछ जस्तो थिएन धेरै तल मावा खोलामा अलिअलि पहिरो गएको देखिन्थ्यो केही बर्षमा नै क्रमश तलबाट पहिलारेले माथि तान्दै आयो । २०६० साल तिर यो गाउँका १५ घर परिवार सबैको बास उठ्यो तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा पहिरो गएपछि कुलबहादुर राई, चन्द्र तामाङ, टंक श्रेष्ठ, अशोक श्रेष्ठ, बिन्दु श्रेष्ठ, पृथ्वीमान श्रेष्ठ, इन्द्रबहादुर राइ लगायतको परिवार बिस्थापित भएका थिए ।
आफ्ना बाबुबाजेले अंश दिएको पैसाले खरिद गरेको घरबारी नै पहिलो लग्यो । काम गरिखाने खेत बगाएपछि छोराछोरी पढाउने पाल्ने केही रहेन । बौलाउनु जस्तै भयो तिम्सिनाले आँशु पुछ्रदै पीडा सुनाउनुभयो ।
घरखेत पहिरोले लगेर सुकुम्बासी भएपछि डोरी लिएर मर्न मन लागेको थियो । छोराछोरीको मायाले सकिन तिम्सिनाले बिगतलाइ स्मरण गर्दै भन्नुभयो ।
३० बर्ष अघिसम्म ठूलो गाउँ नै रहेको यो क्षेत्रमा अहिले पहिरो मात्र देख्न सकिन्छ । यहाँबाट शुरु भएको पहिरो मावा खोला हुदै पेरुङ्गे फुइके, दमक नगरपालिकाको पश्चिम र मोरङको पूर्र्वी सीमा क्षेत्रको भाग हुदै मावाखोलाको दायाँ बाँयाँको भाग समेत कटान हुदै गएको जनाइएको छ । यो पहिरो नियन्त्रण गर्न नसकेमा यसले चाँडै साक्फारा गाउँ नै समाप्त हुनेसक्ने लुकुवा पहिरो नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष ढिकबहादुर राई बताउनुहुन्छ । कमेरे बालौटे पाँगो माटोले बनेको च्ुरेमा चैतमा ठूलो हुरी चल्दा समेत भूक्षय हुने गरेको छ । त्यस्तै बर्षायाममा सानो पानी पर्नासाथ पहिरो जाने गरेको छ । यसका कारण आसपासमा पानीका मुल सुक्नेदेखि महत्पुर्ण रुखबिरुवा समेत मासिदै गएका छन् ।
पछिल्लो सयम स्थानीयतह गठन भएपछि तराईमा बिकास निर्माणका लागि झापा र मोरङ जिल्लाको सीमा क्षेत्रमा पर्ने मावा खोलाको नदीजन्य बस्तु बालुवा, गिट्टी र ढु्ङ्गा उत्खनन्मा करोडौँको ठेक्का लगाइदै आएको छ । जसका कारण नदीको सहत गहिरो भएर चुरेमा पहिरो गएको स्थानीयको आरोप छ ।
यही पहिरो नियन्त्रणमा ठूलै प्रयास नभए पूरै गाउँ जोखिममा रहेको छ । गाउँबाट पहिरो अहिले करिव तीन सय मिटर नजिक पुगिसकेको समितिका सचिब सन्तकुमार श्रेष्ठ बताउनुहुन्छ । पछिल्लो सयम पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे तराइ मधेष संरक्षण प्रदेश १ को कार्यालय सलकपुर मार्फत केही काम समेत भएको छ ।
पहिलो पटक गत आर्थिक बर्षमा २० लाख रुपियाँ बजेट समेत बिनियोजन भएको थियो । पहिरोको फेदमा फण्डिसनका लागि निर्माण गरिएको तारजालीको कामसम्पन्न भएको केही दिनमा नै गत पहिरोले ५० प्रतिशत पर्खाल बगाएर लगेको छ ।
नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको होचो र कान्छो पर्वत भनेर समेत चुरे पर्वत लाई चिनिन्छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लाहरूमा फैलिएको चुरेले कुल भू–भागको १२.७८ प्रतिशत भू–भाग ओगटेको क्षेत्रलाई चुरो भनिएको राष्ट्रपति चुरे तराई मधेष संरक्षण प्रदेश १ को कार्यालयमा प्रमुख भिमप्रसाद कालिकोटेले बताउनुभयो । अहिलेसम्म यो पहिरोका कारण हजरौँ रोपनी जग्गा बगाएको छ । पहिरोले दक्षिण भेगका इलाम, झापा र मोरङका हजारौँ घरपरिवार समेत बिस्थापित भएका छन् ।