भउचप्रसाद यादव
काठमाडौँ, फागुन २८ गते । बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एक जनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।
उक्त रेल सेवा सञ्चालनका लागि रेल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो । आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेल्वे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।
विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवेदन माग गरिएकोमा विज्ञापनको अन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘तत्काल रेल सेवा सञ्चालनका लागि माग गरिएको प्राविधिक कर्मचारीको एउटा पनि निवेदन प्राप्त नभएपछि अब सो कर्मचारी भर्ना गर्न ‘ग्लोबल’ विज्ञापन गरिने छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।’’ उहाँले रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना अत्यावश्यक जनशक्ति हो, त्यसको विकल्पमा रेल सञ्चालन गर्न सकिँदैन भन्नुभयो ।
महानिर्देशक मिश्रले अगाडि भन्नुभयो, ‘‘रेल सञ्चालनका लागि नेपालभित्र नै प्राविधिक कर्मचारी पाइन्छ कि भनेर मात्र नेपाली नागरिकका लागि विज्ञापन गरिएको थियो तर नेपाली नागरिकबाट आवेदन प्राप्त नभएपछि विदेशी नागरिकलाई समेत करार सेवामा भर्नामा लिने गरी नयाँ विज्ञापन गरिने तयारी भइरहेको छ ।’’