डिलबहादुर सिंह
डोटी, बैशाख १९ गते । डडेल्धुरा जिल्लाको स्याउले बजार देखि डोटीको सिलगढी सम्म पुग्ने क्रममा ६५ किलोमिटरको दुरीमा राजमार्ग छेउछाउमा २० भन्दा बढी स्थानमा सयौं महिलाहरु गिट्टी कुटिरहेका देख्न सकिन्छ । देशमा भएको लकडाउनका कारण एक महिना जती काम छोड्नु परे पनि पछिल्लो समयमा सरकारी स्तरबाट नै सुरक्षित तरिकाले निर्माणका कामहरु अगाडि बढाउने निर्णय गरे सँगै गिट्टी कुटेर आर्थिक उपार्जन गर्ने महिलाहरु बिस्तारै काममा फर्किरहेका छन् ।
डोटीको पुर्वीचौकी गाउँपालिका –१ अन्तरगत फुलौटीगाड खोलामा गिट्टी कुट्दै गरेकी हेमा भण्डारीले भन्नुभयो,– ‘दैनिक हात मुख जोर्नलाई सजिलो पनि हुने, काम गरिरहेको बानी त्यत्तिकै घरमा बस्न नसकिने भयो, ठेकेदारले रोडको काम शुरु गर्ने भन्ने सुने पछि हामि त काममा फर्कियौं । कोरोना कोरोना भनेर घर भित्रै बस्न पनि सकिएन ।’ फुलौटीगाड खोलामा स्थानीय महिलाहरुले जम्मा गरेका गिट्टी सोही स्थानमा भइरहेको सडक मर्मत कार्यमा प्रयोग हुदै आएका छन् ।
अहिले सबै तिर कोरोना भाइरस सँक्रमणको त्रास छ । एक ठाउँबाट अर्को ठाउँको आवतजावत रोएिको छ । सरकारी स्तरबाट गरिएको लकडाउनका कारण देश ठप्प छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु सबै भन्दा बढी मारमा परेका छन् । बिभिन्न स्थानीय तहहरुले दैनिक ज्यालादारीमा काम गर्ने लगायतका बिपन्न बर्गका लागि भनेर राहत बितरण गरिरहेका छन् । दैनिक रुपमा गिट्टी कुटेर हात मुख जोर्ने महिलाहरुलाइ भने सिमित राहत भन्दा पनि भयर हित बाताबरणमा काम गर्ने अवसर चाहिएको छ ।
कोरोना भाइरस लाग्ने डरले घरमै गुम्सिएर बस्नु भन्दा कोरोनाबाट बच्ने कुरा सिकाएर दैनिक रुपमा काम गर्न दिनु पर्ने भनाइ डोटीकै दिपायल सिलगढी नगरपालिकास्थित गोदरेगाड खोलामा गिट्टी कुटिरहेकी शारदा नेपालीको रहेको छ । नेपालीले भन्नुभयो,–‘दिनभरी लाइन लागेर दश पन्ध्र किलो चामलको लागि लुछाचुडी गर्नु भन्दा निर्धक्क साथ काम गर्ने अवस्था हुनु पर्यो । हामी आफै मेहनत गरेर खान्छौ ।’
राहत प्राप्त गर्नेहरुमा कार्यकर्ता र आफन्त बढी भएको भन्दै जिल्लाका बिभिन्न स्थानीय तहहरुमा बिवादका घटना बाहिर आएका छन् । बिभिन्न स्थानीय तहहरुमा राहत बितरण गर्ने कार्यमा हुने गरेको बिबादका कारण पनि पहुँच नभएका र अति बिपन्न भनिएका बर्गहरुमा राहत प्रतिको भरोसा पनि कम हुदै गएको छ ।
दैनिक ज्यालादारीमा काम गर्ने र बिपन्न बर्गका ब्यक्तिहरुका जिल्ला भरी कति जना छन् भन्ने एकिन तथ्याँक समेत कुनै पनि निकायमा छैन । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार जिल्लाका सबै स्थानीय तहहरु सँग दैनिक ज्यालादारीमा कामगर्ने, बिपन्न बर्ग र राहत बितरणका लागि निर्णय गरिएका ब्यक्तिहरुको बिवरण माग गरिएको भए पनि कुनै पनि स्थानीय तहबाट हाल सम्म जिल्ला स्तरमा प्राप्त हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो,– ‘सबै स्थानीय तहहमा पटक पटक माग गर्दा पनि राहत बितरण गर्ने र गरि सकिएकाहरुको बिवरण प्राप्त भएको छैन । तथ्याँक लिने प्रयासमै छौ । ’
मे १ लाइ बिश्वभरी मजदुर दिवसका रुपमा मनाउने गरिन्छ । बिश्वभरी कोरोना सँक्रमणको महामरीको त्रासका बिच मे १ लाइ समेत घर भित्रै सिमित गरिदिएको छ । डोटी जिल्लाका स्थानीय तहहरु रोकोना रोकथामका उपायको तयारी भन्दा पनि राहत बितरणमा केन्द्रित भएर भिडभाड गरिरहेका छन् । दैनिक रुपमा काम गरि खाने बर्गलाइ उचित बाताबरण तयार गरिदिएर सचेतना सहित काममा लगाएमा धेरै हद सम्म आर्थिक समस्या समाधान हुने देखिन्छ ।
फोटो क्याप्सन ः डोटीको पुर्वीचौकी १ फुलौटीगाड खोलामा गिट्टी कुटिरहेकी स्थानीय महिला । तस्बिर ः डिलबहादुर सिंह÷डोटी ।
स्थलगत कुराकानीमा आधारित ।